कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ँत्यसबेला साँच्चै सत्ता कब्जा हुन सक्छ’

काठमाडौ — भारतसँग वार्ता गर्ने उद्घोष गरेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल चर्चाको केन्द्रमा छन् ।

दाहालको यो अभिव्यक्तिलाई अन्य दलले विरोध गरे पनि उनले भने आफूले सही कुरा गरेको दाबी दोहोर्‍याएका छन् । तर त्यसको अर्थ भारतसँग जोरी खोज्न चाहेको होइन भन्छन् उनी । 'हिमाल, भूगोल, इतिहास, भाषा, संस्कृति सबै कारणले भारतसँग जोरी खोज्नु मूर्खता हो भन्ने हामीलाई राम्ररी थाहा छ । प्रस्तुत छ, अन्तर्वार्ताका प्रमुख अंश ः

तपाईं आफ्नै बोलीका कारण विवादमा परिरहनु हुन्छ, किन ?
मेरो आफ्नो बोली विवादमा परेको हो कि अरूले बुझ्ने कुरामा विवाद भएको हो, मलाई कहिलेकाहीँ यस्तो लाग्छ । दोस्रो, पुराना मान्यता बोकेका नेताहरूको कूटनीतिक भाव र मेरोमा फरक लाग्छ । मभित्रबाट लागेको कुरा कुनै न कुनै रूपमा व्यक्त गर्छु । सायद कहिले समय सन्दर्भ मिलेको ठान्दैनन् मान्छेले । कतिपयले परम्परागत संस्कारसँग नमिलेको पनि ठान्छन् । त्यसो भएको हुनाले पनि विवाद भएको हुन सक्छ ।
अहिले भारतसँग वार्ता गर्ने कुरा विवादमा परेको छ नि ?
मैले जे भनें, बेठीक भनेको छु भन्ने लागेको छैन । सायद मेरो व्याख्या नपुगेको हुनाले मान्छेले विभिन्न रूपमा बुझे । भाषणको समग्र कुरालाई एक ठाउँमा राख्यो भने विवाद गर्नुपर्ने कारण छैन । मैले के भनेको हो भने, नेपालका सरकारमा भएका प्रमुख पार्टीहरूको कुनै हैसियत छैन र आफ्नो निर्णय आफैं गर्न पनि सक्दैनन् । उनीहरू 'रिमोट कन्ट्रोल' बाट चलेका छन् । त्यसैले यिनीहरूसँग वार्ता गर्नुको अर्थ छैन भनेर मैले भाषणमा भनें ।
अर्को कुरा, मैले दिल्लीसँग आन्तरिक विषयमा वार्ता गर्छु भनेको छैन । तर यी -सत्तारूढ) पार्टीहरू पूरै दिल्लीबाट निर्देशित देखिएका छन् । त्यो परिस्थितिमा समस्या कहाँ छ भनेर खोज्दै जाँदा सन् १९५० को सन्धिदेखि इतिहासका अन्य तमाम विषयमा
-दिल्लीसँग) सीधै कुरा गर्न हामी तयार छांै भनेको हो । त्यसमा विवाद गरिहाल्नुपर्ने कुनै कारण छैन । किनभने इतिहासका केही गाँठाहरू छन्, तिनलाई फुकाउनुपर्छ । दुई देशको सम्बन्ध समानताका आधारमा स्थापित गर्नुपर्छ ।
आफ्नो कुरा ठीक थियो भने भोलिपल्टै त्यो राजनीतिक व्यंग्यमात्र थियो भनेर किन सच्याएको त ?
राजनीतिक पार्टीहरूले खालि मालिक खोज्छन् । कहिले सामन्ती दरबार र कहिले दिल्ली दरबारलाई मालिक रोज्छन् । त्यही मालिक खोज्ने प्रवृत्तिमाथि मैले व्यंग्य गरेको हो । तर भारतसँग रहेका समस्यासँग सम्बन्धित विषयहरूमा वार्ता व्यंग्य होइन । १९५० को सन्धि, सीमा समस्या, व्यापारका विषय, नेपालको विकासको कुरा गर्नु व्यंग्य होइन ।
प्रतिपक्षी पार्टीले खुलेआम भारतसँग वार्ता गर्छु भन्नुलाई कसरी जायज मान्न सकिन्छ ? यस्तो कुराले आम नेपालीको स्वाभिमानमा ठेस पुर्‍याएन ?
मैले दिल्लीसँग घुँडा टेक्न वार्ता गर्छु भनेको होइन । दिल्लीसँग घुँडा टेक्ने प्रवृत्तिको विरोध गरेर राष्ट्रिय स्वाधीनता र स्वाभिमानका लागि सबै देशभक्त एक हुनुपर्छ भन्ने मेरो अपिल हो । देशभक्त स्वाभिमानी नेपालीले मेरो भनाइबाट लज्जित हुनुपर्ने कुनै कारण छैन । बरु मैले त अहिले भारतका सेनाध्यक्षले समेत खुलेआम नेपालको शान्ति प्रक्रियाको विरोधमा बोल्ने अधिकार कहाँबाट पाए ? सेना समायोजनविरुद्ध बोल्ने अधिकार कहाँबाट पाए ? सरकारमा भएका कसैले पनि प्रतिरोध गर्न नसक्ने परिस्थिति कहाँबाट आयो ? भनेको हो । यसमा स्वाभिमानी नेपालीले गर्व गर्नुपर्छ । सबभन्दा ठूलो पार्टीको अध्यक्षले राष्ट्रियताका लागि एक हौं, बढी हस्तक्षेप भयोभन्दा गर्व महसुस गर्नुपर्छ । म प्रश्न गर्छु, सरकारले राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सकेको छ ? सरकारमा भएका पार्टीहरूले भारतको हस्तक्षेपविरुद्ध प्रतिवाद गर्ने हैसियत राख्छन् ?
राख्दैनन् भन्ने आधार के छ ?
यो त स्पष्टै छ नि र मैले सदनमा पनि भनंे- यो प्रक्रियामा मधेसवादी पार्टीहरू कसरी टुटे । कसले टुटायो ? आफ्नो कारणले कि बाह्य कारणले ? बोराका बोरा पैसा दिएर पार्टी कसरी फुटाइँदोरहेछ भन्ने मैले राम्रैसँग थाहा पाएँ । तर हामीमा साँचो कुरा नबोल्ने संस्कार छ, त्यसका विरुद्ध हामी अगाडि आउनै पर्छ । अहिले लाटोलाई पनि थाहा छ, नेपालको आन्तरिक मामिलामा खुलेआम हस्तक्षेप भइरहेको छ, पार्टी फुटाउने-टुटाउने काम भइरहेको छ, तर त्यसबारेमा कोही नबोल्ने ?
लामो समय त तपाईं पनि बोलेको सुनिएन, अहिले नै चाहिँ किन बोल्नुभयो ?
प्रधानमन्त्री हँुदाखेरि समेत मैले धेरै कुरा बोलें । भारतमै जाँदा १९५० लगायत सबै असमान सन्धि, सीमा विवाद आदिबारे सरकार प्रमुख, कूटनीतिक नियोगका प्रमुखसँग कुरा गरेकै हो । संयुक्त वक्तव्यमा पनि त्यो कुरा पारिएको छ । मेरै नेतृत्वको सरकार छँदा सीमा समस्या हल गर्न कार्यदल बनेको हो । त्यसबेला मलाई कैयौं कुरामा 'डिक्टेट' गर्न खोजियो, मैले मान्न सकिन । ओलम्पिकमा चीन भ्रमणमा जाने, नजाने कुरामा आएको दबाब मैले त्यतिबेलै स्पष्ट पार्न खोजेकै हो । सेनापति प्रकरण पनि कसरी भयो, मैले भनेकै हो ।
अहिले आएर त हस्तक्षेपले सीमा नाघ्यो । भारतका सेनाध्यक्षले नेपालमा माओवादीसँग लड्ने एकमात्र सेना हो भनेर नेपाली सेनालाई उक्साउने र सेना समायोजन गर्न हँुदैन भनेर सार्वजनिक समारोहमा भने । यो विषयलाई जनताले राम्रोसँग बुझुन् भनेर मैले अलि कडासँग बोलेको हो ।
माओवादीले अब कूटनीतिक पहल र सडक आन्दोलन सँगै अघि बढाउन खोजेको हो ?
कूटनीतिक पहल त हिजो पनि थियो, आज पनि छ, भोलि पनि रहिरहन्छ । तर कैयौं प्रश्न कूटनीतिबाट हल हुँदैन । त्यसलाई राजनीतिबाट हल गर्नुपर्ने हुन सक्छ । मैले अहिले भनेको कुरा राजनीतिक ढंगले उठाएर समाधान गर्न खोजेको मात्रै हो । मलाई त के लागेको छ भने सुगौली सन्धिदेखि अहिलेसम्मका सरकारका प्रमुखहरू र २००७ साल वरिपरिदेखिका पार्टी र तिनका नेताहरूले असाध्यै बढी कूटनीति प्रयोग गर्दा नेपाल पछाडि पर्‍यो । झन् पराधीन
भयो । नेपालको आन्तरिक मामिलामा विदेशीको चलखेल बढ्दै गयो । त्यसकारण कूटनीतिक क्षेत्रले मात्रै हाम्रो स्वाधीनताको समस्या हल भएन । राजनीतिक तवरबाट आम जनतालाई सचेत पारेरमात्र हल हुन्छ ।
तपाईंले कांग्रेस-एमालेजस्ता दलहरू भारतको इसारामा चले भन्ने गम्भीर आरोप लगाउनुभयो, केही आधार छ ?
मैले कांग्रेस र एमाले सिंगै पार्टी, सबै नेतालाई आरोप लगाएको छैन । तर यी पार्टीको नेतृत्वमा भारतपरस्त चिन्तन हावी छ भनेको छु । सेनापति प्रकरणमा राष्ट्रपतिले कदम चाल्नुभन्दा दुई दिनअघि नै मलाई त्यो कुराको संकेत थियो । त्यतिबेला सरकारमा भएका पार्टीहरूको समर्थन मलाई नै
थियो । समर्थन हुँदाहँुदै ती पार्टीको आडमा राष्ट्रपतिले कदम चाल्दैछन् भन्ने कुरा थाहा थियो । प्रमुख पार्टीहरूको नेतृत्व पंक्ति आफ्नो विवेकले चलेको छैन, बाहिरको निर्देशनमा चलेका छन् भनेर धेरैचोटि भनेकै छु ।
तत्कालीन सेनापति रुक्मांगद कटवालले शान्ति प्रक्रिया र परिवर्तनको प्रक्रियालाई चुनौती दिएपछि कदम चाल्छु भनेर एमालेको समर्थन लिन मलाई चार महिना लागेको थियो । तर निर्णय गरेपछि झलनाथ खनाललाई दिल्लीबाट फोन गयो । के जादु भयो ? दुई दिनपछि समर्थन फिर्ता लिए । त्यसबेला कटवाललाई कारबाही गर्नै हँुदैन भनेर दिल्लीले भनेको थियो ।
तपाईंको आफ्नै पार्टी पनि भारतसँग कहिले नजिकिने, कहिले टाढिने गरेको देखिन्छ, भारतसँग तपाईंहरूको वास्तविक सम्बन्ध कस्तो हो ?
नेपालमा राष्ट्रियता र लोकतन्त्र अन्तरसम्बन्धित छन् । एउटाबिना अर्को सम्भव छैन । तर कुनै कालखण्डमा राष्ट्रियता, वैदेशिक हस्तक्षेपका कुरा मुख्य भएर आउँछन् र हामी त्यसमै जोड दिन्छौं । अर्को खास अवस्थामा लोकतन्त्र/जनतन्त्रमा जोड दिन्छौं । कुनै कालखण्डमा फेरि दुवैमाथि प्रहार गर्छौं ।
हामीले जनयुद्धको तयारी गर्दा भारतको हस्तक्षेपको विषय उठाएका थियौं । पाँच वर्षसम्म हामीले राष्ट्रघाती चरित्रका पार्टीको भण्डाफोर, भारतको मिचाहा, हेपाहा प्रवृत्तिविरुद्ध संघर्ष गरेका थियौं । त्यसबीचमा राष्ट्रियताको पक्षलाई प्रमुखता दिएको हुनाले राजा वीरेन्द्रसँग सम्पर्क बनाएर हाम्रो आन्दोलन देशभक्तिपूर्ण आन्दोलन हो, राष्ट्रिय स्वाधीनता र स्वाभिमानलाई सुदृढ गर्ने हो भन्दा एउटा सीमासम्म उनी 'कन्भिन्स' थिए । यद्यपि उनी सामन्ती राजा भएको हुनाले धेरै गर्न सक्छन् भन्ने लागेको थिएन । तर एउटा सीमासम्म राष्ट्रियताको जगेर्ना गर्न सकारात्मक भूमिका खेल्छन् भनेर धीरेन्द्रसँग भेट्यौं । वीरेन्द्रसँग भेट्नेबारेमा धीरेन्द्रले भनेका थिए, 'दाइले तपाईंसँग भेट्न चाहनुभएको छ । तर बाहिर ल्याएर कसरी भेटाउने हो ?' उनले एकाध महिनापछि भेट्नुपर्छ भनेका थिए । दुर्भाग्य त्यही बेलामा दरबार हत्याकाण्ड भयो । सबै वंश नाश भयो । त्यसपछि हाम्रो अगाडि जनतन्त्र, लोकतन्त्रको प्रश्न प्रमुख भयो । दरबारभित्र राष्ट्रियताको भाव सकियो भन्ने निष्कर्ष निकाल्यौं ।
त्यसपछि हामीले संसदवादी पार्टीहरूसँग कार्यगत एकता गर्ने भन्यौं । रोल्पादेखि सिलिगुडीसम्म जहाँका बैठकमा पनि निरंकुशतन्त्रविरुद्ध संघर्षको कुरा गर्‍यौं । तर पार्टीहरू तयार भएनन् । त्यसक्रममा भारत सरकारले हामीमाथि निकै चर्को दमनचक्र सुरु गर्‍यो । भारतमा हाम्रा थुप्रै साथीलाई पक्रेर
नेपाल बुझाइयो । भारतले हस्तक्षेप गरेको देखेपछि हाम्रो नीति फेरियो । हामीले भारतविरुद्ध आवश्यक पर्‍यो भने सुरुङ युद्ध लड्ने तर नझुक्ने अठोट गर्‍यौं ।
परिवर्तनलाई आत्मसात् गर्न नसकेका मान्छेले हामीलाई कहिले भारतका, कहिले दरबारका मान्छेको रूपमा हेरे । कांग्रेसले राजाकै पार्टी हो भन्यो । प्रचण्ड भन्ने मान्छे नै छैन, ज्ञानेन्द्र नै हो समेत भने । अहिले भारतका मान्छे भनेर प्रचार गरिँदै छ । जबकि न दरबार न भारतसँग हाम्रो कुनै गोप्य सम्बन्ध हो । हाम्रो नीति परिस्थितिअनुसार परिवर्तन भएको हो ।
हामी भारतसँग समानताका आधारमा सम्बन्ध राख्न चाहन्छौं । भारत भने माओवादीलाई एक्ल्याएर शान्ति प्रक्रिया भत्काउने, संविधानसभा भत्काउने, हारेका पार्टी, नेताहरूको सरकार बनाउनेतिर लागेको छ । यस्तो अवस्थामा राष्ट्रप्रति बफादार पार्टीले चुपचाप सहने र कूटनीतिका नाममा झुकिरहने कसरी हुन सक्छ ?
भारतसँग अब तपाईंहरूको सम्बन्ध कस्तो होला ?
अन्ततः राम्रो हुन्छ र हुनुपर्छ भन्ने मलाई लाग्छ । तर इतिहासका नराम्रा विरासत बदल्नुपर्छ । भारतको तीव्र आर्थिक विकास भएको छ । नेपाल गणतान्त्रिक भएको छ । परिवर्तनको तीव्र प्रक्रियामा छ । यो प्रक्रियालाई सम्बोधन गर्ने गरी पुराना असमान सम्झौता खारेज गर्नुपर्छ, केहीलाई पुनरावलोकन गर्नुपर्छ । सीमा समस्या, व्यापारका समस्या हल गर्नुपर्छ ।
भारतीय पक्षले माओवादीलाई कांग्रेस, एमाले, जनशक्ति पार्टी बनाउने कोसिस नगर्नु नै राम्रो हुन्छ । माओवादी हिजोका असमान चीजहरूको अन्त्य होस् र समानताको सम्बन्धमा आधारित नयाँ युग सुरु होस् भन्ने चाहन्छ । तर यहाँ त भारतसमक्ष घुँडा टेकेर व्यक्तिगत फाइदा उठाउनेहरू छन् । सुगौली सन्धिदेखिका शासकहरूले नेपालको राष्ट्रिय हितलाई सर्वोपरि राखेनन् । उनीहरूले आत्मसमर्पण गर्ने कुरालाई महत्त्व दिए ।
भारतले इतिहासका विकृतिलाई अन्त्य गरी उदारतापूर्वक छिमेकीसँग समानता कायम गर्न सक्नुपर्छ । अंग्रेजको जमानामा भएको सुगौली सन्धिले नेपाललाई अपमान गरेको छ । दुर्भाग्य १९५० को सन्धि, महाकाली सन्धिदेखि अहिले भइरहेका गतिविधिले नेपाली जनताको मन कुँडिएको छ । भारतबाट अंग्रेज त गयो, अंग्रेज मानसिकता गएन कि भन्ने नेपाली जनतालाई लागेको छ । भारतले इतिहासलाई समीक्षा गरी सम्बन्धलाई नयाँ आधारमा विकास गर्नुपर्छ ।
चीनको आडका कारण तपाईंहरू भारतसँग बढी आक्रामक हुँदै गएको आरोपबारे के भन्नु हुन्छ ?
हामीले कसैलाई कसैका विरुद्ध प्रयोग गर्ने सोचेकै छैनौं । चीनको आडमा भारतविरुद्ध लाग्यो भन्नु माओवादी आन्दोलनलाई बदनाम गर्ने नियोजित षड्यन्त्र हो । हामी चीन र भारत दुवैसँग राम्रो सम्बन्ध होस् भन्ने चाहन्छौं । भारतसँग पुरानो सम्बन्धका साथै समस्या धेरै भएको हुनाले हल गर्नुपर्छ भन्ने हो । त्यसो गर्न हामीलाई चिनियाँ कार्ड चाहिँदैन । त्यस्तोमा हामीलाई विश्वास पनि छैन । नेपाल चीन र भारतको बीचमा भएको हुनाले दुवै धनी तर नेपाल गरिब हुन सक्दैन । नेपाल गरिब भए भारत र चीन कसैलाई फाइदा छैन । तीनै देश बसेर नेपालको आर्थिक विकासको गति तीव्र बनाउने समझदारी बनाइयोस् भन्ने मेरो धारणा हो । नेपाललाई चीन र भारत कसैले पनि 'माइनस' गर्न चाहेमा गल्ती हुनेछ ।
वर्तमान राजनीतिक गतिरोधको अन्त्य कहिले होला ?
कांग्रेस, एमालेलाई 'ग्रीन सिग्नल' आएमा राजनीतिक गतिरोध तुरुन्त हल हुन्छ । एकै दिनमा हल हुन्छ । हृदयदेखि भन्नुपर्दा, तुरुन्तै सहमति हुन्छ जस्तो लाग्दैन ।
ग्रीन सिग्नलका लागि भारतसँग तपाईंहरूकै पनि कुरा भइरहेको होला नि ?
भारतसँग प्रत्यक्ष-परोक्ष कुराकानी त भइरहेकै छ । संविधानसभामा सबभन्दा ठूलो पार्टी हुनुको नाताले, १२ बुँदे समझदारी गर्दाखेरि सम्बन्ध भएको हुनाले, भारतीय नेतासँग चिनजान भएको हुनाले कुरा भइरहेकै छ । तर शक्ति राष्ट्रहरूले आफूले गरेको कामको आलोचना नहोस् भन्ने चाहँदारहेछन् । यद्यपि मैले अगाडि ल्याएको कुराले वातावरण बिगारेको छैन, बरु सपारेको छ । यसबारे सबै कुरा अहिले म
भन्दिन । यति बुझ्नुहोस्, मैले सकारात्मक संकेत पाएको छु । देश बाहिर, भित्र पनि सकारात्मक संकेत छ ।
सहमति कसरी हुन्छ, तपाईंहरू आ-आफ्नै अडानमा हुनुहुन्छ ?
राष्ट्रपतिले दुःख व्यक्त गरेर अपिल गर्ने । दोस्रो, साझा संकल्प प्रस्ताव बनाउन 'हामी संवैधानिक राष्ट्रपतिका पक्षधर हौं' भनेर स्पष्ट गरेमा पनि हुन सक्छ । नागरिक सर्वोच्चताको पक्षधर रहेको र विगतमा देखिएका गल्ती-कमजोरी, अस्पष्टता भविष्यमा दोहोरिन नदिने प्रतिबद्धता भयो भने सहमति हुन सक्छ । १२ बँुदे
समझादारीमा 'पूर्ण लोकतन्त्र' शब्द राखेजस्तै गल्ती-कमजोरी भयो भनेर सबैले भन्ने ठाउँ हुने गरी राखौं भन्ने कुरा भएको थियो । 

 

प्रकाशित : पुस १८, २०६६ १६:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?