कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्रिय दिवसको बेला

दिनेश रेग्मी

काठमाडौ — मोवाइलमा टिट् टिट् गर्दै म्यासेज आयो, क्युटेको रहेछ । बिल वा कुनै अफरबारे होला भन्ने लागेको थियो ।

होइन रहेछ । द स्टेट नेसनल डे अर्गनाइजिङ कमिटीले आम पब्लिकलाई डिसेम्बर १८ को बिहान ८ बजे दोहा कर्निसमा आयोजित परेडमा उपस्थिति हुन गरेको अनुरोध रहेछ । जसमा राष्ट्रिय दिवसलाई ऐक्यबद्धता, बफादारिता र सम्मानको रूपमा सगौरव प्रस्तुत गरिएको थियो । यो म्यासेज राष्ट्रिय दिवसको तीन दिन पहिल्यै आएको थियो । त्यसो त राष्ट्रिय दिवसको उत्सव दोहामा हप्ता/दस दिन पहिल्यैदेखि नै सुरु भइरहेजस्तो लाग्थ्यो । प्रायः सवारी साधन, पोल र भवनहरूका राष्ट्रिय झन्डा फहराउन थालिसकेका
थिए । पर्यटकीय आकर्षणको कर्निस क्षेत्र बत्ती सजिसजाउ हुँदै थियो ।
यति बेला मौसम पनि खुब रमणीय । गर्मी त छँदै छैन, चिसो पनि ठिक्क भन्नुपर्छ । अनि, पार्कहरूमा सजाइएका फूलले पनि अहिले सहर शोभायमान । यही मौकामा राष्ट्रिय दिवस हुनु पनि खुसीकै कुरा हो । दिवसको अघिल्लो रात कर्निसमा पुग्दा त रौनकै अर्कै लाग्यो, मानौं उत्सव नै अहिले हो । कतारीहरू सडकमात्र होइन गाडीमा पनि नाचगान गर्दै हिँडेका थिए, कर्निसमा । सडकयात्रुहरूले तालीले स्वागत गर्थे । गाडीमा हर्न बजाउने पनि यस्तै उत्सवमा बढी हुँदो रहेछ-यहाँ । राष्ट्रिय दिवसको अघिल्लो रात पनि त्यस्तै थियो । इङ्ल्यान्ड र ब्राजिलबीच मैत्रीपुर्ण खेलमा ब्राजिलले जितेपछि पनि यस्तै हर्न बजाएर खुसियाली मनाएका थिए कतारमा, यसले त्यो बेला पनि याद दिलाइदियो ।
मानिसको आवागमनको यस्तो भीड थियो कि गाडीभन्दा पैदल सवार सबैभन्दा आनन्ददायी । उन्मुक्त भएर हिँड्नुको आनन्दै अर्कै थियो । कर्निस किनाराको रातको झिलिमिली, बत्तीले सजाइएका डुंगा र मानिसमा छाएको उमङ्गले राष्ट्रिय दिवस कस्तो हुँदै छ भन्ने प्रस्ट हुन्थ्यो । कर्निसका खजुरका रूपमा बत्तीको सजावट हेर्न आनन्दलायक थियो नै त्यसमा पनि शीतको थोपाझै खस्ने बिजुली बत्ती नौलो लाग्यो ।
राष्ट्रिय दिवसको दिन नेसनलबाट कर्निस हिँड्दादेखि नै मानिसहरूको लावालस्कर चलेको थियो । कतिपय गाडीहरू वरै थन्काएर जाँदै थिए, कार्यक्रमस्थलतर्फ । आज भने गाडीमा भन्दा पैदल हिँड्नको संख्या तुलनै गर्न नसक्ने बढी
थियो । यही भीडमा नेपालीहरू पनि देखिन्थे । कोही भन्दै थिए, हाम्रो राष्ट्रिय दिवस कुन हो ? प्रजातन्त्र दिवस, लोकतन्त्र दिवस, गणतन्त्र दिवस वा संविधान घोषणा दिवस ? वास्तवमा नेपालमा धेरै दिवस छन् र जुन राष्ट्रिय दिवस नै हुन् ।
उनीहरूले भन्न खोजेको प्रमुख राष्ट्रिय दिवस वा राष्ट्रिय एकता दिवस हो कि ? ठम्याउन गाह्रो
भो । जे भए पनि कुरा गम्भीर थियो- हो, हामीले राष्ट्रका लागि गौरव गर्ने सबैभन्दा प्रमुख दिन कुन हो ? । झन् देश संघीयतामा जाने भएपछि झन् राष्ट्रिय एकता दिवस त चाहिन्छ नै ।
कर्निसमा थामी नसक्नुको भीड थियो तर अव्यवस्थित थिएन । मेरो लागि यहाँको सडकमा यति धेरै मानिस देख्नु खुबै नौलो थियो । कतार सरकारले अघिल्लै दिनदेखि बिदा दिएपछि लाखौं स्वदेशी- विदेशीलाई यो पर्व उमङ्गमय बनेको थियो । स्कुले उमेरका बालबालिकादेखि युवक, युवती र बयस्कहरूको सहभागीका अत्यधिक थियो । कति त परेड अवलोकन गर्न ठाउँ खोज्दै ओहोर दोहोर गरिरहेका थिए । कसैको गालाका कतारको झन्डा अंकित थियो त कसैले टाउको र गलामा झन्डा बेरेका थिए ।
राष्ट्रिय दिवसमा एकपछि अर्को परेड प्रदर्शन चाखलाग्दा र नौला पनि थिए । विशेषगरी, थरीथरीका सैनिक परेड, ऊँट, घोडा प्रदर्शन । यता, कर्निसको समुद्र किनारमा ढुङ्गा अनि आकाश थरीथरीका जहाज बडो रमाइलो थियो । प्रदर्शनका ल्याइएका सैनिक प्रयोजनका गाडीहरू पनि अनौठा थिए । उद्घोषण मीठो रूपमा चलेको थियो, भाषण कार्यक्रम थिएन । कार्यक्रम पनि छाटो र मीठो लाग्यो ।  दुई दिनको जिन्दनीमा रमाउनुपर्छ भन्दै साथी दीपक भेटवाल र म राष्ट्रिय दिवसको आनन्द लिएर फर्किदै
थियौं । बाटोमा नेपाली र कतारी झन्डा हल्लाएर हिँडेको गाडी भेटियो । म अगाडि बढेर फोटो खिच्दै थिएँ । भित्रबाट चिनेको आवाजलाई दाइ भने जस्तो लाग्यो । हेर्दा त साथी करिम बक्स पो रहेछन् । साह्रै खुसी लाग्यो- आफ्नो पहिचान गराउँदै हिँडेकोमा ।
हो, यही उत्सवको बारे डायरी लेख्ने थालेको थिएँ । डायरी लेख्दै गर्दागर्दा चिया, पत्रिका, र चिठ्ठाका पारखी साथी श्रीकृष्ण राजवंशीले फोन आयो । चिठ्ठाकै बारे रहेछ । कतार्सहब डट कम हेरेर भर्न भने । यो चिठ्ठा अरू विषयमा रहेनछ, राष्ट्रिय दिवसकै सन्दर्भमा प्रश्नहरू सोधेर गरिएको रहेछ । मैले पनि भरें- उनकै सहयोगमा । बडो रमाइलो पो भयो त राष्ट्रिय दिवस ।

प्रकाशित : पुस १८, २०६६ १७:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?