कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भ्रष्टाचारमा मुछिएको वर्ष

शरदप्रकाश धिताल

काठमाडौ — स्टाचार वर्ष २०११ को विश्व खेलकुदमा चर्चाको विषय बनिरह्यो । दुई चर्चित खेल फुटबल र क्रिकेट मैदानमा भन्दा मैदान बाहिरका विषयबाट सञ्चार माध्यमका पानामा रहिरहे ।

सञ्चारमाध्यम र आम दर्शकले फुटबल र क्रिकेटलाई  मैदानभित्र मात्र होइन मैदान बाहिर पनि पछ्याइरहे । विश्व फुटबलको कार्यकारी संस्था फिफाको नयाँ अध्यक्षका लागि भएको निर्वाचनले भ्रष्टाचारको मुद्दालाई अघि ल्यायो । सेप ब्लाटर पुनः अध्यक्षमा चयन भए भने अध्यक्ष पदमा उमेदवारी दिएका कतारका मोहम्मद विन हमामले एसियाली क्रिकेट काउन्सिलको अध्यक्ष पदबाट राजीनामा मात्र दिनु परेन उनलाई आजीवन प्रतिबन्ध पनि बेहोर्नुपर्‍यो ।
त्यस्तै, फिफाले सन् २०१८ को विश्वकप रसिया र सन् २०२२ को कतारमा गर्न गरेको निर्णयमा पनि आर्थिक चलखेलको शंका गरियो भने फिफाका पूर्वअध्यक्ष जोआ हेभलेन्जले पनि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीबाट आर्थिक अपचलनको आरोप लाग्ने डरले राजीनामा दिए । उनी सन् १९६३ देखि आईओसीको सदस्य थिए ।
त्यस्तै, इंग्ल्यान्डका जोन टेरी र उरुग्वेका लुईस सुआरेजमाथि रंगभेदी आरोपले पनि फुटबललाई ततायो । लिभरपुलका सुआरेजमाथि ८ खेलको प्रतिबन्ध लाग्यो भने चेल्सीका टेरीमाथि फौजदारी अभियोगको सम्भावना रह्यो ।
फुटबल मात्र होइन क्रिकेट पनि यसबाट अछुतो रहन सकेन ।  क्रिकेट र विवाद, दुवै कहिल्यै टाढा भएनन् । सन् २०११ मा क्रिकेट मैदानमा नयाँ घटना भएनन् । तर मैदानबाहिरको घटनाले निकै चर्चा पायो । इङलिस कोर्टले 'स्पट-फिक्सिङ' मा संलग्न भएका तीन पाकिस्तानी क्रिकेटर सलमान बट, मोहम्मद आमिर र मोहमद आसिफलाई जेल चलानको सजाय सुनायो ।
तीनै क्रिकेटर अघिल्लो वर्ष इंग्ल्यान्डविरुद्धको 'स्पट- फिक्सिङ' मा मुछिएका हुन् । सन् २०११ मा विश्व फुटबलमा स्पेनको वार्सिलोना आफ्नो सफलता र कलात्मक फुटबलका लागि चर्चामा रह्यो । वार्सिलोनाले लगातार तेस्रोपल्ट स्पेनी लिग कब्जा गर्दै आफूलाई अब्बल मात्र सावित गरेन अर्को प्रतिद्वन्द्वी क्लब रियल म्याडि्रडभन्दा आफू अघि रहेको प्रमाणित पनि गर्‍यो । उसले फाइनलमा म्यानचेस्टर युनाइटेडलाई हराउँदै ६ वर्षमा तेस्रोपल्ट च्याम्पियन्स लिग पनि हात पार्‍यो । बार्सिलोना  ब्राजिलको सान्तोसलाई हराउँदै विश्व क्लब च्याम्पियन पनि बन्यो । प्रशिक्षक पेप गार्डियोको नेतृत्वमा उसले साढे ३ वर्षमा १३ औं उपाधि हात पानै सफल रह्यो ।
अर्को सफलता जापानले हात पार्‍यो । सुनामी र महाविनाशकारी भूकम्पबाट आक्रान्त जनतालाई महिला विश्वकप जित्दै जापानी महिला टिमले केही राहत दिलायो । जापानले जर्मनीमा भएको प्रतियोगिताको फाइनलमा अमेरिकालाई पराजित गरेको थियो । क्रिकेटमा भारतले २७ वर्षपछि घरेलु भूमिमा वान-डे विश्वकप जित्यो । तर टेस्ट क्रिकेटमा भने इंग्ल्यान्डले पछार्‍यो ।
इंग्ल्यान्डले जनवरीमा ३-१ ले एसेज शृङ्खला कब्जा गरेपछि टेस्टमा आफ्नो सुखद प्रदर्शन कायम राख्यो । इंग्ल्यान्डले घरेलु भूमिमा भारतविरुद्धको शृङ्खला जित्दै शीर्ष स्थान कब्जा गर्‍यो ।
भारतीय ब्याट्सम्यान वीरेन्द्र सहवागले वान-डे क्रिकेटको एकै इनिङमा सर्वाधिक रन जोड्ने नयाँ कीर्तिमान राखे । उनले २ सय १९ रन जोड्दै साथी खेलाडी सचिन तेन्दुलकरको २ सय रनको कीर्तिमान भंग गरे ।
टेनिसमा पुरुषतर्फ राफेल नाडाल  र रोजर फेडेररको दबदबा अन्त्य भयो । दुवैलाई पछि पार्दै नोभाक जोकोभिक शीर्ष स्थानमा रहन सके ।

प्रकाशित : पुस २३, २०६८ ११:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?