कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जसले चर्चा गरायो

कृष्ण ज्ञवाली

काठमाडौ — सुडान घोटाला
एकैपटक प्रहरीका तीन प्रमुखसहित ३६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा चल्यो । सुडानको डार्फरमा गएको नेपाल प्रहरीको अन्तर्राष्ट्रिय मिसनका लागि खरिद गरेको बन्दोबस्तीका सामानमा भएको अनियमितताको घटनामा 'फूलीवाला' उच्च अधिकारीहरू तानिएका हुन् ।

सुडान घोटाला
एकैपटक प्रहरीका तीन प्रमुखसहित ३६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा चल्यो । सुडानको डार्फरमा गएको नेपाल प्रहरीको अन्तर्राष्ट्रिय मिसनका लागि खरिद गरेको बन्दोबस्तीका सामानमा भएको अनियमितताको घटनामा 'फूलीवाला' उच्च अधिकारीहरू तानिएका हुन् । नेपालको इतिहासमा उच्चपदस्थ र अवकाशप्राप्त अधिकारीहरू पहिलोपटक यति ठूलो घोटाला प्रकरणमा मुछिएका हुन् ।
४२ करोड रुपैयाँको बन्दोबस्ती सामान खरिदमा संसद्को राज्यव्यवस्था समितिले करिब ३० करोड अनियमितता भएको ठहरेको थियो । सोही प्रतिवेदनका आधारमा अख्तियारले नेपाल प्रहरीका पूर्वप्रमुख ओमविक्रम राणा, हेमबहादुर गुरुङ र निवर्तमान रमेशचन्द ठकुरीसहित नीति निर्माण तहमा रहेका ३६ जनाविरुद्ध विशेष अदालतमा दायर गरेको मुद्दा हाल पनि विचाराधीन छ ।
सबैतिरको चकर्ेा दबाबपछि मुद्दा अघि बढाएको अख्तियारले राजनीतिक नेतृत्वलाई जोगाएको भन्दै राज्य व्यवस्था समितिमा सभासदहरूले उछितो काढेका थिए । समितिको प्रतिवेदनले तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौला, भीम रावल र गृहसचिव उमेश मैनालीलाई जिम्मेवार ठहर्‍याएपछि उनीहरूलाई अख्तियारले मुद्दा चलाएन । मुद्दापछि बयानका क्रममा ज्वाइँ रुवेल चौधरीका कारण कांग्रेस नेतृ सुजाता कोइरालाको पनि प्रकरणमा संलग्नताको आशंका थियो ।
अन्मिनको बिदाइ
माओवादीले सशस्त्र जनयुद्ध त्यागेपछि नेपालको शान्ति प्रक्रियामा सघाउन आएको राष्ट्रसंघीय मिसन अनमिन पुसको अन्त्यसँग नेपालबाट बिदा भयो । बिदाइ हुनुअघि अनमिनले माओवादी सहित दलका नेता, माओवादी लडाकु र सेनाका अधिकारीहरूको उपस्थितिमा सामान्य बिदाइ समारोह गर्‍यो र बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रपरिसरमा फहराएइएको झन्डा ओराल्यो ।
अनमिन बिदाइको बेलामा प्रमुख रहेकी करिन ल्यानग्रेनले नेपालको शान्ति प्रक्रियामा सघाउन राष्ट्रसंघका लागि गौरवको विषय रहेको भन्दै त्यसले आगामी दिनमा निरन्तरता पाउने बनाइन् । शान्ति सम्झौतालगत्तै नेपाल आएर चार वर्ष बिताएको मिसनले, माओवादी बाहेक प्रमुख दलहरूको निरन्तर आलोचना खेप्नुपर्‍यो । लडाकु दर्ता र प्रमाणीकरणमा माओवादी निकट भएको, शिविरमा हुने आपराधिक र अराजक गतिविधि नियन्त्रण गर्न नसकेको भनेर अनमिनको निरन्तर आलोचना भएको हो । पछिल्लो समयमा माओवादी लडाकुको भत्ता पार्टीले बुझेको विषयमा समेत सत्ताबाहिरका दलहरूले 'अनमिनको पक्षपातीपूर्ण व्यवहार'लाई कारण मानेका छन् । अनमिनपछि प्रधानमन्त्रीको संयोजकत्वमा प्रमुख दलका प्रतिनिधि रहेको सेना समायोजन विशेष समितीले लडाकु व्यवस्थापनको जिम्मेवारी सम्हालेको छ ।
नक्कली बिलको खेल
नक्कली र्फममार्फत कारोबार देखाई भ्याट फिर्ता गरेको आरोपमा ठूला व्यापारिक घरानाहरू अर्बौंंको राजस्व छलीमा मुछिए । करिब ५ सय व्यापारिक र्फमले यसरी कर छलेको पुष्टि भयो । चर्चित औद्योगिक घरानासमेत यस प्रकरणमा मुछिए । आन्तरिक राजस्व विभागले जरिवानासहित करको निर्णय सुनाएपछि उनीहरूलाई पुनरावेदनको मौका बाँकी छ । विभागले जरिवानासहित साढे तीन अर्ब रुपैयाँ तिराउने निर्णय गरिसकेको छ भने बाँकीको पनि छानबिन हुँदै छ । ठगीमा संलग्न व्यापारीलाई उन्मुक्ति दिन खोजेको भन्दै अर्थमन्त्री भरतमोहन अधिकारीको समेत आलोचना भयो ।
गत चैतमा अर्थसचिव रामेश्वर खनालको अनपेक्षित राजीनामाले राजनीतिक क्षेत्रमा तहल्कै मच्चायो । नक्कली भ्याट बिल प्रकरण, पूरक बजेट र कर्मचारी सरुवाको विषयमा अर्थमन्त्रीसँग गम्भीर मतभेद भएपछि सचिव खनालले राजीनामा दिएका खनाल हाल पारिश्रमिक नलिई प्रधानमन्त्रीको आर्थिक सल्लाहकार भएका छन् ।
बदनामतिर सभासदहरू
गत वर्ष हरेक महिनाजसो सभासदहरूले अनेक वितण्डा गरेर जनतालाई तमासा देखाइरहे । समयमा संविधान बनाउन नसकेका कारण आरोचित सभासदहरूले आफ्ना निजी र सार्वजनिक सीमाको लगाममा नबस्दा वर्षभरि हाँसोमजाकको पात्र बने ।
सर्लाहीमा सभासद किरणदेवी यादवको एसएलसी परीक्षा दिन छोरीलाई परीक्षा केन्द्रमा पठाइन् । जनककुमारी चालिसेले दस लाखको फर्जी बिल बनाई बजेट पचाइन् । सभासद शिवपूजन राय, सल्मा खातुन, गायत्री साह रातो पासपोर्ट बेचेको अभियोगमा प्रहरी फन्दामा परे । विनोद ढुंगेलले ज्यानमुद्दामा सर्वस्वसहित जन्मकैद पाएर वर्षभरि चर्चा कमाए ।
माओवादीकै अर्का प्रभु साह कर्तव्य ज्यानको मुद्दामा मुछिएर मन्त्रिपद छाडे । एमालेका डोलविक्रम कार्की एक लाख घूसका कारण निलम्बनमा परे । कांग्रेस सभासद अच्युतराज पाण्डे जुवाको खालमा समातिए । बिसेन्द्र पासवानले संसदीय समितिमा बोल्न नपाएको भन्दै चार
तलामाथिबाट कुर्सी नै फालिदिए ।
रहस्य खुल्यो किनबेचको
घटना एक दशकअघिको हो, तर रहस्य सन् २०११ मै खुल्यो । माओवादी द्वन्द्व चर्केको बेला ११ वर्षअघि सरकारले पुरातात्विक र अति महत्त्वपूर्ण हतियार कौडीको शैलीमा बेचेकेा भेटियो । कान्तिपुर टेलिभिजनको खोज अनुसार, करिब ५० लाख डलर अर्थात् ३५ करोड रुपैयाँमा ती हतियार अमेरिकाको न्युजर्सीस्थित इन्टरनेसनल मिलिटरी एक्टिक्सका प्रमुख क्रिस्चियन क्रामरले किनेका थिए । यसरी बेचिएका हतियारमा ५० हजारभन्दा बढी बन्दुक, झन्डै २ सय तोप, हजारौं खुकुरी, बन्दुकका संगिन र पत्थर थिए । संसद्को राज्यव्यवस्था समितिमा यसबारे खैलाबैला भयो । तर केही सातामै घटनाक्रम राजनीतिक विषयमा केन्दि्रत भएपछि यो मुद्दा ओझेलमा पर्‍यो ।
असुरक्षित आकाश र सडक
सन् २०११ मा आन्तरिक उडानहरूमा आधा दर्जनभन्दा बढी दुर्घटना भए । तीमध्ये ललितपुर र बागलुङमा भएको दुर्घटनामा सबै यात्रुले ज्यान गुमाए । २०६८ असोज ९ गते माउन्टेन फ्लाइटमा गएको बुद्ध एयरको विमान ललितपुरको कोटडाँडामा दुर्घना हुँदा चालक दलका तीन सदस्यसहित १९ जनाको निधन भयो । विमानस्थलमा अवतरण हुनुभन्दा दुई मिनेटअघि उपत्यकाको आकाशमा प्रवेश गरेको विमान फेरि फर्किएर कोटडाँडाको भित्तामा जोतिएको थियो ।
बिरामी बोकेर नेपालगन्जबाट काठमाडौं उडेको नेपाली सेनाको आइल्यान्डर विमान कात्तिक १ गते बागलुङको बोवाङमा दुर्घटना हुँदा चालकसहित ६ जनाको निधन
भयो । हुम्लाको सिमिकोटस्थित शार्दुलबक्स गणमा कार्यरत सैनिक केशवसिंह ऐरी बिरामी भएपछि उद्धारका लागि सेनाको हेलिकप्टर प्रयोग भएको थियो ।
तिहारलगत्तै सिन्धुलीको झागाझोलीमा यात्रुबस दुर्घटना हुँदा ४१ जनाको मृत्यु भयो, १५ घाइते भए । एउटा परिवार नै सखाप भयो । पटकपटक बिगि्रएको थोत्रो बसलाई चालकले जबर्जस्ती गन्तव्यमा पुर्‍याउन खोज्दा दुर्घटना भएको थियो ।
गत चैतमा सुनसरीको लौकहीमा दुई बस एक आपसमा जुध्दा १० जनाको ज्यान गयो । एक महिनापछि सिंन्धुलीकै झागाझोलीमा १२ जना बस दुर्घटनामै मारिए । भोलिपल्ट डोटीमा बस पल्टिँदा १६ जनाको मृत्यु भयो । असोज १ गते म्याग्दीको बाबियाचौरमा बस दुर्घटना हुँदा थप १६ जनाको मृत्यु भयो ।
जेलभित्रै निसाना
२४ सै घन्टा प्रहरीको घेराभित्र रहने थुनुवाहरू नै निसानामा परे । गत फागुनमा नक्कली भारतीय नोटको कारोबार गरेको आरोपमा पक्राउ परेका युनुस अन्सारीमाथि जेलभित्र गोली प्रहार भयो । केन्द्रीय कारागारमा रहेका उनीमाथि गोली प्रहार गर्ने भारतीय नागरिक जसजित सिंह तत्काल पक्राउ परे । घटनापछि दुई छुट्टाछुट्टै छानबिन समिति बने ।
कर्तव्य ज्यानको अभियोगमा चितवन कारागारमा रहेका तरुण दलका जिल्ला अध्यक्ष शिव पौडेलमाथि मंसिर २० गते सांघातिक हमला भयो । कारागारभित्रै रहेका पौडेलमाथि एमाले समर्थित युवा संघका कार्यकर्ताले आक्रमण गरेको आरोप लागेको छ । दुई साताको उपचारपछि पौडेलको राजधानीमा निधन भयो । यसबाहेक सबैभन्दा कडा निगरानी हुने गोलघरमा रहेका चक्रे मिलनको निर्देशनमा एक हाउजिङका डोजर अपरेटरमाथि जिउँदै जलाउने प्रयास भयो ।
शक्तिशाली झड्का
अजोस लाग्नासाथ ताप्लेजुङ र भारतको सिक्किम केन्द्रबिन्दु बनाई शक्तिशाली भूकम्प गयो । ६ दशमलब ९ रेक्टर स्केलको धक्काबाट सबैभन्दा बढी असर ताप्लेजुङ र भारतको आसाम क्षेत्रमा पर्‍यो । भूकम्पका कारण १० जना मारिएको तथ्यांक छ, पूर्वी नेपालमा सयौं घर ध्वस्त भए, सयजना जति घाइते भए । भूकम्पबाट सहरका केही टोलका घरहरू र भक्तपुरमा बढी क्षति भयो । सरकारले घरघरमा राहत पुर्‍याउने घोषणा गरेपछि पूर्वी नेपालका केही पीडितहरू अहिलेसम्म ओडारमै बसेर गुजारा गरिरहेका छन् । भूकम्पविदहरूका अनुसार, धक्का झन्डै एक मिनेटभन्दा कम समयमा टुंगिएकाले काठमाडौं ठूलो जोखिमबाट जोगिएको हो । १९९० सालपछिकै शक्तिशाली मानिएको धक्काका कारण काठमाडौंका पुरातात्विक महत्त्वका संरचनामा क्षति भएन तर व्यवस्थित बस्ती विकास नगरे अबको सहर सुरक्षित छैन भन्नेमा नीतिनिर्माताहरू झस्किए ।
ढोल पिटेर बजारतिर
बाबुराम भट्टराई सरकारमा आउनासाथ तामझाम र हल्लाका साथ बजार अनुगमन भयो । मनोमानी मूल्यवृद्धि नियन्त्रण र कालाबजारियाहरू झस्किए । जिल्ला जिल्लाको अनुगमनले हदैसम्मका विकृति बाहिर ल्यायो पनि । फोहोर मिसाएर खाद्यान्न बिक्री गरेकाले न्युरोडको चर्चित कर्नर गुदपाक सधैका लागि बन्द भयो । श्रीकृष्ण गुदपाक, कन्हैया घ्यू, त्रिशल ग्यासका सञ्चालकको पनि बदमासी भेटियो । अनमोल स्विटका ८० वषर्ीय बीएल शर्मा पक्राउ परे । खानेपानीमा गड्यौला, टमाटर ससमा फर्सी, फलफूलमा विषादी भेटिए । तर सीमितबाहेक अधिकांशलाई २५/३० हजार रुपैयाँ जरिवानामा छाडियो । प्रतिपक्षी नेताहरूले प्रधानमन्त्री बाबुराम भट्टराईको आलोचनाका क्रममा 'प्रचारका लागि बजार अनुगमनको नाटक गरेको' भन्न थालेका छन् ।

प्रकाशित : पुस २३, २०६८ ११:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?