कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'...बीपीले एक गोली हिर्काउनुभयो’

काठमाडौ — पुस १ गते २०१७ का दिनको कथाको केही वर्णन आवश्यक छ । त्यसदिन बिहान भयंकर जाडो थियो । घाम लाग्ने केही आशा नै थिएन र आकाश ठूलठूला सुख्खा बादलका टुक्राहरूले ढाकिएको थियो ।

'...बीपीले एक गोली हिर्काउनुभयो’
बिहानै ६ बजे मेरो कमलपोखरीको डेराको कोठामा नेता बोधदादा आइपुग्नुभयो र मेरो खाटको एकछेउमा बस्नुभयो, मचाहिँ बिउँझेर पनि पल्टिरहेको थिएँ । केही बेरपछि चिया खाएर नित्यकर्मबाट फारग भई मेरै सरकारी मोटरबाट हामी दुवैजना सभास्थल थापाथलीतिर जाने विचार गरेर बीपीकहाँ पनि पस्दै जाउँ भन्ने उद्देश्यले प्रधानमन्त्री निवास त्रिपुरेश्वरतिर लाग्यौं । त्रिभुवन सरकारको सालिक नजिकैको सो घर त्यसबेलाको काठमाडौंको सबभन्दा राम्रो र पाइक परेको घर थियो । बीपीकहाँबाट थापाथली पुग्दा सम्भवतः ९ः३० भएको होला र मुस्किलले त्यहाँ पचास-साठी मानिस जम्मा हुनसकेका थिए । सभा १० बजेतिर सुरु हुँदा ४-५ सय मानिस जम्मा भएका होलान् । सभाको कारबाही प्रारम्भ भयो । बीपीको त्यसदिनको भाषण लिखित थियो, जो उहाँको स्वभावको विपरीत
थियो । त्यसलाई उहाँले बिस्तारै पढ्नुभयो र सो समाप्त भएको केहीपछि श्रीभद्रजीले भाषण गरिरहेका समयमा जेनरल सुरेन्द्रबहादुर शाह सैनिकका पोसाकमा आएर हामी बसेको 'डायस' वा मञ्चपछि उभिएर बीपीलाई सलाम गर्दै भने, 'हुकुम भएको
छ ।' अनि केही सेकेन्डपछि गणेशमानजीतिर हेरेर 'तपाईंलाई पनि' भने । मलाई केही ग्लानि लागेर आयो । राजाले त्यत्रा नेताहरूलाई सरसल्लाहका लागि बोलाउँदा म सारा संसदको हर्ताकर्ता सभामुखलाई के गरी बिर्सेका होलान् भन्ने सोच्दासोच्दै उनले मतिर पनि औंलो ठड्याइहाले । अनि म खुसी हुँदै बीपी र गणेशमानजीजस्तै 'डायस'को पछिल्तिरबाट हामफालेर उहाँहरूका साथ जर्नेलले इसारा गरेको गाडीमा गएर बसेँ । मलाई के थाहा कि उहाँहरू आठ वर्षपछि छुटेको लगभग दुई वर्षजति पछिमात्र मेरो रिहाइ हुनेछ ।
ललल
त्यहाँबाट बाहिर निस्कँदा पो हामीले थाहा पायौं कि सारा थापाथली पल्टनको घेरामा परिसकेको
रहेछ । हतियारबन्द पुलिसको अस्तित्व नै नरहेको सो समयमा पल्टनले नै पुलिसको सम्पूर्ण काम गरेको थियो । त्यहाँबाट एउटै जिपमा चढेका हामी ३ जना र सो जिपलाई हाँक्ने जर्नेल सुरेन्द्रबहादुर शाहसमेत चारजना सोझै सिंहदरबारभित्रको बिलियर्ड घर अगाडि ल्याइएर अडियौं, पछिपछि थापाथली घेर्ने पल्टनका अनेकानेक ट्रक र जिपहरू पनि आएर त्यहीँ हामीलाई घेरेर उभिए । बीपीलाई त्यहीँबाट हामीसँग छुट्याएर लगे । उहाँलाई बिलियर्ड घरमै प्रेमराज आङदम्बे र शिवराज पन्तसँग राखेको खबर हामीले केही दिनपछि मात्र थाहा पायौं । गणेशमानजी र मलाई, भरतकेशर र दिवानसिंहलाई र जवानसिंह गुरुङ र अन्य केही पक्राउ पर्दै गएका मन्त्रीहरूलाई धमाधम बरफबागमै ल्याउँदै गरे । ९/१० बजे रातितिर बल्ल घरहरूबाट विस्तरा, बाकस आदि आउनथाले र १० बजे पकाएको खाना हामीलाई
दिए । त्यसबेलासम्म हाम्रा एक अन्य नेता सूर्यप्रसाद उपाध्यायलाई पनि खोजखाज गरी समातेर ल्याइसकेका थिए ।
ललल
००७ सालको लगत्तैपछि एउटा महत्त्वपूर्ण घटना यहाँ छुट्न गएको रहेछ । पछि यही घटना इतिहासमा 'गोर्खापरिषद' काण्डले चर्चित हुनपुगेको थियो । २००७ सालको क्रान्तिपछि सम्झौताअनुसार राणा-कांग्रेस संयुक्त सरकार खडा भएको केही दिनमात्र भएको थियो- सहरभित्रको पुरानो म्युनिसिपल भवन अगाडिको एक घरमा हामीले नेपाली कांग्रेसको केन्द्रीय कार्यालयको स्थापना गरिसकेका थियौं । मातृकाप्रसाद कोइराला त्यसबेला सभापति र मचाहिँ महामन्त्री थिएँ । अघिदेखिकैको हाम्रो चलनअनुसार महामन्त्रीलाई चाहिँ अफिसको समयभर त्यहीँ बस्नुपथ्र्यो र सभापतिचाहिँ आवश्यकताअनुसार नै कार्यालयमा उपस्थित हुनुहुन्थ्यो । अहिलेसम्म यो चलन कायमै छ । दिनको एक बजेतिर आउने-जाने केही मानिसहरूले आज गोर्खाका संस्थापक नेता भरतशमशेरले एक ठूलो जुलुस ल्याई कांग्रेस अफिस र गृहमन्त्रीको निवासस्थान लुट्ने भएका छन् भन्ने हल्ला चलाइरहेका थिए र सो कुरा गृहमन्त्री बीपीलाई भन्न म १ बजेतिर त्रिपुरेश्वरको उहाँको निवासस्थानमा पुगेँ । त्यसबेलासम्म प्रधानमन्त्री मोहनशमशेरको निवास सिंहदरबार नै थियो र प्रधानमन्त्री लगायत सबै मन्त्रीहरूको कार्यालय उनीहरूकै घरमै थिए । गृहमन्त्रीको घरमा १ बजेतिर पुग्दा त्यहाँ गृह मन्त्रालयका ३०-३२ जना कारिन्दा अफिसरहरू तल काम गरिरहेका र माथि सुशीला भाउजू र बीपीकी मुमा श्रीमती दिव्या कोइरालाका साथ डेढ वर्षका बालक प्रकाश थिए । मैले बीपीलाई सो कुरा सुनाउँदा उहाँले त्यसो भए हामीले पनि आफ्नो व्यक्तिगत सुरक्षा गर्नैपर्‍यो भनेर बोराहरूबाट क्रान्ति सिद्धिएपछि थन्क्याइएका केही हतियार
झिक्यौं । मैले एउटा स्टेनगन झिकेँ, जसलाई चलाउने मेरो अभ्यास केही हप्ता अघिमात्र सिद्धिएको क्रान्तिमा भइसकेको थियो । हतार-हतारमा त्यहीँ रहेका र मेरै साथ रहेर काम गरेका उक्त समयका एक छात्रनेता प्रमोद कोइराला -नेकाका वर्तमान महामन्त्री सुशील कोइरालाका दाइ) ले पनि एउटा स्टेनगन टिपे । केही बेरपछि प्रमोद कोइरालाका साथ म पनि हुल्याहाहरूको जुलुसलाई तलै रोक्नुपर्छ भनी मूलढोकातिर लाग्यौं । ढोकामा पुग्न एक भर्‍याङ ओर्लनुपथ्र्यो । त्रिपुरेश्वरको त्यो घर अझै त्यस्तै छ । हामी दुवैजना आफ्ना शस्त्रहरू बोकेर तल झर्‍यौं र काठको डन्डा ठोकेको सडक र गेष्ट हाउस दुवै देखिने ढोकानिर पुग्यौं । हामी दुवैजनालाई हतियार बोकेर आएको देखेर भित्र पसिसकेका केही हुल्याहाहरू भागेर फेरि सडकतिर लागे । हामीले बाहिर जम्मा भएको १००-१५० को भीडलाई भित्र पसेका खण्डमा गोली हान्नेछौं भन्दै ढोका लायौं र त्यहीँ उभिरह्यौं । त्यसै समय सडकपारि टुँडिखेल जाने छेँडोबाट एउटा तिखो ढुंगा आएर प्रमोदलाई टाउकोमा लाग्यो र त्यसबाट छरछर्ती रगत खसेर उनको कमिज भिज्न थाल्यो । प्रमोद कोइरालाले त्यही अवसरमा मलाई अब त गोली चलाउनुपर्छ भनी सोद्धा पहिले तिमीले फायर खोल भनी मैले भन्नासाथ उनले आफ्नो स्टेनगनको घोडा थिचे । पाँच सेकेन्डपछि नै उनले अत्यन्त भयादर््र भएर भने- किसुनजी गन त चल्दैन, तपाईंंले आफ्नो चलाउनुहोस्, कत्रो दैवको विडम्बना- मेरो स्टेनगन पनि जत्तिकै घोडा थिच्दा पनि चलेन, जाम भएको रहेछ । हाम्रो त चिटचिट पसिना काढिन थाल्यो । अनि त ढुंगा-रोडाको वषर्ा सुरु भयो र हामी दुवैजना भागेर पुनः सोही एक नम्बरको गेष्ट हाउसभित्र पस्यौं । गेष्ट हाउसभित्र भर्‍याङमुनि राइफलका साथ उभिएको फौजको पालेलाई मैले तदारुकताका साथ गार्ड गर्नु र कसैलाई माथि उक्लन नदिनु भन्दै थिएँ, एक हुल मानिस त्यहाँ पसिहाले, गार्डैले केही नबोली उनीहरूले माग्नासाथ राइफल बुझाएको मैले भर्‍याङ उक्लिँदा अन्तिम खुड्किलोबाट देखेँ र कोठाभित्र पसी सो कुरा बीपीलाई भनेँ । म बीपी बस्ने सो कोठामा पस्दा त्यहाँ बीपीका परिवारका केही मानिसहरूका साथ उहाँकै अफिसका केही कर्मचारीहरू पनि थिए । लगभग ३-४ मिनेटपछि नै हुल्याहाहरूको पहिला जत्था उक्लेर माथि आयो । १२-१५ जनाको त्यस जत्थामा अघिअघि एउटा अलि कालोकालो र केही मोटो मानिस हातमा ठूलो खुँडा घुमाउँदै आएको थियो । सो मानिसलाई बीपीले भागेर तल जा, नत्र भने गोली ठोक्छु भन्दा पनि खुँडा घुमाउँदै हामी सब बसेको कोठाभित्र पस्न खोज्दा बीपीले आफ्नो पिस्तोलबाट एक गोली
हिर्काउनुभयो । साथै कारबाइन बोकेका चाबेल निवासी र हाम्रा मित्र रामेश्वरप्रसाद शर्माले पनि एकसाथ ३-४ गोली त्यसउपर चलाउनुभयो र सो बेनामी मानिस मरेर त्यहीँ ढल्यो ।
बीपीको सुत्ने कोठामा पस्न खोज्ने हुल्याहाहरूको गोलीको आवाज सुन्नासाथ सातोपुत्लो उडिसकेको रहेछ । झन् केही मिनेटभित्रै धमाधम हाम्रो कम्पाउन्डभित्र गाडीहरू पसेको देख्नासाथ ती १२-१५ जनाजति कोठाभित्र पस्न खोज्ने आक्रामकहरू पुनः टुँडिखेलको सोही छेँडोबाट माथि उक्लेर हतार गर्दै भागेर गए । मुक्ति सेनाका हाम्रा जवानहरूले धमाधम पोजिसन लिनथाले र हामीलाई छुटाएपछि टुँडिखेलतिर लगे । तिनले जसजसका हातमा राइफल देखे, त्यसको राइफल खोसेर मानिसहरूलाई चाहिँ गिरफ्तार गर्दै नजिकैको सेन्ट्रल जेल पठाउन थाले । पछि इतिहासकारहरूले यही घटनालाई गोर्खादल काण्डको संज्ञा दिएका हुन् ।
ललल
राजाकहाँ हामीलाई बोलावट भएको थियो । आन्दोलन निकै चर्किसकेको थियो र नारायणहिटी अघि ठूलठूला जुलुसहरू दिनदिनै पुग्दै गरेका थिए । गणेशमानजी गिरफ्तारीकै अवस्थामा वीर अस्पतालमा हुनुहुन्थ्यो । गिरिजाबाबु र म पनि थुनामा नै थियौं । गिरिजाबाबु वसन्तपुरको सदर पुलिस गोश्वारामा र मचाहिँ कुपण्डोलको आफ्नै डेरामा । गाडी लिएर पुलिसका अफिसरहरू लुगा लाउ, दरबार जानुपर्‍यो-हुकुम भएको छ भन्दा मैले भन्नैपर्‍यो, म पार्टीको सभापति भए तापनि मैलेमात्र यति ठूलो कुरामा निर्णय गर्नुहुन्न । फेरि गणेशमानजी हाम्राे नेता हुनुहुन्छ, अनि गिरिजाबाबु महामन्त्री, उहाँहरूसँग सल्लाह नगरी मैलेमात्र निर्णय गर्नु अनुचित हुन्छ । यसो भन्दा हामी सबैलाई एक स्थानमा भेला गराई नारायणहिटी दरबारमा लगेका थिए । दरबारमा पुग्नासाथ एकछिनमै राजा वीरेन्द्रको सवारी भयो र केही भलाकुसारीपछि नै हुकुम भयो- 'म नेपालीद्वारा नेपालीकै दिन-प्रतिदिनको हत्याकाण्ड देखेर धेरै नै दुःखी छु र यसको अन्त्य गर्न चाहन्छु ।' गणेशमानजीले हामी दुवैजनाका तर्फबाट पनि राजाको यस सदाशयताको ठूलो प्रशंसा गर्दै नेपाली कांग्रेस पार्टीको वषर्ाैं अघिदेखिको मागलाई पुनः त्यहाँ भन्नुभयो- 'नेपाली कांग्रेसको नेतृत्वमा एक सर्वस्वीकृत सरकारको स्थापना र देशका नामुद संविधानविदहरूको टोलीले राजाको संवैधानिक नेतृत्वमा देश रहनेगरी एक वर्षभित्रै प्रजातान्त्रिक संविधान तयार गरी सोही अन्तर्गत आमनिर्वाचन गराई नयाँ सरकारको गठन गर्ने ।' राजाद्वारा यी मागहरू अत्यन्त प्रसन्नताका साथ स्वीकृत भएपछि मौसुफले गणेशमानजीलाई प्रधानमन्त्री बन्ने आग्रह हाम्रोसामु गर्दा गणेशमानजीले मलाई देखाउँदै 'सरकार, कृष्णप्रसादले यी कामहरू गर्न सक्छन्, म त शारीरिक रूपले असक्त छु, दिनमा सात-आठ पटक ट्वाइलेट जानुपर्छ । त्यसउसले माफ पाउँ । कृष्णप्रसादलाई सरकारले प्रधानमन्त्रीत्व बक्सनुपर्छ ।'
यसरी सोही दिन राति मैले राजाको हातबाट प्रधानमन्त्रीको पद र गोपनीयताको सपथ लिएको
थिएँ । गणेशमानजीको म उपरको यस्तो अविचल विश्वास र निश्चल आस्था देखेर म त्यसबेला अत्यन्त द्रविभूत भइसकेको थिएँ । साथै त्यहीँ हाम्रा साथै बस्नुभएका गिरिजाबाबुतिर एकपटकका लागि पनि हेर्नसम्म नहेरी उहाँले त्यत्रो निर्णय लिनुभएको बारे विगत ११ वर्षभित्रका पार्टी र सरकार बारेका गिरिजाबाबुका क्रियाकलापउपर अहिले विचार गर्दा उहाँ कति बढी सत्यका निकट र मानिसका कमजोरीहरू बुझेको वास्तविक जननेता हुनुहुँदो रहेछ भन्ने कुरामा म अझै दिनदिनै बढी आश्वस्त हुँदैछु ।
ललल
२००७ सालको मेरो जीवनसँग सम्बन्धित एउटा घटनाको सम्झनाले पनि मलाई अमिट हर्षको र अरू कसैले मेरो पिठ्युँ नथपथपाए पनि मैले निरर्थकमा निर्दाेष नेपाली बन्धुहरूलाई आफ्नो एक्लोको निर्णयले नमारी सामुन्नेबाटै गोली चलाउँदै उनीहरूभन्दा कता हो कता कम मानिस र हतियारको उचित प्रयोग गरेर विजयी बनेँ भन्ने अनुभूति हुन्छ । आफ्नो पिठ्युँमा आफैंले ढाप दिने लोभ यही कारणले भएको हो । यहाँ के ज्ञातव्य छ भने नेपाली कांग्रेसको एकीकरण हुनुभन्दा अघि पार्टीको एक बैठकले बीपी र सुवर्णशमशेरको नेतृत्वमा एउटा स्वयम्सेवक दलको निर्माणको अठोट गरेको थियो ।
मेरो उदयपुर जाने निश्चियअघि नै सुवर्णजी र बीपीले सो जिल्ला हान्ने निर्णय गरिसक्नुभएको रहेछ र यसका लागि एक अनुभवी अफिसरलाई खटाएर त्यहाँको सारा रिपोर्ट लिइसक्नुभएको पनि रहेछ । यस्ता रिपोर्टलाई मिलिट्री भाषामा रेकी रिपोर्ट
भन्छन् । यही रिपोर्टअनुसार त्यहाँ सार्वजनिक फौजका थ्रीओथ्री राइफलवाला २५ जवान र ८५ जना मिलिसियाको ड्युटी रहेछ र उनीहरूको पिउने पानीको व्यवस्था भने एकमात्र प्राकृतिक पहाडी कुआ रहेछ, जसमा चौबीसै घन्टा भूलभूल पानी आइरहन्थ्यो । तर उदयपुरबारे पहिला रिपोर्ट त होराप्रसाद जोशीको हो, जसले सर्वप्रथम पार्टीलाई सोको एक विशद रिपोर्ट दिएका थिए । त्यसबेला जोशी कांग्रेसको एक कार्यकर्तामात्र हुनुहुन्थ्यो । सोही अफिसरका तजबिजअनुसार उक्त कुआमा एक बोतल विष खन्याएका खण्डमा सबै सिपाही र अफिसर मरिहाल्ने र जिल्ला हाम्रो कब्जामा सजिलैसाथ पर्ने र यसरी गढी कब्जा गर्ने योजना रहेछ । सो कुरा मलाई सुवर्णजीले कलकत्तामा सुनाएर भारतीय सिमान्तको जयनगर भन्ने स्थानमा गएर आदेशको प्रतीक्षा गरेर बस्ने सल्लाह दिनुभयो । सोहीअनुसार मैले उदयपुर जाने आफ्ना मानिसहरूलाई साथ लिई जयनगरमा गएर आदेशको प्रतीक्ष्ाामा बसिरहेँ । मैले माथि नै भनिसकेको छु, रुद्र गिरी र म ज्वाइन्ट कमान्डर
-संयुक्त कमान्डर) सो अपरेसनका लागि नियुक्त भइसकेका थियौं । केही दिनपछि नै सुवर्णको चिठीका साथै एउटा सानो छालाको बैगका दुई स्टेनगन र त्यसका लागि सय थान गोली आइपुगे । सो बैगमा सुवर्णजीको लाहाछाप लाइएको थियो । साथै एक बोतलमा केही खैरो-खैरो पोटासियम साइनाइड नाम गरेको नामुद विषय पनि आइपुग्यो । सो चिठीमा तीन शब्दको एक अंग्रेजी वाक्य- 'गो इन्टु एक्सन' बाहेक केही थिएन । यस आदेशको नेपाली अनुवाद कारबाही गरिहाल भन्ने हुन्छ ।
ललल
मैले माथि भनेकै छु, त्यसबेलाको मेरो पच्चीस-छब्बीसको उमेरसम्म मैले मानिसको ज्यानसम्म पनि लिइहाल्ने शस्त्रास्त्रहरू देखेकासम्म थिइन, सिनेमामा बाहेक । जयनगरमा मैले आफ्नै दलका एउटा दोस्रो महायुद्धबाट र्फकेको सिपाहीद्वारा स्टेनगन चलाउन सिकेको हुँ । रुद्र गिरीलाई सप्तरी निवासी भएकाले त्यस भेगका बाटाहरूको केही ज्ञान रहेछ र मंसिर महिनाको एकदिन भारतीय पुलिसको आँखा छलेर हामी बिहान ३ बजे नै हिँडेर लदनियाँ भन्ने नेपालको सप्तरी जिल्ला र भारतको दरभंगा जिल्लाको सिमान्त गाउँबाट ७ घन्टा पैदल हिँडेर शोभाकान्त भन्ने र आफूले जयनगरमै चिनेका एक भारतीय ब्राह्मणको घरमा ९/१० बजे बिहान
पुग्यौं । त्यहाँ दुई दिन थकाइ मारेर फेरि बिहान ३ बजेतिर कुँच गरिहाल्यौं । नेपाली प्रदेशमा पुगेपछि हतियार लुकाउने आवश्यकता पनि रहेन र हामीले आफ्ना-आफ्ना हातहरू गोलीगठ्ठा खुला तवरले झुन्ड्याउँदै कस्सिएर हिँड्न थाल्यौं ।
शोभाकान्त भारतीय सीमाभित्रका एक भारतीय नागरिक थिए, जसको नेपालीहरूसँग ठूलो सम्पर्क र सहानुभूति थियो । यिनी एक अत्यन्त उत्साही युवक थिए र ठूला-साना घटनापूर्ण खतराका कामहरू पनि गर्न चाहन्थे । यिनी केही दिनको हाम्रो सहबासमा विश्वासी मित्र पनि प्रमाणित हुँदै गए । उदयपुर हान्दा यिनी हाम्रै साथ गएका हुन् ।
ललल
नेपाल अधिराज्यका चार पुरोहितहरूमध्ये सम्भवतः मुख्य पुरोहित नै मानिने भट्टराई पुरोहित मेरा बाजे विश्वनाथ भट्टराई जंगबहादुर महाराजको निकालामा परी काशी निर्वासित हुने बेलामा श्री ५ महाराजाधिराज राजेन्द्रविक्रम शाह र कान्छी बडामहारानी श्री ५ राज्यलक्ष्मीदेवी -केही नेपाली इतिहासकारले यिनको नाम राजेन्द्रलक्ष्मी भनेर लेखेका छन्, तर यिनको वास्तविक नामचाहिँ राज्यलक्ष्मीदेवी नै हो) ले काशीबाट १२ वर्षको अध्ययनपछि तुरुन्त र्फकेका मेरा बाजे विश्वनाथ भट्टराईलाई 'तिमी हामीसँग काशी जान्छौ कि' भनी प्रश्न गर्दा 'जहाँ राजा त्यहीँ पुरेत' भन्ने उत्तर दिएकाले पकनाजोलस्थित हाम्रा तीन घरहरूको केही उचित बन्दोबस्त नमिलाई उहाँ काशी आउनुभएको हो । ती काठमाडौंमा अलपत्र परेका घरहरूलाई पछि हाम्रा बाजे-बजैले विस्तारै बेच्दै गए र अन्ततः हामी भाडा तिरेर बस्ने मानिस भएर गयौं । राजेन्द्रविक्रम शाह केही वर्षपछि काठमाडौं र्फके तापनि कोतपर्वकी वास्तविक रचयिता कान्छी बडामहारानी राज्यलक्ष्मीदेवीचाहिँ र्फकेर आइनन् । जंगबहादुरले यहीबीच राजेन्द्रका छोरा सुरेन्द्र वीरविक्रमलाई राजा बनाइसकेका थिए र यी दुवै राजा गनिने बाबुछोरा राजेन्द्र र सुरेन्द्रको वसन्तपुर दरबारको आपस्तको भनाभन त्यसबेलाको जनताले खुबै रमाइलो मानी सुनिरहन्थे । मेरा बाजे विश्वनाथ भट्टराई पनि महारानीका साथ आफ्ना साविक काम राजपुरोहितमा नियुक्ति पाएर काशी नै बस्नुभएको हो । मेरा बाजेका दुई सन्तानमात्र थिए- एक छोरा मेरा पिता संकटाप्रसाद र कर्नौलका जिमिदारका दाहाल परिवारमा दिया मेरी एक फुपू, यिनैका शाखा-सन्तान शैलेन्द्रकुमार उपाध्याय पनि हुन् । बाहिर बस्ने र भारतमा पनि व्यापार गर्ने पहाडिया परिवारहरूमा प्रसिद्ध हरिबाबु, भोलानाथ आदि यिनैका शाखा-सन्तान हुन् । अनि यिनैहरूका कताकताबाट अफिम खाने लत बसेको थियो र निजहरूका आफ्नै मामा भएकाले मेरा पिताजीलाई पनि यस नशाको सेवनको बानी पर्नगएको हो । हीराबाबुले कलकत्तामा एउटा नेपाली किताब र मालहरूको 'जेनरल अर्डर सप्लाई'को कारखाना पनि खोल्नुभएको थियो र यस 'उपाध्याय एन्ड कम्पनी'को एक शाखा बनारस दूधविनायकमा पनि थियो । हाम्रा जेठा दाइ बटुकप्रसाद भट्टराईलाई व्यापारको काम सिकाउन भनी उहाँले नै कलकत्ता लग्नुभएको थियो, जहाँबाट कलकत्ताको घोडाको रेसको घोर जुवाका सारा नचाहिँदो इलम जानेर बडा मुस्किलले उहाँ काशी पुनः र्फकनुभएको थियो । उहाँ काशी र्फकेकोमा सबभन्दा ठूलो फाइदा हामी दुई कान्छा भाइ गोपालप्रसाद र कृष्णप्रसादलाई हुनगयो, कारण के भने संस्कृत पढ्ने हाम्रा भट्टराई परिवारको चलनमा त्यही बेला 'मेटि्रक'सम्म अंग्रेजी पढ्नुभएका हाम्रा जेठा दाइ कलकत्ताबाट र्फकेर आउनुभएको र हामीलाई दिनभरिमा एउटा पुस्तक हल्लाउँदै गुरुकहाँ पाठ लिन गएको र र्फकेर बाँकी समय दिनदिनै खेलेर बिताएको देख्न सक्नुभएन र एक वर्ष घरमा नै अंग्रेजी पढाइ स्कुलमा भर्ना गराई अंग्रेजी पढाउनतिर लाग्नुभएको हो, सो नभएको भए हाम्रो जीवन खेलेरै जाने रहेछ । यही कारणले दाइ गोपालप्रसादले काशी विद्यापीठबाट पत्रकारितामा स्नातक तहको परीक्षा पास गरेका हुन् र मैलेचाहिँ काशी हिन्दु विश्वविद्यालयको अर्थशास्त्रको एमएसम्म पढ्न भ्याएको हुँ ।
ललल
नयाँ राजा आएको लगत्तै केही नै पछि एकदिन दिउसो मेरो बोलाहट भयो । जेलको बोलाहट पनि आफ्नै किसिमको हुन्छ र अन्य ठाउँको बोलाहटभन्दा बेग्लै हुन्छ । एउटा कामदारीले चारै नम्बरमा सुन्ने गरी कराउनुपर्छ । अनि त्यो जति तीव्र हुन्छ, उत्तिकै कम आदरार्थी र बढी कर्कश पनि । जेलभित्रको प्रत्येक कुना-काप्चासम्म नाम त आखिर
सुनिनैपर्‍यो । त्यसपछि मलाई नख्खु जेलमा सारिया हो । व्यवस्थाको खिलाप कहिले एक सिन्कोसम्म नभाँचेको मानिसहरूसँग अब त्यहाँ भेटघाट हुनथाल्यो । अनि यिनले आफ्नो भए-नभएको कथालाई सबभन्दा बढी क्रान्तिकारी पार्दै सबैलाई चमत्कृत तुल्याउने हावभावका साथ सुनाउन थाले । इतिहासको सम्पूर्णतया ज्ञान नभएका विचरा सामान्य जनताले यसमा आफ्नो सहमति जनाउन खुसीका थपडी पिट्दै आफ्नो गहिरो समर्थन पनि प्रकट गर्नु धेरै अस्वाभाविक भएन ।
मलाई दरबारमा पुग्नासाथ तुरुन्तै राजा वीरेन्द्रका सामु उभ्याइयो र राजाबाट हुकुम भयो- 'अघि जे भए, त्यसलाई सम्झेर बदलाको भावना राख्नुभएन, यसले कसैलाई केही फाइदा छैन । म अब आमनिर्वाचन गराउँछु र निर्वाचन उपरान्त जित्ने पार्टीलाई देशको जिम्मा दिएर आफू प्रशासनबाट विलकुलै मुक्त भएर केवल वैधानिक राजा भई बस्नेछु, निर्वाचनसम्मका लागि प्रधानमन्त्री भएर बस 'तिमीले' वा 'तिमी' भन्ने कुराचाहिँ 'पाँडे' बोलीमा भएकाले तिमीका सट्टा राजाद्वारा 'आफू' शब्दको प्रयोग भएको थियो- जस्तो मलाई लाग्छ । तर यस्तो साधारण कुरामा के तर्क ? मैले यसबारे कुरा अघि बढाउनु निरर्थक ठानेँ । २०१७ सालदेखि ०४६ सालसम्मको ३० वर्षको लामो संघर्ष र जेल-नेलको जीवनबाट लगातार कैयौं वर्ष जेल बसिसकेको कृष्णप्रसादले कहिले नचिताएको अधिराज्यको प्रधानमन्त्रीत्व प्राप्त गर्नथालेको देखेर मेरा नजिकका इष्टमित्र र नातागोता त भइहाले, सारा देश र बाहिर बस्ने र चौथाइ शताब्दीभन्दा बढी राजाको एकछत्र कडा शासन भोगिसकेका लाखौंका संख्याका आमजनता पनि सो अवसरमा अत्यन्त खुसी भएका थिए । यसमा अध्यक्ष गिरिजाप्रसाद कोइरालाको पूर्ण सहमति थियो । किनभने राजासँग जम्मै कुरा हुँदा उहाँ त्यहीँ उपस्थित हुनुहुन्थ्यो र यसको अभिव्यक्ति सारा देशमा उठेको एक ठूलो सम्मिलित उल्लासले नै प्रकट गथ्र्यो । महिनौंसम्म देशको कुनाकाप्चामा साना-ठूला सैकडन् आमसभाहरू हुनथाले र त्यसमा राजाले देशलाई यत्रो ठूलो त्याग गरेर बचाएको भनी प्रजातन्त्र जिन्दावाद, जनवादी राजा जिन्दावाद भन्ने नारा जताततै घन्किँदै गयो ।
प्रधानमन्त्री हुँदा मेरो उमेर ६५ वर्ष पुगिसकेको थियो । म २०२७ सालमा जेलबाट छुटेको केही दिनपछि नै राजा महेन्द्रको अवसान भयो र प्राइमरी कक्षादेखि नै सम्पूर्णतया अंग्रेजी पढाइ भएका युवाराजा वीरेन्द्रको जिम्मा राजगद्दी पर्‍यो । मौसुफसँगको लामो र अत्यन्त सुखद सहबासमा भाषा लगायत अन्य कुनै कुरामा पनि मतान्तर रहेको मैले भेटिन । मैले जानेको वीरेन्द्र राजा परम्परागत मान्यताको अत्यन्त आदर गर्ने एक भलाद्मी व्यक्ति होइबक्सिन्थ्यो र देशभक्तिपूर्ण नम्रताले ओतप्रोत मौसुफको जीवन सबैका लागि एउटा अत्यन्त नै अनुकरणीय व्यक्तित्व थियो ।
यस्तो विचित्रको परिस्थितिमा मलाई राजाले बोलाएर ल प्रधानमन्त्री भएर अब देश जसरी चल्छ, त्यसैगरी चलाउनुपर्‍यो भनेर पाँडे बोलीले अर्डर-हुकुम वा अनुरोध जे भनौं- गर्दा मैले ना भन्ने ठाउँ कतै, कहीँ देखिन । जनताको मानिसले चुनाव लडेर अनि जितेर पनि आएपछि राष्ट्रप्रमुखले औपचारिक रूपमा बोलाएर ल अब शासन गर भन्दा मैले ना भनेर छोड्दा पनि अन्य दलहरूले स्वीकार गरेर सरकार चलाउँदा हाम्रो पार्टीले विरोधमा बसेर कुन मुखले यो भएन त्यो भएन भनेर हिँड्ने ? मैलेचाहिँ पार्टीमा यो कुरा सोझै राख्दा हाम्रा नेता गिरिजाप्रसाद जो स्वयम् पनि मेरासाथ राजासँग सम्पूर्ण वार्ता हुँदा उपस्थित हुनुहुन्थ्यो, उहाँले पनि त्यसको समर्थन गर्नुभएको थियो । यसरी पहिलोपटक म देशको प्रधानमन्त्री बनेको हुँ ।
६५ वर्षको उमेरमा प्रधानमन्त्री भएर पनि मेरो कार्य गर्ने क्षमताको केही त्यत्रो ह्रास भएको थिएन र म पहाड-मधेस रुचाएरै हिँडडुल गर्न सक्तथेँ ।
प्रधानमन्त्री भएर राजासँग मेरो पहिलो भेटमा नै देशको स्थितिबारे निकै लामो कुरा भएर तीन मुख्य प्वाइन्ट वा मुद्दामा कुरा टुंगिएको थियो । ती के थिए भने जुनसुकै अवस्थामा पनि नेपालमा हामीले प्रजातन्त्र कायमै राख्ने एक, दोस्रोचाहिँ वर्ष दिनभित्र देशमा सार्वभौमसत्ता सम्पन्न र बालिग मताधिकारका आधारमा एक मानिस एक भोट सुविख्यात चलनअनुसार सम्पूर्ण रूपले निर्वाचित पार्लियामेन्टको स्थापना र तेस्रोचाहिँ जुनसुकै दलका हातमा बहुमत गए पनि व्यवस्थालाई सम्पूर्ण शक्तिका साथ सफल तुल्याउन सबैले मद्दत गर्ने । बीचको एक वर्षको अन्तरिम समयका लागि एक सरकारको स्थापना हुने भयो ।
त्यस अवसरमा राजाले अरू कसैलाई केही भनिहाल्नुभन्दा अघि कृष्णप्रसाद भनी मतिरै औंला ठड्याई देखाउँदा मैले खुसीसाथ स्वीकार गरेको हुँ र सम्भवतः त्यही भावी इतिहास रचनाका लागि मैले १४ वर्ष काठमाडौंको सेन्ट्रल र नख्खु जेलमा बस्नुपरेको थियो ।
ललल
नयाँ युवराजा वीरेन्द्र सरकारका विषयमा आफ्ना धारणा व्यक्ति गरिसकेको छु । मेरो मौसुफसँगको अन्तरिमकालको वर्षदिनको लामो सहबासका अवसरमा मतभेदका अवसरहरू नआएका होइनन्, मौसुफमा नेपालको त्यसबेलासम्मको इतिहासमा सबभन्दा बढी शिक्षित राजा भएको केही अभियान र तुजुक थियो भने मैले पनि एक अत्यन्त साधारण र निर्धन ब्राह्मण परिवारमा जन्मेर आफ्नै प्रयत्न र साहसले स्कुलको एक क्लासदेखि विश्वप्रसिद्ध विश्वविद्यालय काशी हिन्दु विश्वविद्यालयमा रहेर एमए अर्थशास्त्रको अन्तिम वर्षको पढाइ पूरा गरेको थिएँ ।
अन्तरिमकालको तोकिएको र सबैले थाहा पाएर घोषित भइसकेको केवल एक वर्षभित्र बालिग मताधिकारका आधारमा देशभरिका सबै मतदाताहरूलाई आमनिर्वाचनमा उभिएर वा मतदान गरेर भाग लिनेगरी चुनाव सम्पन्न गराई त्यसरी निर्वाचित सरकारलाई सत्ता सुम्पने अधिकार पाएको र देशभरि नै सबभन्दा बृहत पार्टी भनी चिनिएको नेपाली कांग्रेसको नेतामा गनिएको कृष्णप्रसाद भट्टराईलाई अब निर्वाचित हुनबाट कसले रोक्न
सक्ने ? म लगायत सारा नेपाली जनता सम्पूर्ण रूपले प्रजातान्त्रिक र अत्यन्त योग्य विधान निर्माता विश्वनाथप्रसाद उपाध्याय पनि अब कांग्रेसको हातमा रहनेछ भनेर ढुक्क थिएँ । तर 'मेरे मन कछु और है, कर्ता के मन कछु और' भनेजस्तै भएर चुनाव परिणाम आउँदा कांग्रेसले त बहुमत प्राप्त गर्‍यो, तर म भने केही भोटको सानो अन्तरले हारेँ ।
ललल
अनि जो स्वाभाविक थियो, त्यही भयो । भट्टराई नभएपछि गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुनुभयो र यसरी हाम्रो देशमा एकैपिता कृष्णप्रसाद कोइरालाका तीन स्वनामधन्य छोरा सर्वश्री मातृकाप्रसाद कोइराला, विश्वेश्वरप्रसाद कोइराला र गिरिजाप्रसाद कोइरालाले देशको प्रधानमन्त्रीको सबैले नै इच्छा राखेको गौरवमय पद प्राप्त गर्न समर्थ भएर एक अभूतपूर्व उदाहरण विश्वकै सामु प्रस्तुत गरे ।
ललल
भन्नैपर्ने कुरा के छ भने गिरिजाबाबुको केही गरी पनि आफू प्रधानमन्त्री हुनपाउँ भन्ने इच्छा थिएन, त्यसबेलासम्म, उहाँका परिवारका मानिसहरूको इच्छा जुनसुकै भए तापनि । मैले लगायत अन्य धेरै साथीहरूको भनाइका कारणले नै उहाँले त्यस पदलाई स्वीकार गर्नुभएको हो । पछि गएर भने त्यस महत्त्वपूर्ण पदका लागि उहाँको रस बस्दै गएकाले तृष्णा पनि बढ्दै गयो, अस्तु । यसरी गिरिजाबाबु देशको प्रधानमन्त्रीमा र मचाहिँ पार्टी अध्यक्षको महत्त्वपूर्ण पदलाई आपस्तमा बाँडेर काम गर्नथालेको जस्तो भान पर्न थाल्यो ।
ललल
बीपीउपर मेरो सम्पूर्ण विश्वास थियो र उहाँले पनि मेराउपर पूरा विश्वास राख्नुहुन्थ्यो । वर्तमान अध्यक्ष गिरिजाबाबुसँग उहाँ बीपीकै सहोदर भाइ भए तापनि मेरो सो किसिमको सम्बन्ध रहेन र उहाँले मलाई छाडेर बेग्लै बाटो जाने निर्णय गर्नुभयो ।
यसरी पार्टी अधिवेशन उपरान्त अहिले हामीतिरका अध्यक्ष पश्चिमका एक नवोदित युवानेता शेरबहादुर देउवा निर्वाचित हुनुभएको छ भने उतातिर चाहिँ गिरिजाबाबुले स्वयम् आफैं अध्यक्षता ग्रहण गर्नुभएको छ ।
अहिलेको देशको परिस्थिति जटिल बन्दै गएको छ । सारा देश र विश्वले नै मानेको हाम्रो देशको राजपरिवारभित्रको आपसी वैमनस्यजन्य मारकाट र दुर्भावनाका बीच नयाँ राजाले पनि एकतन्त्रीय राणाहरूले जस्तै सरकार चलाउने निधो गरेर बाह्र वर्षसम्म एक सम्पूर्ण रूपले प्रजातान्त्रिक परम्परा बसिसकेको देशमा पुनः आफ्नै एकलौटी शासन स्थापित गरेका छन् । यो के गरी र कति चल्ने हो, त्यो कसैलाई थाहा छैन । निरंकुश र राजतन्त्र र प्रजातन्त्र स्थापनाको भावी युद्धमा हाम्रो देशमा राजतन्त्रको सार्थकता वा भनौं उपयोगिताकै बारेमा पनि एक निकै टड्कारो प्रश्नचिह्न त लागिसकेको नै छ ।
भगवानले गरुन्, मेरो यस्तो आशंका निर्मूल भएर जाओस् र कालान्तरमा राजतन्त्र र देशको प्रजातन्त्र एक भएर हातेमालो गर्दै साथसाथ अघि बढुन्, तर लक्षणचाहिँ बेग्लै देखिन्छन् ।
-शनिबार सार्वजनिक हुने पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको आत्मकथा 'मेरो म' का सम्पादित अंश)

प्रकाशित : पुस १७, २०६७ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?