कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

छोटकरी

एमाले विराटनगर १३ ले सहिद फणीन्द्रराज तिम्सिनाको सम्झनामा अक्षयकोष स्थापना गरेको छ ।

९ व्यक्तित्व सम्मानित
विराटनगर -कास)- पार्टीको आठौं वडा अधिवेशनका अवसरमा आयोजित कार्यक्रममा अक्षयकोष स्थापनाको घोषणा गरिएको हो । यसै अवसरमा सामाजिक क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मान पनि गरिएको छ ।
 तिम्सिनाको परिवारका तर्फबाट ५० हजार रुपैयाँ, पार्टी वडा कमिटी विराटनगर-१३ का तर्फबाट ५० हजार रुपैयाँ, सभासद यशोदा अधिकारीबाट ५१ हजार रुपैैयाँ र विभिन्न व्यक्तिबाट समेत गरी दुई लाख रुपैयाँ रकम जम्मा गरी कोष बनाइएको हो ।
कोषको रकमबाट प्राप्त आम्दानीले हरेक समाजमा उत्कृष्ट योगदान पुर्‍याउने व्यक्तित्व तथा मोरङका सरकारी विद्यालयबाट प्रवेशिका परीक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने एक छात्र र एक छात्रालाई पुरस्कृत गरिने जनाइएको छ ।
यसै अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो । समाजसेवी जगत अर्याल, साहित्यकार अनिरुद्ध तिम्सिना, राजनीतिज्ञ जीवन घिमिरे, पत्रकार शान्ति दाहाल, वुद्धिजीवी खगेन्द्र आचार्य, पूर्व वडासचिवहरू खेमराज तिम्सिना, माधवराज वाग्ले, शिवनारायण यादव र खडानन्द ढुंगेल सम्मानित भएका हुन् ।

२७० को आँखा परीक्षण
विराटनगर -कास)- सुनसरीको इनरुवामा विराटनगर आँखा अस्पताल र लायन्स क्लब अफ बेलबारीको सहकार्यमा भएको शिविरमा २ सय ७० जनाको निःशुल्क आँखा परीक्षण गरिएको छ । तीमध्ये मोतीविन्दु पाइएका ७१ जनालाई अस्पतालले निःशुल्क शल्यक्रिया गरिदिने भएको छ ।

विद्यालयको सामान चोरी
विराटनगर -कास)- मोरङको सुन्दरपुरस्थित साजीलाल उच्च माविमा शुक्रबार राति करिब तीन लाख रुपैयाँ बराबर धनमाल चोरी भएको छ । विद्यालयको मुख्य गेटको ताला फुटाएर विद्यालय प्रशासन कोठाबाट सामान चोरिएको हो ।
विद्यालय प्रमुखको कार्यकक्ष, पुस्तकालय र कम्प्युटर तथा फोटोकपी कक्षबाट सामान चोरिएको विद्यालयले जनाएको छ । फोटोकपी मेसिन एक थान, कम्प्युटरका सामान मोनिटर एक थान, पङ्खा सात थान, पानी तान्ने मेसिन एक थान साथै स्थानीय बासिन्दाको पानी तान्ने मेसिनहरू १२ थान चोरी भएको विद्यालयका प्राचार्य नारायण घिमिरेले जानकारी दिए ।

सामान बरामद
विराटनगर -कास)- सश्ास्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय मोरङको टोलीले विराटनगर १८ स्थित जतुवा इलाकामा भारतबाट भन्सार छली ल्याउँदै गरेको ग्वालियर सिमरन ब्रान्डको सुट कपडा बरामद गरेको छ । करिब दुई लाख रुपैयाँ बराबरको कपडा बरामद भएको प्रहरीले जनाएको छ ।

रक्तदान
राजविराज -कास)- युवा सशक्तीकरण संघ नेपाल, सप्तरीले नवौं वाषिर्कोत्सवको अवसरमा आयोजना गरेको कार्यक्रममा ११ जनाले रक्तदान गरेका छन् ।

नेटवर्क गठन
विराटनगर -कास)- सूचनाको हक प्रयोग रक्षाका लागि आरटीआई मोरङ नेटवर्क गठन गरिएको छ । २५ वटा गैरसरकारी संस्थाका प्रतिनिधिको भेलाले शनिबार विजयप्रसाद मिश्रको संयोजकत्वमा सात सदस्य नेटवर्क गठन गरेको
हो । सदस्यमा अधिवक्ता नारायण बस्ती, बालकृष्ण पाण्डे, विशाल राई, नगेन्द्र ढकाल, डिकप्रसाद घिमिरे र विमला भुसाल छन् ।
सूचनाको हकको लागि मोरङका विभिन्न सरोकारवालाका लागि आवश्यक सूचना प्राप्त गर्न सहयोगी भूमिका निर्वाह गर्नका लागि गठन गरिएको नेटवर्कले जनाएको छ । जिल्लाका सरकारी, अर्धसरकारी, गैरसरकारी संस्थाहरूसँग सूचना माग्न लगाउने र नदिए राष्ट्रिय सूचना आयोगसम्म पुग्नका लागि निःशुल्क पहल गर्ने जनाइएको छ ।

प्रकाशित : पुस १७, २०६८ १२:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?