कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'हाम्लाई नि बाँच्न गाह्रो छ'

सरोजराज अधिकारी

काठमाडौ — बर्दिया राष्ट्रिय निकुन्जका प्रमुख संरक्षण अधिकृत -चिफ वार्डेन) टीकाराम अधिकारी भन्दै थिए, निकुन्जभित्र ५४ प्रजातिका स्तनधारी, ४३८ प्रजातिका पन्छी, २५ प्रजातिका घसि्रने जीव र १२१ प्रजातिका माछा पाइन्छन् ।

कुल मिलाएर ६३८ प्रजातिका जीवजन्तु निकुन्जमा पाइने उनको भनाइ थियो । तर गत महिनाको अन्तिम साता करिब चार घन्टा निकुन्ज क्षेत्रको चक्कर लगाउँदा दुई प्रतिशत प्रजातिको पनि दर्शन पाउन गाह्रो भयो । कारण, संरक्षणका चुनौती बढिरहेका छन् । राज्यसँग त्यो चुनौती सामना गर्ने संयन्त्रको अभाव छ र भएको संयन्त्र पनि स्रोत, सुविधासम्पन्न छैनन् ।
सन् २००० मा ८३ वटा गैंडा गनिएका थिए यो निकुन्जमा, जुन २००८ मा आइपुग्दा २२ मा सीमित थिए । त्यसयता गणना नगरिए पनि हाल करिब २५ को संख्यामा गैंडा रहेको अधिकृत अधिकारीको अनुमान छ । ०५७ सालमा मुलुकभरका निकुन्जमा ६१२ गैंडा थिए, जसमध्ये चितवन राष्ट्रिय निकुन्जमा सबैभन्दा बढी थिए । ०४३ सालयता चितवनबाट मात्रै ८३ गैंडालाई बर्दियामा स्थानान्तरण गरिएको अधिकृतहरूको भनाइ छ । बाघको अवस्था पनि उस्तै छ । एक दशकअघिसम्म ६५ वटा गनिएका बाघमध्ये हाल २२ वटा रहेको अनुमान गरिएको छ । अधिकृत अधिकारीका अनुसार एसियामै सबभन्दा बढी मृग, चित्तलजस्ता जनावर बर्दियामै पाइन्छ । मुलुकभर कृष्णसार पाउने एकमात्र जिल्ला हो, बर्दिया । 
'एक घन्टाको अवधिमा चार हजारसम्म मृग देख्न सकिन्छ,' उनले भने, 'यी चित्तल, मृग, कृष्णसार भनेको बाघका आहारा हुन् ।' एउटा वयस्क बाघले वर्षमा ७० जति चित्तलको भोजन गर्ने उनले सुनाए । बास्सै, बाघको संख्या दुई सय पुग्यो भने त हाल करिब १२ हजारको हाराहारीमा रहेका मृग, चित्तललाई पो लोपोन्मुख बन्यजन्तुका रूपमा संरक्षण गर्नुपर्ने रहेछ । प्रकृतिको लीला पनि अपरम्पार नै छ । बाघले खाने त भइहाल्यो, कहिलेकाहीं अजिंगरले पनि बिनासित्ती लपेटेर मृत्युको मुखमा पुर्‍याइदिने रहेछ मृगलाई । कति जनावर एकअर्कामा जुधेर पनि मासिने रहेछन् । पानीपोखरी, चरन, स्वतन्त्र विचरणको अभाव र कर्मचारी अभाव बन्यजन्तु संरक्षणका चुनौती हुन् ।
फेरि पनि सबैभन्दा ठूलो समस्या भनेको चोरी सिकारी नै हो । अधिकृत अधिकारीका अनुसार खासगरी द्वन्द्वकालमा वन्यजन्तुको जीवन 'भगवान् भरोसे' थियो । निकुन्ज सुरक्षाका सेना माओवादी द्वन्द्व नियन्त्रणमा लागेको अवस्था र उब्रेकामध्ये पनि असुरक्षाका कारण सैनिक इकाईका मुख्यालयमा रहनुपर्ने बाध्यताको फाइदा निकै उठाए चोरी सिकारीले । निकुन्ज सुरक्षामा रहेको ज्वाला दल गणका प्रमुख सेनानी प्रकाश देउजाका अनुसार अहिले भने चोरी सिकारी नियन्त्रणमा छ । अस्थायी र स्थायी गरी २१ वटा पोस्टमा रहेर सेनाले नियमित गस्तीलगायतका संरक्षणका काम गरिरहेको छ । थप चारवटा पोस्ट थप्न प्रस्ताव गरिएको उनले जनाए । ९ सय ६८ वर्गकिलोमिटर क्षेत्रफल ओगटेको निकुन्ज क्षेत्रमा करिब ७० किलोमिटर जति विद्युतीय तारबार गरिएको छ ।
केहीअघि यही निकुन्जको बासपानी इलाकामा सेनाले चोरी सिकारीविरुद्ध गरेको कारबाहीमा महिला र किशोरीको मृत्यु भएको थियो, जुन अहिलेसम्म विवादित बन्न पुगेको छ । चिफ वार्डेन अधिकारी महिला, किशोरी मर्नु दुःखद भए पनि चोरी सिकारीले महिला, बालबालिकासमेतलाई प्रयोग गर्ने गरेकाले त्यस्तो अवस्था सिर्जना हुन गएको बताउँछन् । राज्यकै एक सुरक्षा निकायका व्यक्तिको समेत सो चोरी सिकारी घटनामा संलग्नताको भरपर्दो सूचना पाएकाले पनि आफूले सेनालाई कारबाहीको आदेश दिएको उनको भनाइ छ । 'जनताले राज्यलाई तिरेको करबाट तलब, भत्ता खाने, राज्यकै हतियार बोक्ने र राज्यले नै निषेध गरेको चोरी सिकारीजस्ता कार्यमा संलग्न हुने ?' उनले भने । सुरक्षा निकायसँग नियमित समन्वयमा बस्नुपर्ने भएकाले उनले यसबारे धेरै प्रस्ट्याउन भने चाहेनन् । तर त्यस घटनापछि चोरी सिकारीहरू अत्तालिएको संरक्षणको क्षेत्रमा कार्यरत कर्मचारीको अनुमान छ । बर्दियाका १५ तथा बाँके र सुर्खेतका एक/एक गाविस ओगटेको यो निकुन्ज तीनवटा जिल्लामा फैलिएको छ । तर पनि यो क्षेत्रफल संरक्षणका हिसाबले कम नै भएको संरक्षण अधिकृतहरूको भनाइ छ । त्यसैले हात्तीलगायतका केही बन्यजन्तु कैलालीको सिमानाबाट भारतको कतरनिया राष्ट्रिय निकुन्जतिर जाने गरेको उनीहरूको भनाइ छ । करिब ७० वर्षको एसियाकै ठूलो मानिएको राजागज हात्ती हाल यस निकुन्जमा देखिएको छैन । अन्तिमपटक करिब दुई वर्षअघि देखिएको सो हात्ती भारततिरै गएको हुनसक्ने निकुन्ज अधिकारीको भनाइ छ ।
त्यसो त एकैपटकको भ्रमणमा धेरै बन्यजन्तु हेर्ने अपेक्षा गर्नु नै गलत हो भन्छन् जानकारहरू । 'भाग्य' ले साथ दियो भनेचाहिँ कुरो बेग्लै भो । एक अधिकृतका अनुसार नेपालका लागि बेलायतका पूर्वराजदूत एन्ड्रयु हल दुई, तीनपटक यस निकुन्जमा पुगे । जतिपटक आए, त्यति नै पटक बाघ हेर्ने अवसर जुटेपछि उनले आफ्नो एउटा महँगो गाडी नै निकुन्जलाई उपहार दिए । कि बहुचर्चित हलिउड सिनेमा टाइटानिकका हिरो लिनोनार्दो डिक्यापि्रयोजस्तो 'हाई प्रोफाइल' हुनुपर्‍यो, विशेष व्यवस्थाका लागि । निकुन्ज अधिकारीहरूले उनी पुग्नुभन्दा एक साताअघिदेखि नै छ/सात स्थानमा क्यामरा जडान गरेर बाघको गतिविधिको 'भिडियो टेपिङ' गरिरहेका थिए । त्यसपछि उनलाई त्यही ठाउँमा लगियो जहाँ बाघलाई पहिलेदेखि नै 'लोकेट' गरिएको थियो र पहिलो भ्रमणमै उनले बाघको दर्शन पाए । कहाँ डिक्यापि्रयो कहाँ हामी डिफेन्स करेसपोन्डेन्ट ?
निकुन्जमा देखिएका केही बन्यजन्तुलाई क्यामरामा कैद गर्दै गर्दा मलाई झल्यास्स सम्झना भयो, यही क्षेत्रमा दुई, तीन वर्ष काम गरेकाले त पटकपटक गरेर पक्कै पनि धेरै बन्यजन्तुको तस्बिर लिएका होलान् । नभन्दै निकुन्जमा हामीले देख्न नपाएका धेरै बन्यजन्तु राष्ट्रिय प्रकृति संरक्षण कोष, बर्दियाका कार्यक्रम प्रमुख रविन कडरियाको ल्यापटपको 'वाइल्डलाइफ फोटोज' शीर्षकको फोल्डरभित्र । उनी र कोषका उनका सहकर्मीले खिचेका केही थान तस्बिर मैले उनीसँग मागे । यो फोटो फिचरले साङ्गोपाङ्गो नभए पनि मुलुकले पर्यटन वर्ष २०११ मनाइरहेको सन्दर्भमा यसले बर्दिया राष्ट्रिय निकुन्जको सानो झलक दिन्छ कि ?

प्रकाशित : पुस १७, २०६७ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?