कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अझै पनि जेठाकै आस

काकडभिट्टाभन्दा उत्तरतिरको गाउँमा इलामबाट एउटा परिवार बसाइँ सर्‍यो ।

उनीहरूसँग साना लालाबाला पनि थिए । गरिबी र दुःख खप्न नसकेको परिवारमा बसाइ सर्दैमा छिट्टै अवस्था सुध्रने त कुरै थिएन । आमाबाबुले दुःख गरेर भए पनि जेठो छोरालाई विद्यालय पठाउन थाले, अनगिन्ती सपना बुनेर । तर अपशोच केही वर्षपछि छोराले पढाइ छाडेर बरालिन थाल्यो । गाउँघरका सबै बिदेसिएर धन कमाएर ल्याएको देखेर उसलाई पनि आमाबाबुले विदेश पठाउने निधो गरे ।
आफूसँग नभए पनि छोराले अरूले झैं विदेशबाट पैसा कमाएर ल्याउँछ भन्ने सोचेर बाबुले गाउँमा एक लाख ऋण खोजेर विदेश पठाउने चाँजोपाँजो मिलाउन थाले । विदेश पठाउन पनि सजिलो थिएन । तुरुन्तै छोरा उड्ने भयो भनी पैसा लिनेे दलाल पैसा पाइसकेपछि महिनौं दिनसम्म टार्दै जान्छ । अन्तमा बल्लतल्ल विदेश जाने निश्चित भयो । विदेशका सपनालाई साँचेर आँगनमै आएका दसैं र तिहार चाडलाई वास्तै नगरी आमाबाबु र बहिनीभाइले उसलाई बिदाइ गरे । गाउँबाट विदेश जानेका छोराछोरीले पैसा पठाए । निकैपटक फोन गरे पनि जेठाले पनि केही पैसा पठायो । घरपरिवार र आफन्तमा समेत खुसी र उमंग ल्यायो । एक वर्षपछि जेठासँग गएका गाउँका साथीभाइ कम्पनीमा
राम्रो काम भएन भन्दै फर्किए । जेठो फर्किएन । आमाबाबुले धेरैपटक फोन गरे, र्फकनका लागि  । जेठाले आफ्ना काम राम्रो भएकाले तीन वर्षपछि मात्रै र्फकने कुरा गर्‍यो । आमाबाबुले चित्त बुझाएर बसे । महिना बिते, वर्ष बिते तर जेठाले फोन गर्न नै छाड्यो ।
गरिब परिवार, सानो आम्दानी ।
घरका भाइबहिनीलाई भोक टार्नै
मुस्किल भएकाले राम्रो पढाइ हुन सक्ने कुरै भएन । बहिनीहरूलाई आमाबाबुले विवाह गरिदिनतिर लागे । भाइले पनि गरिबीले गर्दा पढ्न छाड्यो । जेठो विदेश लागेको तीन वर्षपछि फर्केला भनेको अझै फर्केन । जेठालाई विदश जाँदा लागेको ऋण पनि बढ्दै गयो ।
एकपटक चाडबाड आउन लागेपछि आमाबाबुलाई छोराले केही खर्च पठाउला कि भनेर फोन गरेछन् । धेरैपटक फोन गरेपछि दसैं सुरु हुनै लागेका बखत जेठाले बैंकमा पैसा पठाएको खबर
गरेछ । घरपरिवारमा खबरले खुसी छायो । आमाबाबु पैसा लिन गएछन्, नपाएर फर्किए । छोराले दसैंका लागि खर्च पठाएको भनी चारपटक धाएछन् । दसैं त्यतिकै गयो तर पैसा पाइएन । फोन गर्दा र लिन जाँदा उल्टै खर्च लाग्यो,
आमाबाबुले दुःख पाए तर पैसा पाएनन् ।  
पछि पछि पो सँगै गएका साथीहरू कुरा खोल्न थाले । गएको वर्ष दिनमै पिउन सिकेछ, जेठाले । जेठाले केटाभन्दा केटीहरू बढी साथी बनाएको रहेछ । तलब आएपछि केटीहरूलाई 'एटीएम' कार्ड दिन थालेछ । उसलाई नेपाल र्फकन मन लाग्न छाडेको रहेछ । कमाएको जोगाउन सक्ने अवस्था पनि रहेनछ । आज जेठो विदेश पसेको ७ वर्ष बित्यो । ऊ जाँदा लिएको ऋण तिर्न घरखेत बेच्नुपर्ने भएको छ । जेठाले पैसा पठाउला भन्ने आसमा आमाबाबु ऋणको भारी बोकी बसेका छन् । छोरो फर्किएला र विवाह गरेर नातिनातिना खेलाउने सोच आमाबाबुको अझै मरेका छैन ।
प्रस्तुति ः सन्तोष बुढाथोकी

प्रकाशित : पुस १८, २०६६ १६:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?