कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुदूरपश्चिममा पहिलो पाइलो

युग पाठक

काठमाडौ — मोटरसाइकलको 'दुर्घटना' नै हवाइजहाजको पहिलो 'घटना' हुँदोरहेछ । मोटरसाइकलले जमिन छोड्दा दुर्घटना हुन्छ तर हवाइजहाजले जमिन छोड्दा सामान्य घटना हुन्छ ।

यती एयरको विमान चढेर धनगढी उड्दै गर्दा मनमा यस्तै प्रकारको रोमाञ्च थियो । आखिर रोमाञ्च पनि कुनै न कुनै विचारकै परिप्रेक्ष्य त हो ।
रोमाञ्चको अर्को पाटो आश्चर्य हो । आश्चर्य 'पहिलोपन'भित्र लुकेको हुन्छ । पहिलोपटक प्रेम गर्नु, पहिलोपटक कुनै नौलो घटनाको साक्षी हुनु, पहिलोपटक हवाइजहाज चढ्नु, पहिलोपटक हवाइसुन्दरीले उडिरहेको विमानभित्र ओहोरदोहोर गरेको हेर्नु, यस्तै... यस्तै... । अर्थात् म पहिलोपटक हवाइजहाज चढ्दै थिएँ । डिसेम्बर ९, सन् २०१० यसैले मेरानिम्ति रोमाञ्चक थियो । यही पहिलोपनमा थपिएको थियो मेरो पहिलो सुदूरपश्चिम भ्रमणको संयोग पनि । संयोगका सारथी थिए उमेरले साठी नाघेका तर जाँगरले जब्बर लेखक खगेन्द्र संग्रौला ।
खगेन्द्र दाइले भने, 'तपाईं त अझै आदिममानव हुनुहुँदो रहेछ पाठकजी ।'
मैले मुस्कुराएर स्वीकार गरेँ र भनेँ, 'यो जोग्राफिकल मिस्टेक हो दाइ । झापाको पृथ्वीनगरमा छँदा कन्काई बसलाई हवाइजहाजसरह ठान्ने चलन थियो । हेटौंडामा बस्न थालेपछि राजधानी नै दुईचार पहाडको दूरीमा आइपुग्यो । मोटरसाइकल नै काफी भएपछि हवाइजहाजलाई आकाशमा हेरेरै चित्त बुझाइयो ।'
हवाइजहाजको झ्यालबाट हिमालका शृंखलाहरू देखिएका थिए, पहाडहरू फुच्चिएका थिए, बादलको साम्राज्य तलै थियो । तर रोमाञ्चकताभित्र कताकता डर मिसिएर मनभरि ढकमक्क ढाकिएको थियो । बिल्कुल निडर देखिन्थिन् हवाइसुन्दरी । घरी चकलेट बाँड्दै आउँथिन्, घरी नुनिलो बदाम । मर्नु शाश्वत सत्य हो र डरको सबैभन्दा गहिरो स्रोत पनि । हवाइसुन्दरीलाई हेर्दाहेर्दै म छापामार सुन्दरीहरू सम्झन्थेँ । मृत्युलाई जितेको अभिमानले ओतप्रोत, समाज बदल्ने प्रेरणाले उत्सर्गको उचाइ हासिल गरेका सुन्दरीहरू । जीउज्यानको सुन्दरतालाई ताज पहिर्‍याउने शेठहरूलाई कत्रो व्यंग्य π
सुदूरपश्चिमको माटोमा मेरो पहिलो पाइलो हवाइजहाजबाट उत्रिएको पाइलो बन्न पुग्यो । अनि त अनुभवका हरेक तरेलीहरू सुदूरपश्चिममय भए, जसरी धनगढीमा सुदूरपश्चिम एउटा ट्याग जस्तो पसलपसलमा टाँसिएको छ । हामीलाई विमानस्थलसम्म लिन आइपुगेका रमेश बस्नेतजीले जति धनगढी घुमाउँदै जान्थे, सुदूरपश्चिम अझ बेजोड बिम्वजस्तो लाग्न थाल्थ्यो । संयोगबस सुदूरपश्चिम महोत्सव पनि चलिरहेको बेला परेछ र मुख्य नारा रहेछ 'सुन्दर सुदूरपश्चिम' । कैलाली उद्योग वाणिज्य संघका महासचिव मोहन शर्माले उत्साहपूर्वक हामीलाई महोत्सव घुमाए, मञ्चमा लगेर माला पहिर्‍याए र एक बिटो 'सुन्दर सुदूरपश्चिम' शीर्षकअन्तर्गतका पोस्टरहरू उपहार दिए । खगेन्द्र दाइले कानेखुसी गर्दै भने, 'प्रकृतिले दिएका कुराबाहेक हामीसँग मानवीय विकास के नै पो छ र देखाउन ?' क्यामरामा कैद गरिएका विस्मयकारी प्राकृतिक सुदूरपश्चिमका अलावा अनौठा सुदूरपश्चिमेली परिकारका नाम थिए ः गतानी डुप्का, फाउने माडा इत्यादि । मेलामा थारू संस्कृतिलाई सुदूरपश्चिमेली पहिचानको एक आयामसरह व्यवहार गरिएको तथ्यले समाजमा आएको परिवर्तनको छनक दिन्थ्यो । घुँगीदेखि मुसासम्मका परिकारहरू गर्वका साथ प्रदर्शन गरिरहेका थारूहरू नयाँ नेपालका विम्बजस्ता लाग्थे ।
रमेशजीको मोबाइल बजिरहन्थ्यो । उनका आफ्नै रहस्यहरू थिए, नेपथ्य र पृष्ठभूमि थिए । हेटौंडाका पाका पत्रकार र शिक्षक कौशल पाण्डेले सिकाएको एक मन्त्र सम्भिmरहन्छु, कम्युनिस्ट हुनु भनेको सजिलो हुनु हो । रमेशजी सजिला रहेछन् । नेपथ्यमा रहेका रहस्यहरू उनले मन फुकाएर खोले । संकटकालका भुक्तमान, लडाइँका विद्रुप चित्र, कैलालीले भोगेको युद्ध π लडाईंका घाउहरू यत्रतत्र छन्, मलम लगाउने जिम्मेवारी पाएकाहरू अन्तै बरालिएको अनुभूति गाउँठाउँमा व्यप्त छ । युद्धका अवशेषहरू जीवित छन् तर काठमाडौंमा अर्कै खालको घाम लाग्छ र अर्कै खालको साँझ पर्छ । 'सुदूरपश्चिम' शब्दमा अपनत्व र गौरवबोध गर्ने कैलालीका मानिसहरूको मनमा प्रतिरोधी इतिहास चेत खचाखच भरिएझैं लाग्थ्यो । धनगढीबाट साठी किलोमिटर पूर्व हाइवेको किनारमा बसेको गाउँ मसुरियामा यस्तै इतिहास चेत ब्युँझिएको रहेछ । नत्र मसुरियाको नागरिक समाज अन्तर्राष्ट्रिय मानवअधिकार दिवस मनाउन कम्मर कसेर किन लागेको होला त ? किन हामीलाई डाकेर रङ्गमय मानवअधिकार दिवसको रचना गर्दै थियो त ?
दस डिसेम्बरको प्रारम्भ नै यसप्रकार भयो कि मानवअधिकारका सारा परिभाषाहरू क्ष्ातविक्षत हुँदै अक्षर-अक्षर उछिट्टएिर छरिएको आँगनमा हामी उभिएका थियौं । धनगढी-३, बोराडाँडीस्थित एउटा उदास घरको बरन्डामा पसारिएको 'शुभप्रभात' घाम बडो बेस्वादिलो थियो । रातो पछ्यौरा ओढेकी एक युवती र पाइन्टको खल्तीमा हात घुसारेर नीरस आँखाले हामीतिर हेरिरहेका युवाहरू, यत्रतत्र छरिएका चप्पलहरू, भित्तामा अडेस लगाएर राखिएका भाँडाकुँडा । सालाखाला दृश्य यस्तै हो तर अनुभूति बेग्लै थिए । हामी क्यान्टोनमेन्टबाट बाहिरिएका छापामारहरूको अस्थायी बसोवासमा पुगेका थियौं ।
सुदूरपश्चिमले नयाँ नेपाल निर्माणको अभियानमा धेरै रगत बगाएको छ । सपनाहरूको फूलबारी हुर्काएको छ । ताजा इतिहासको अनुहारमा सुदूरपश्चिमको बान्की पनि मिसिएको छ । तर त्यो घरमा हामी सुन्दर सुदूरपश्चिमको असुन्दर अनुहार हेर्न पुगेका थियौं । ती पूर्वछापामारहरूको अनुहार हेर्नेबित्तिकै मलाई गोपालप्रसाद रिमालको कविता 'आमाको सपना' याद आयो । रिमालकी 'आमा'ले कल्पना गरेझैं उनीहरू हुरीजस्तै आएका थिए अथवा हुरीजस्तै आएका योद्धाहरूलाई पातजस्तै पछ्याएका थिए । पाखापर्वत सबैलाई चनाखो बनाएका थिए, निर्जन एकान्तलाई सुसेलीले ब्युँझाएका थिए । तर त्यस्ता योद्धाहरू बसेको त्यो घर बडो उदास लाग्थ्यो मानौं सपना देख्न छोडेको थियो पूरै समाजले र शिशिरयामले सपनाका हरेक रूखबाट पातहरू खसालेको थियो ।
एउटा कोठाभित्र पलेँटी मारेर बसेपछि भरत रोकाया 'आकाश'ले संक्षेपमा आफ्ना कुरा सुनाए । उनीहरूका 'आफ्ना कुरा' विस्मयकारी ढंगले तत्कालै बदलिएर 'विराना कुरा' हुन्थे । आफ्नो-विरानोको यस्तो संगम नौलो थियो, कहिल्यै अनुभूत नगरिएको यथार्थ । हाम्रा अघिल्तिर बसेका युवायुवतीका आँखाबाट सपनाहरू कसैले खोसेको थियो, मुहारबाट चेहरा कसैले चोरेको थियो, ओठहरूबाट मीठास कसैले हरण गरेको थियो । सुदूर गाउँहरूबाट फिलिङ्गोझैं उडेका उनीहरूले समाजलाई मात्र बदलेका थिएनन्, आफैंलाई पनि बदलेका थिए । अनुभव र अनुभूतिको नौलो चातुर्य आविष्कार गरेर उनीहरू नयाँ बनेका थिए । जीवनका रंगढंग, ढपढाँचामा नयाँ कारिगरी खोपेर घाम र जूनका फरक नक्सा उतारेका थिए उनीहरूले । पार्टी जीवनमा नौला नौला पद्धति, आचारव्यवहार र स्वादहरू रचेका थिए । पछि क्यान्टोनमेन्टको आविष्कार अझ नौलो थियो ।
तर क्यान्टोनमेन्टबाट बाहिरिनुपर्ने दिन फुलेको फूल निःसन्देह विषालु मग्मगाएको थियो उनीहरूका निम्ति । राजनीतिक लेनदेनको तमसुक नेपथ्यमा हस्ताक्षरित भयो र उनीहरूको बहिर्गमनको ट्याग बन्यो 'अयोग्य लडाकु' π हो, त्यस दिन विडम्बनाको कुर्सीमा भूपीको 'अन्धोमान्छे' बसेको थियो । उनीहरूले भने, 'मान्छेलाई नाप्ने कसी के हो थाहा भएन । हामीलाई प्रश्न पनि खासै केही सोधिएको थिएन । कुन प्रश्नमा कहाँ चुकियो थाहै भएन ।' उनीहरूलाई थाहै भएन कुन जवाफले उनीहरूलाई 'अयोग्य' बनाएको थियो । जसले निरंकुशताका रक्तमुछेल नङ्ग्रासँग पौंठोजोरी खेल्यो, त्यो अयोग्य तर जो जनआन्दोलनको सुरक्षित सागरभित्रसमेत घुस्ने हिम्मत गर्न सकेन त्यो सरकार चलाउन योग्य भयो । वर्तमानको यो विडम्बनाले भविष्यको रेखांकन गरिरहेको छ र इतिहासको उपहास π
भविष्यको आँकलन गर्दा वर्तमानका विडम्बनाहरूको नापजोख गर्नु जरुरी हुन्छ । विडम्बनाका किरिङमिरिङ आकृतिहरूको जालो बढ्दै गए क्यालेन्डर फेरिँदा वर्ष फेरिइहाल्दैन । समयको अन्तर्य फेर्ने लडाइँ थियो कुनै बेला, तर त्यो दिन त्यहाँ समय पहरोजस्तो निर्वस्त्र र रूखो थियो । अजस्र अभियानहरूको हिँडाइ अकस्मात अनन्त बिसाइसरह भएको थियो । 'उनीहरूको अनुहारमा कान्ति छैन, गाढा छाया मात्र छ । भविष्यप्रति कुनै आशा छैन, निगूढ निस्तब्धता मात्र छ', खगेन्द्र दाइले मलीन मुद्रामा टिप्पणी गरे । त्यो भयावह दृश्य थियो । उनीहरूको अनुहारमा यस्तो निराशा सुहाएको थिएन । रिमालकी 'आमा'का सन्तानहरू यसरी शनैः शनैः विक्षिप्ततातिर लम्केको हेर्न कसरी सकिन्छ ? सारथीहरू स्वयम् गन्तव्यहीन भएको दृश्य देशको स्वास्थ्यमाथिको गम्भीर प्रश्नचिह्न हो ।
उनीहरू बसेको घरमा ३५ जना बस्छन् । यसगरी सामूहिक बसोवास गर्ने पूर्वछापामारहरूको डेरा सुदूरपश्चिमका विभिन्न ठाउँमा रहेको जानकारी हामीले पायौं । डेराभाडा भने माओवादी पार्टीले तिरिदिने गरेको रहेछ तर उनीहरू पार्टी कमिटीमा जोडिएका रहेनछन् । त्यसैले सम्पूर्ण दिन अज्ञात भविष्यको प्रतीक्षा हुँदोरहेछ, यस्तो अनुष्ठान जो जिन्दगीको लम्बाइ, चौडाइ र गहिराइ नाप्नुको टड्कारो अनुभूतिले ग्रस्त छ । समयलाई फलमय बनाउने मात्र होइन अधिकतम बिर्सने अभ्यासमा जिन्दगीको आनन्द हुन्छ । त्यही आनन्दको प्राप्तिका लागि तमाम श्रम र संघर्षका गाथाहरू बन्छन् । निरन्तर समयको आभास हुनु कठिनतम कुरा हो । उनीहरू त्यही कठिनता भोगिरहेका थिए ।
समयको टड्कारो आभासले उनीहरूलाई पटकपटक क्यान्टोनमेन्टबाट बाहिरिएको क्षण सम्झाइरहन्छ । भत्ता र गाडीभाडास्वरूप बुझेको पैसाले केही सरसामान किनेर घर पुगेपछि गाउँघरमा उनीहरूलाई सोधियो, 'तिमेरको काम सिद्धियो ?' भरतले सुनाए, 'गाउँमा त इन्डियाबाट फर्केको लाहुरेलाई जस्तै व्यवहार गरे । रिटायर्ड आर्मीझैं ठाने । हामी त क्रान्ति गर्न हिँडेका थियौं । यही देशमा थियौं । लाहुर गएको कहाँ हो र ?' तर गाउँमा परिस्थिति फरक भइसकेको थियो । एक पत्रकार मित्रका अनुसार पुनस्र्थापित भएका पुराना साहु-महाजनले पनि उनीहरूलाई टिक्न नसक्ने स्थिति निर्माण गरेका थिए । घोषित 'अयोग्य'का रूपमा उनीहरू कसरी गाउँमा रहन सक्थे ? त्यो बिझ्ने काँडा थियो, निकै विषालु । त्यसको विषले उनीहरूलाई अहिलेसम्म सताइरहेको छ । उनीहरूको रेखदेखको जिम्मा पाएका माओवादी कार्यकर्ता टीका तिमल्सिना उनीहरूका निम्ति वैकल्पिक उपाय खोजिरहेका छन्, तर जसले खोज्नुपर्ने हो उनीहरूको त ध्यानसम्म यता तानिएको देखिएन... उफ् π
धनगढी उति चिसो थिएन, तर बोराडाँडीले हाडसम्मै चिस्यायो । त्यो चिसो बोकेरै हामी मसुरिया जाँदै थियौं । मसुरिया गाउँ हो, मानवअधिकार दिवस गाउँमा मनाइनु स्वतः इज्जतको कुरा हो । गुडिरहेको गाडीबाट द्रुत गतिमा भागिरहेका दृश्यहरू टिप्ने कोसिस गर्दै थिएँ । पहेंलै तोरी फुलेका खेत, घाम तापेर कपाल कोरिरहेका महिला, बालीसँग बात मारिरहेको बूढो किसान, बीच सडकमा उलार भएको वयलगाडा, चुंगी खेलिरहेका स्कुले केटाकेटी, हरियै मस्केको जंगल, युद्धका विभीषिका बोकेको मन्दिर र युद्धका भयानक दृश्यहरू देखेको विश्वास गरिने जोगी...इत्यादि दृश्य टिप्न भ्याएर धन्य हुँदै थिएँ, मसुरिया आइपुग्यो ।
गृहयुद्धका त्रासदीपूर्ण एपिसोडहरू भोगेको ठाउँ, डरलाग्दा दृश्यहरू पचाएका बस्तीहरू, एउटा अलग मनोविज्ञान बोकेको मसुरियामा मानवअधिकार दिवस मनाइँदै थियो । हामीलाई मसुरियासम्म तानेर ल्याइपुर्‍याउने गुरुत्वयुक्त कार्यक्रमका मुख्य व्यक्तित्व मदन जोशीले अध्यक्षता गरेको सभा शिवालिक प्राथमिक विद्यालयको प्रांगणमा सुरु भयो । हतारमा रहेका लोकगायक बद्री पँगेनीको गीतबाट प्रारम्भ भएको सभामा प्रमुख पार्टीका प्रमुख नेता, जनसेनाको सातौं डिभिजन सचिवलगायतले ६२ औं मानवअधिकार दिवसका सन्दर्भमा कुरा राख्दै गर्दा थारू झाँकीहरू आउने क्रम जारी थियो । थारू झाँकीको विशिष्ट नृत्य, बाजागाजा अनि थारू भाषाका स्वर, ताल र लयसँगै मानवअधिकारका प्रसंग आउँथे । जागरणको लहर यसैगरी गाउँगाउँ पुग्ने त हो ।
एउटी औसत थारू युवतीले आफ्नो टोलीको झाँकी प्रस्तुत गर्नुअघि माइक पक्रेर सभालाई सम्बोधन गरिरहेको दृश्यले मलाई खुब हौस्यायो । खगेन्द्र दाइ भुइँमा बसेर झाँकी अवलोकन गर्दै थिए । मैले कानैमा भनेँ, 'दाइ, मानवअधिकार दिवस सार्थक भयो ।' हामी धनगढी फर्कियौं ।
भोलिपल्ट कांग्रेस सभापति नरनारायण शाहले काठका अम्खोराजस्ता ठेकी उपहार दिए । साँझ पानी भरेर बिहान खाएदेखि यो ठेकीको पानी औषधि हुन्छ रे । आँखामा निरासा टाँगिएको युवापुस्तालाई भविष्यको जिम्मा दिने औषधिचाहिँ के होला नरनारायणजी ? घटनापूर्ण कैलाली भ्रमण टुंग्याएर हवाइजहाजको ढोकातिर बढ्दा तिनै हवाइसुन्दरी ओठमा मुस्कान खेलाएर स्वागतार्थ उभिएकी थिइन् । मलाई यतिबेलाको उनको मुस्कान भने रहस्यमय लागिरह्यो ।


प्रकाशित : पुस १७, २०६७ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?