कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चर्चित ९ अनुहार

घनश्याम खड्का

काठमाडौ — समय आउँछ जान्छ । तर त्यसबीच भएका घटना दुर्घटना सम्झनामा पि्रय अपि्रय बनेर बसिरहन्छन् ।

भर्खरै अंग्रेजी वर्ष २००९ हामीबाट बिदाबादी भएर गएको छ । यो वर्ष मुलुकमा कसले के  गर्‍यो ? कसले हाम्रो जीवनमा ज्यादा प्रभाव पार्‍यो ? जसरी शक्ति र पदमा पुगेकाको सुझबुझ र इमानदारीले मुलुकको उन्नति हुन्छ त्यस्तै तिनको हठ, घमण्ड वा अहंकारले पूरै मुलुकवासीको जीवनमा दुःख ल्याउँछ । दल र तिनका नेताबीच मिल्ती हुँदा देशमा युद्ध बन्द भो, शान्ति प्रक्रिया सुरु भयो र राजतन्त्र ढल्यो । अहिले तिनै नेताहरू नमिल्दा मुलुक दुर्घटनाको संघारमा छ । घरी बन्द हुन्छ घरी तोडफोड । कसका कारण ? कसको अनुहार र नाम छापाहरू आई नै रह्यो ? किन आयो ? भर्खरै इतिहास बनेको हाम्रो विगतका पाना हामीले पल्टायौं र त्यसबाट ९ अनुहार हामीले छान्यौं । भनिरहनु नै पर्दैन देशमा सबभन्दा बढी राजनीति हावी छ । दल र तिनका नेताकै चर्चा ज्यादा हुन्छन् । हामीले छानेका ९ मध्ये ६ अनुहार पनि राजनीतिक वृत्तकै छन् । राजनीतिभन्दा पर खेलकुद, पर्वतारोहण र संगीतमा देखिएको अनुहार पनि यसमा हामीले समेट्यौं ।


खोई गन्तव्य ?
'जनयुद्ध' सुरुभएदेखि चर्चामा आइरहेका प्रचण्डको चर्चा यो वर्ष पनि घटेन । ३१ साउन २०६५ मा गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री भएका यिनको ज्यादा चर्चा तब भयो जब यिनले २०६६ वैशाख २० गते तत्कालीन प्रधानसेनापति रुक्माङ्गद कटवाललाई बर्खास्त गरे । त्यसै दिन राष्ट्रपतिबाट पद थमौती भएका रुक्माङ्गतले उनलाई अटेर गरेपछि भोलिपल्टै प्रचण्डले राजीनामा दिए । त्यही दिनदेखि बल्भिmएको 'नागरिक सर्वाेच्चता' को विवाद अहिलेसम्म पनि टुंगिएको
छैन । पटकपटक 'गम्भीर र भावुक' हुने गरेका प्रचण्ड सधैं 'चमत्कार' को कुरो गर्छन् र आवश्यक परे 'दस हजारको होइन दस लाख' मानिसको रगत बगाउन 'पछि नपर्ने' भन्दै पाखुरा सुर्किन्छन् । कहिले उनको विवादास्पद भिडियो टेपले चर्चा पाउँछ कहिले भारतसँग सीधै वार्ता गर्ने भाषणले । कहिले उनी रेखा थापासँग नाचिरहेका हुन्छन् कहिले लप्सी फेदीमा सुटुक्क पुगेर झुलन खाटमा हल्लिन्छन् । रुने, हाँस्ने, जिस्किने, जंगिने आदि नवै रस उनको व्यवहारमा फेला पर्छन् ।
'यिनी आफ्नै सफलताबाट आफैं अत्तालिएका छन्' विश्लेषक सीकेलाल भन्छन्, 'अगाडि कहाँ जाने भन्ने गन्तव्य प्रस्ट नभएकाले नेताबाट राजनेता बन्न सकेका छैनन् ।'
झगडाका बीउ
गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्रीको राजीनामाको कारण बनेका रुक्माङ्गत कटवाल यो वर्ष समाचारको पोकै बने । नेपाली सेनामा 'जनसेना' कुनै हालतमा पनि नमिसाउने अडान लिएका यिनी माओवादीका खाँटी विपक्षीका रूपमा देखिए । सरकारको आदेशविपरीत सेनामा भर्ती खुलाएको, ब्यारेकब्यारेकमा पुगेर जवानको मेसमा खाना खाएको र राष्ट्रिय  खेलकुदको अन्तिम दिन मिसिन आइपुगेको माओवादी खेलाडीसँग सेनालाई नखेलाएको आदि अनेक कारणले उनी रक्षामन्त्री बादलको तारो बने । यही पृष्ठभूमि देखाउँदै उनलाई बर्खास्तगी पनि गरियो । तर राष्ट्रपतिको उनले न्यानो माया पाइहाले । उनलाई हटाउन खोज्ने आफैं हट्नुपर्‍यो ।
'उनले जे गरे आफ्नै लागि गरे' उनलाई नजिकबाट बेहोरोका केही महिनाअघि अवकाश प्राप्त मेजर जनरल प्रदीपबम मल्ल भन्छन्, 'तर राष्ट्रलाई ठूलो दुर्घटना हुनबाट जोगाए ।'
कार्यकारी कि आलंकारिक ?
निकै सौम्य र भद्र भनिएका गणतन्त्र नेपालका पहिलो राष्ट्रपति डा. रामवरण यादव अचानक विवादमा आए । सांस्कृतिक भनिएका राष्ट्रपति तब कार्यकारी भइदिए जब उनले प्रधानसेनापति रुक्माङ्गत कटवाललाई पदबहाली गर्दै आफैं पत्र दिए । नागरिकको सर्वाेच्च पदमा पुगेका यादवकै हातबाट 'नागरिक सर्वाेच्चता' हनन भएको आरोप लाग्यो । यिनको अडानलाई माओवादीले 'इगो' बनाएको छ । अर्कातिर उनले
ठिकै गरेका हुन्, अभिभावकको भूमिका निर्वाह गरेका हुन् भन्दै कांग्रेस/एमालेको अगुवाइमा १८ दलले राष्ट्रपतिको
बचाउ गरे । 'सो विवादास्पद कदमका बाबजुद' विविसीका पत्रकार रविन्द्र मिश्र भन्छन्- 'अहिलेसम्म पल्टिएका पानाहरूलाई हेर्दा डा. यादव राजनीतिक आदर्शका प्रतिरूप हुन् ।'
निल्नु न ओकल्नु
उपराष्ट्रपतिको शपथ लिएकै क्षणदेखि झमेलामा पर्दै आएका परमानन्द झा र विवाद पर्यायवाचीझैं भइसक्यो । हिन्दीमा शपथ खाने उनको अडानले पूरै मुलुकमा भाषिक बखेडा चर्कायो । अन्ततः तत्कालीन प्रधानन्यायाधीश मीनबहादुर रायमाझी र न्यायाधीश बलराम केसीको इजलासले उनलाई सात दिनभित्र पुनः शपथ नखाए पदै निस्त्रिmय हुने परमादेश जारी गर्नुपर्‍यो । अटेरी हुँदै झाले शपथ खाएनन् । अहिले उनलाई दिएको
सबै सुविधा फिर्ता लिएको पनि निकै भइसक्यो । उनको हठका कारण मुलुक दुई वर्ष पनि नपुग्दै उपराष्ट्रपतिविहीन भयो । देशलाई पनि उनलाई पनि उपराष्ट्रपतिको पद निल्नु न ओकल्नु भइदिएको छ ।
'यिनी कुनै अर्थ भएका मान्छे नै
थिएनन् ।' नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष शम्भु थापा भन्छन्,
'नेपालीमा शपथ नलिनु भनेको नेपाल र नेपाली संस्कृति चाहिँदैन भन्नु हो । त्यो उनले गरे ।'
हारे पनि जित
संविधानसभाको चुनावमा हारेको निकै पछि यिनको चर्चा तब चुलियो जब यिनी ९ जेठ २०६६ मा प्रधानमन्त्री भए । प्रधान सेनापति हटाउने काममा साथ नदिएको झोकमा प्रचण्डले यिनलाई 'विष वृक्ष' भनेका थिए । यो कुरो उनलाई कतिसम्म बिझेको रहेछ भने शपथ खाएकै दिन उनले सफाइ दिए, 'न म विष वृक्ष हुँ न कल्प वृक्ष' । २२ दलको समर्थनमा बनेको उनको सरकार 'भ्यागुताको धार्नी' हो जसलाई टिकाउन उनले अनेक आलोचना सहे । देशलाई ठूलो आर्थिक भार पर्ने गरी लम्बु मन्त्रिमण्डल गठन गरे, आफूजस्तै चुनाव हारेकी सुजातालाई उपप्रधानमन्त्री बनाए, सीडीओ कुट्ने राज्यमन्त्री करिमा बेगमलाई कारबाही नगर्न भने ।
सधैं सक्रिय
प्रजातन्त्र आएयता पटकपटक गरी चारपटक प्रधानमन्त्री भइसकेका गिरिजाप्रसाद कोइराला पछिल्लो समय अलिक ओझेलमा परेका थिए । तर जब माओवादी सरकार ढल्यो तब यिनी फेरि नेपाली राजनीतिको केन्द्रमा आइहाले । यसपाली उनले आफू प्रधानमन्त्री नहुने र मनमोहन सिंहहरू जन्माउने भारतीय नेतृ सोनिया गान्धीको बाटो समाते । आफ्नै दलका नेता कार्यकर्ताको अनेक आलोचना खपेरै पनि उनले एक्ली छोरी सुजातालाई उपप्रधानमन्त्री बनाउन माधव नेपाललाई बाध्य पारे । बिरामी परेका यिनी उपचार गर्न सिंगापुर जाँदा प्रचण्डसँग वार्ता गरे । अक्सिजन लिनुपर्ने अवस्थामा पनि सक्रिय छन् उनी ।
'उहाँ थुप्रै कमजोरीबाट अघि बढ्दै धेरै ठूलो उचाइमा पुग्नुभएको मान्छे' मानवअधिकारकर्मी कृष्ण पहाडी भन्छन्, 'पछिल्लो चरणमा शान्तिप्रक्रियामा पुर्‍याउनुभएको योगदान उहाँ बाँचुञ्जेलभन्दा पनि उहाँको अवसानपछि धेरै ठूलो देखिनेछ र देशले बुझ्नेछ ।'
सानैमा सफल
पोखराका अनिल गुरुङले फुटबलमा सधैं भविष्य देखे । हालै यी २३ वर्षे खेलाडी भारतको सिलोन ला जोन क्लबमा अनुबन्धित ३ वर्षका लागि अनुबन्धित भएका छन् र त्यसबापत उनले पाउने छन् ६३ लाख रुपैयाँ । उनको सफलताले फुटबल मात्रै नभएर नेपाली खेलजगतै उत्साही छ ।
'नेपाली खेलकुदमै कसैले खेलबाट यति कमाएको छैन' एन्फाका डेभलपमेन्ट डाइरेक्टर सञ्जीव मिश्र भन्छन्, 'ऊ सबैका लागि प्रेरणा बनेको छ ।'
अथक आरोही
पहिले उनी सगरमाथा परिवार पाल्न चढ्थे । सोलुखुम्बुको दुर्गम हिमाली गाउँमा जन्मेका आप्पाले १२ वर्षको उमेरमै बाबु गुमाएका थिए र पेट पाल्न पढ्न छाडेर पर्यटकको भारी बोक्नुपरेको थियो । भारी बोक्दाबोक्दै उनी १० मे १९९० मा सगरमाथाको चुचुरोमा पुगे । त्यसयता उनले वर्षैपिच्छेजसो सगरमाथा चढिरहेका छन् । यसपाला पनि उनले ७ जेठ २०६६ मा सगरमाथा चुमे । यो उनको १९ औं आरोहण थियो । संसारको सर्वाेच्च शिखरमा सबैभन्दा बढी पुगेका आप्पाको यो आरोहणचाहिँ परिबार पाल्ने पैसाका लागि थिएन । विश्वव्यापी तापमान वृद्धिले ल्याएको सगरमाथाको हिउँ पगाल्न थालेको सन्देश विश्वमा फैलाउन इको एभरेस्ट एक्पिडिसनले थालेको अभियानलाई सघाउन उनी त्यहाँ पुगेका थिए । संसारमै छिटोछिटो पग्लिरहेको चुचुरो सबभन्दा बढी देख्ने एउटै मान्छे आप्पा अहिले अमेरिकामा छन् र आउने वसन्तमा पनि सगरमाथाको थाप्लोमा पुग्नेछन् ।
'आपा नम्र र सामान्य मान्छे हुन् तर उनी उत्साही र साहसी छन्,' नेपाल पर्वतारोहण संघ तथा युनियन आफ एसियन अल्पाइन एशोसियसनका अध्यक्ष आङछिरिङ शेर्पा भन्छन्, 'अहिले उनको छोरा छोरी र परिवार राम्रै स्थितिमा छन् । हिमाल कसरी बचाउन सकिन्छ भनेर आप्पा फेरि सगरमाथा पुग्दै छन् ।'
प्रतिनिधि गायिका
कुनै समय नेपाली चलचित्रमा आशा भोसले, साधना सरगम र अलका याज्ञिक आवाजनिकै बज्थ्यो । हाम्रा निर्माता तिनलाई महिनौं पर्खेर गाउन लगाउँथे । अहिले त्यसो गर्न परेको छैन । अधिकांश चलचित्रमा आफ्नो सुरिलो स्वर दिएर निर्माताहरूलाई मुम्बई जानै नपर्ने गराइदिएकी छन् गायिका अञ्जु पन्तले । २८ वषर्ीय यी गायिकाले पौने दुई सय चलचित्रमा गीत गाइसकेकी छन् । दर्जनौं पुरस्कार हात पारिसकेकी छन् । यसपालि पनि नेपालमा महिला आवाजका लागि भएकामध्ये अधिकांश पुरस्कार उनैले
पाइन् । 'न बिर्सें तिमीलाई, न पाएँ तिमीलाई' बोलको गीत कलर रिंगिङ ब्याक टोनमा हजारौंपटक डाउनलोड भयो र यसबाट उनले राम्रै कमाइ पनि गरिन् ।
'उनको शास्त्रीय पृष्ठभूमि छ' संगीतकार राजु सिंह भन्छन्, 'आवाजको तह अलि नरम छ । कुनै गीतमा त उच्चारणै राम्रो हुँदैन । त्यसमा मिहिनेत गरिन् भने अञ्जु अन्तर्राष्ट्रिय तहकी गायिका हुनेछिन् ।'
 

प्रकाशित : पुस १८, २०६६ १६:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?