कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जो चर्चामा रहे

काठमाडौ — १ झमक घिमिरे
यिनी आफ्नो कामले चर्चामा रहिन् । मष्तिस्क पक्षघातजस्तो खतरानाक रोगको सिकार भईकन पनि निरन्तर साहित्य कर्ममा जुटेकी यिनले यो वर्ष मदन पुरस्कार जितिन् ।

१ झमक घिमिरे
यिनी आफ्नो कामले चर्चामा रहिन् । मष्तिस्क पक्षघातजस्तो खतरानाक रोगको सिकार भईकन पनि निरन्तर साहित्य कर्ममा जुटेकी यिनले यो वर्ष मदन पुरस्कार जितिन् । उनको आत्मपरक कृति 'जीवन फूल कि काँडा' यो वर्ष सबभन्दा बढी पढिने नेपाली पुस्तकका साबित भयो । यही पुस्तकले मदन पुरस्कार जितेको हो । बोल्न, हिँड्न र हात चलाउन नसक्ने झमक खुट्टाले लेख्छिन् ।
२ रामेश्वर खनाल
यिनी स्वाभिमानका कारण चर्चामा रहे । अघिल्ला अर्थमन्त्री भरतमोहन धिकारीले गलत काम गर्न दबाब दिएपछि उनले अर्थ सचिव पदबाटै राजीनामा दिए । भ्रष्टाचारले थिलथिलो भएको कर्मचारीतन्त्रमा रामेश्वर खनाल केही दुर्लभ नामहरूमा थिए जोे इमान र क्षमताका कारण चिनिएका थिए । मुख्य सचिव हुने अवस्थामा पुगेका उनले त्यही इमाज जोगाउनकै लागि अर्थमन्त्रीसँग सम्झौता गरेनन् ।
३ सागर थापा
यी तन्नेरी फुटबल खेलाडीको एउटै गोल विश्वमा उनलाई चिनाउन पर्याप्त भएको
छ । आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेलमा उनको पहिलो गोल दुर्लभ किसिमको हुन गयो । साफ च्यायम्मियनसिपमा भारतको जहारलाल नेहरू रंगशालामा अफगानिस्तानसँगको खेलको लगभग अन्तिम मिनेटमा सागरले मैदानको बीचतिरबाट गरेको प्रहार एउटा रोमाञ्चक गोलमा बदलियो । त्यसले नेपाललाई सेमिफाइनलमा पुर्‍यो भने सागरलाई अन्तर्राष्ट्रिय चर्चामा । खेल समीक्षकहरूले उनको त्यो गोललाई जीवनमा एकपटक मात्रै हुने दुर्लभ प्रकृतिको गोल भनेका छन् ।
४ रमेश खरेल
कामले चिनिने थोरै प्रहरीमा एसपी रमेश खरेल अग्रपंक्तिमा छन् । काठमाडौंमा हुँदा चोर बदमासको सातो लिएका खरेलको अचानक वीरगन्ज सरुवा भयो । तर त्यहाँ पनि उनले आफ्नो इमानदारीमा कमी ल्याएनन् । हिम्मत हारेनन् र कसैसँग डराएनन् । भटाभट उनले वीरगन्जका अपारधी सबैलाई जेलभित्र पुर्‍याए । कानुनमन्त्री प्रभु शाह एउटा हत्याकाण्डमा संलग्न भएको प्रमाण जुटाए र उनीविरुद्ध पक्राउ पुर्जीसमेत थमाए । बहालवाला मन्त्रीलाई पक्राउ पुर्जी काट्न सक्ने उनीजस्ता प्रहरी सबैतिर भए देशको सुरक्षा संयन्त्रको काया पलट हुने थियो ।
५ रामप्रसाद श्रेष्ठ
नेपालको न्यायिक इतिहासमा थुप्रै प्रधानन्यायाधीश आए र गए । तर थोरैले मात्रै आफूलाई चिनाउनलायक काम गरे । केही महिनाअघि अवकाश लिएका प्रधान न्यायाधीश रामप्रसाद श्रेष्ठ तिनै दुर्लभ न्यायिक नामहरूमा पर्छन् । उनले आफ्नो एकवर्षे कार्यकालभरि भ्रष्टाचारविरुद्ध न्यायिक अभियान नै चलाए । पूर्वमन्त्री चिरञ्जीवी वाग्लेदेखि सहकर्मी न्यायाधीशहरूसमेतलाई भ्रष्टाचारका मुद्दामा कारबाही चलाए । वषर्ाैंदेखि सर्वाेच्चमा थन्किएर रहेका भ्रष्टाचारका मुद्दा ब्युँताउने काम गरे । आफ्नो सम्पत्ति विवराण सार्वजनिक गरे । यी सारा कामले उनको प्रसिद्धि र लोकपि्रयता दुवै चुलियो ।
६ बाबुराम भट्टराई
राजनीतिक खेलाडी सबैलाई पछि पारेर प्रधानमन्त्री भएका बाबुराम भट्टराईको चर्चा सायद यो वर्ष सर्वाधिक बढी भयो । उनी प्रधानमन्त्री हुँदा धेरैले धेरैथरी आस गरेका थिए । भ्रष्टाचारमा अहिलेसम्म नमुछिएका, नेतामध्येमा सबभन्दा धेरै पढेलेखेका, सादा जीवन शैली भएका बाबुरामलाई प्रधानमन्त्रीको पदमा गुट उपगुटभन्दा माथि उठेर सारा नेपालीले स्वागत गरेका थिए । तर समय बित्दै जाँदा उनको कार्यक्षमताको आलोचना बढ्न थाल्यो । मानिसहरूले निराशा व्यक्त गरे किनभने जनअपेक्षा अनुसार उनले काम गर्न सकेनन् । तापनि पाँच वर्षदेखि रोकिएको शान्ति प्रक्रियाले उनकै पालामा गति लियो । लडाकु समायोजन गर्ने काम अहिले प्रक्रियामा छ । सायद बाबुरामको सबभन्दा ठूलो उपलब्धि यही थियो । तर सुशासन कायम गर्ने र भ्रष्टाचार रोक्ने काममा उनी सफल हुन सकेनन् । सफल/असफल जे भए पनि बाबुरामको चर्चाचाहिँ उस्तै रह्यो ।
७ बालकृष्ण ढुंगेल
माओवादी सभासद बालकृष्ण ढुंगेल पनि यो वर्ष समाचारका शीर्षक बनेर छाइरहे । एक युवकको हत्या अभियोगमा सर्वाेच्चबाट सर्वस्वसहित जन्मकैदको सजाय पाएका उनलाई सरकारले आममाफी दिने निर्णय गर्दै कार्यान्वयनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि उनको चर्चा निकै भयो । त्यसको विरोध कूटनीतिक निकाय र दातृसंस्थाहरूबाट समेत भयो । ढुंगेललाई आम माफी दिने काम अहिले नगर्न सर्वाेच्चले आदेश नै जारी गर्‍यो । माफी पाए पनि नपाए पनि ढुंगेलले चर्चा भने मनग्गे पाए ।
८ चिरञ्जीवी वाग्ले
भ्रष्टाचारको अभियोग लागेपछि सक्रिय राजनीतिबाट लगभग ओझेलमा परिसकेका थिए यिनी । तर सर्वाेच्चको एउटा फैसलाले एकाएक यिनको चर्चा चुलीमा पुग्यो । पूर्वप्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठको इजलासले वाग्लेलाई भ्रष्टाचारी ठहर गर्दै चार वर्ष जेल हाल्ने फैसला गर्‍यो ।
त्यसको भोलिपल्टै उनलाई कारागार पनि पुर्‍याइयो । नेपालको इतिहासमा भ्रष्टाचारी ठहरिएर जेल जाने पहिलो मन्त्री उनै वाग्ले भएका छन् ।
९ परशुराम बस्नेत
खराब कामले चर्चामा आउने यस वर्षका नेपालीहरूमा सबभन्दा अगाडि सायद यिनै परशुराम बस्नेत हुन् । विराटनगरका यी युवा व्यापारीले पत्रकार खिलनाथ ढकालको ज्यानै जाने गरी हमला गरेको पुष्टि भइसक्दा पनि प्रहरीले पक्रन सकेन । किनभने उनले युथ फोर्सको गतिलो संरक्षण पाए । उनका नाममा सडक जाम भए । मसाल जुलुस निक्लिए । र गाडीहरू तोडफोड भए । र पनि प्रहरीले केही गर्न सकेन ।
१० भुवन केसी
कहिले काम र कहिले बदनामले उनी चर्चामा आइरहन्छन् । यसपाला यी पुराना नायकको चर्चा रिल लाइफले होइन रियल लाइफले गर्दा भयो । एउटी विवाहिता महिलालाई कारमा राखेर धुलिखेलतिर जाँदै गर्दा कोटेश्वरमा उनलाई ती महिलाको पतिले कठालो समाते । सारा मानिसको अघिल्तिर उनलाई कुटपिट गर्न थाले । भुवन भने कुनै प्रतिकार नगरी लुसुक्क त्यहाँबाट हिँडे । यस घटनाले उनको चर्चा टोलटोलमा गरायो । यसको तातो सेलाउन नपाउँदै भुवन एमालेमा प्रवेश गरे । अनि एउटा अन्तरवार्तामा उनले भने, 'एमालेलाई मेरो जरुरत छ, मलाई एमालेको जरुरत छैन ।' उनको यो अभिव्यक्तिले पनि नेपाली सिने संसारमा ठूलै मसला दियो र उनले समाचारका शीर्षकहरू बनाइरहे ।
११ अञ्जु पन्त
यी तन्नेरी गायिकाको गीतभन्दा उनको प्रीतले यो वर्ष धेरैको ध्यान तान्यो । सानै उमेरमा प्रेम र पछि विवाह बन्धनमा बाँधिएकी अञ्जुले यसपाला पतिसँग पारपाचुके हुने स्तरको सम्बन्ध सामना गर्नुपर्‍यो । पति मनोज सेवासँग उनी अहिले छुट्टएिकी छन् र अब एक्लै जीवन बिताउने भन्दै अन्तरवार्ता दिन थालेकी छन् । राम्री स्वर भएकी यी राम्री गायिकाको व्यक्तिगत जीवनमा आएको यो खलबलीले उनका शुभचिन्तकहरूमा पनि निकै खलबली ल्याएको छ ।


प्रकाशित : पुस २३, २०६८ ११:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?