कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राजनीतिक विकासक्रमको दस्ताबेज

काठमाडौ — तीन युवा कांग्रेसले संकलन र सम्पादन गरेको यो पुस्तकले कांग्रेसको नीति र कार्यक्रममा आएको परिवर्तन बुभmन मद्दत गर्छ । पार्टी स्थापनादेखि अहिलेसम्मका दस्तावेज एउटै पुस्तकमा समेटिइएको छ ।

नेपाली कांग्रेस आधुनिक नेपालको राजनीतिक इतिहासभन्दा पुरानो पार्टी हो । यसले गरेको २००७ सालको क्रान्तिपछि नै नेपालमा आधुनिक राजनीति अघि बढेको हो । उक्त क्रान्ति कांग्रेस एक्लैले गरेको थियो भने २०४६ र २०६२/६३ का जनआन्दोलन पनि यसै पार्टीको नेतृत्वमा भए । यसबीचमा कांग्रेसले जुन आरोह-अवरोह पार गर्‍यो, त्यही गोरेटोमा नेपाली राजनीति हिँडेको छ । यसै पार्टीका ३ युवाले हालै 'नेपाली कांग्रेस ऐतिहासिक दस्ताबेजहरू' नामक पुस्तक प्रकाशन गरेका छन् ।
कांग्रेस केन्द्रीय सदस्य गगन थापासहित प्रताप पौडेल र शंकर तिवारीले संकलन तथा सम्पादन गरेको पुस्तकलाई 'पब्लिक पोलिसी पाठशाला प्रालि'ले बजारमा ल्याएको हो । 'कांग्रेस केन्द्रीय कार्यालयले यो काम उहिल्यै गर्नुपथ्र्यो । तर बेलैमा यस्तो काम गर्न सकेको भए कांग्रेस ओरालो किन लाग्नुपथ्र्यो,' पुस्तकको भूमिकामा प्रदीप गिरिले भनेका छन् । २०१५ को आमनिर्वाचनमा दुईतिहाई, २०४८ र २०५६ मा बहुमत ल्याएको पार्टी २०६४ को संविधानसभामा नराम्ररी पराजित भएको सन्दर्भमा संकलित दस्ताबेजहरूको अध्ययनले हिजोको बलियो कांग्रेस आज किन खिइँदै गयो भन्ने विश्लेषण गर्न सघाउँछ । कांग्रेसले दिएका नारा बोकेर अरू पार्टी क्रान्तिकारी बनेर कांग्रेसलाई यथास्थितिवादी भन्दै छन् भन्ने कुरा आधा शताब्दीअघि कांग्रेसले लिएको नीति र कार्यक्रमको दस्ताबेज हेर्दा ज्ञात हुन्छ ।
पुस्तकमा कांग्रेसका ५ दर्जनभन्दा बढी दस्ताबेजहरू छन् । २००३ मा बीपी कोइरालाले पार्टी निर्माणका लागि गरेको आह्वानदेखि २०६६ को महासमिति बैठकको मुख्य राजनीतिक प्रस्तावसम्म यसमा संग्रहित छन् । पार्टीको पहिलोदेखि एघारौं महाधिवेशन र महासमिति बैठकका दस्ताबेजहरू पुस्तकमा पढ्न पाइन्छ । बीपीले २०३३ मा राष्ट्रिय एकता तथा मेलमिलापका सन्दर्भमा देशवासीका नाममा गरेको अपिललगायतका महत्त्वपूर्ण मन्तव्यहरू यसमा समेटिएका छन् । सुरुमा पार्टी मिल्नुअघि नेपाली राष्ट्रिय कांग्रेस मात्र नभएर नेपाल प्रजातन्त्र कांग्रेस र २०५९ मा फुटी पुनः जुटेको नेपाली कांग्रेस -प्रजातान्त्रिक) को दस्ताबेजलाई पनि यसले स्थान दिएको छ । विभिन्न निर्वाचनका घोषणापत्र र पार्टी विधान पनि पुस्तकमा छन् ।
क्रमबद्ध दस्ताबेजले समाज र राजनीतिक विकासक्रम जान्न मद्दत पुर्‍याउँछ । उतिबेला कांग्रेसले तत्कालीन शासकप्रति गरेको प्रश्न अहिले उसैप्रति तेस्र्याउन बाध्यसमेत तुल्याउँछ । 'एकातिर काठमाडौंका नयाँ युरोपियन छाँटका राजमहल, दरबार, युरोपबाट लाखौं रुपैयाँमा झिकाइएका महाराजका शालिकहरू, अर्कोतिर पत्थरझैं साह्रो भूमिमा कुटो कोदालो गरी बस्ने ढिंडे पाखे, नेपाली । कस्तो लाज मर्नुपर्ने अन्तर छ,' नेपाली राष्ट्रिय कांग्रेसको प्रथम महाधिवेशन दस्ताबेजमा भनिएको छ, 'यसमा दोष कसको, अपूर्व साधनसम्पन्न हुँदाहुँदै पनि हाम्रो देश र समाजलाई अशिक्षा, दरिद्रता र अधोपतनको अँध्यारो कैदखानामा सडाउनमा दोषी को ? निश्चय नै हाम्रा शासकहरू ।'
अहिले कांग्रेस पटकपटक सत्तामा पुगिसकेको छ । तर, छ दशकपछि पनि जनताका गुनासा फेरिएका छैनन् । यी दस्ताबेजहरूले त्यसको लेखाजोखा गर्न मद्दत पुर्‍याउँछन् । आज देशमा गणतन्त्र आएको छ, अधिनायकवादी राजालाई जनताले नरुचाएर । 'ईश्वरको अंश नभई राजा हुन्न भन्ने पाखण्डको जमाना गइसक्यो । आफ्नो कर्तव्य नबुभ्fm्ने राजा प्रजाको शत्रु हो । त्योसित आफ्नो अधिकार नखोज्नु प्रजाको नपुंशकता हो,' ६ दशकअघि सोही महाधिवेशन दस्ताबेजमा भनिएको छ ।
पुस्तकमा २००८ मा त्यतिबेला कांग्रेसलाई केन्द्रबाट बायाँपट्ट िहिँडाउन चाहने नेताहरू बालचन्द्र शर्मा, केदारमान व्यथित र भरतमणि शर्माले पार्टी प्रस्तावका रूपमा तयार पारेको लोकतान्त्रिक समाजवादी घोषणापत्र पनि समावेश छ । 'हाम्रो लक्ष्य पुरानो सामन्तवादी प्रथालाई समूल नष्ट गरी धर्म, जाति, वर्ण, लिङ्ग निरपेक्ष युगानुकूल लोकतान्त्रिक समाजवादी व्यवस्थामा पुग्नु हो,' उक्त घोषणापत्रमा भनिएको छ, 'क्रान्तिको अभिप्राय नै भूमिमा स्थायी अधिकार नभएका ७५ प्रतिशत निम्नस्थ वर्गलाई सम्मुनत पार्नु थियो र जबसम्म यस्तो हुन्न हाम्रो क्रान्ति पूरा भएको मान्न सकिन्न ।'
कांग्रेसले २०१२ मा वीरगन्ज महाधिवेशनबाट प्रजातान्त्रिक समाजवादी घोषणापत्र जारी गर्‍यो । 'नेपालको अर्थनीति सामन्ती अर्थनीति हो । आर्थिक समस्याको सुधार भूमिमाथि सामन्ती अधिकारसँग छ । किसानलाई भूमिस्वामी बनाउन ठोस कदम चाल्नुपर्छ,' भन्यो । जमिनमाथि जोत्नेको अधिकारका लागि वकालत गर्‍यो । प्रजातान्त्रिक पद्धतिद्वारा पूर्ण समाजवादी व्यवस्था स्थापना गर्ने लक्ष्य लियो । यही घोषणापत्रलाई आजसम्म आफ्नो कोसेढुंगा ठान्ने कांग्रेस इतिहासमा कहाँ, कसरी र किन चुक्यो ? हरहिसाब केलाउन चाहनेलाई पुस्तकले टेवा पुर्‍याउँछ ।
अझै कतिपय महत्त्वपूर्ण दस्ताबेजहरू समेटिएका छैनन् । सायद संकलकहरूले आगामी संस्करणमा समेट्ने प्रयास गर्नेछन् । केही मुद्राराक्षसी त्रुटिहरू भेटिन्छन् । दस्ताबेजहरू क्रमबद्ध राखिएका छन् । पहिले वर्गीकृत गरेर क्रमबद्ध गरेको भए पाठकलाई अझ बढी सुविधा पुग्ने थियो । केही दस्ताबेजका सन्दर्भ अलि खुलाइएका छैनन् । सम्पादकहरूले त्यतातिर ध्यान पुर्‍याएको अलि पाइँदैन ।

प्रकाशित : पुस १७, २०६७ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?