कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खाइदिने पनि पाइएनन् !

नरेन्द्र रौले

काठमाडौ — अघिल्लो वर्षभन्दा दोब्बर फलेका बाजुराका स्याउ यो साल बेच्न नपाएर गाईभैंसीलाई खुवाएर र कुहिएर सकिए ।

योकुनै फिल्मी हिरोको तृष्णाको कथा होइन । यो एउटा उदेकलाग्दो कथा हो । बोटमा धेरै स्याउ फल्यो भनेर दुःखी हुने मानिसहरूको कथा हो । काठमाडौंमा स्याउको भाउ बढ्यो भनेर चिन्ता मान्नेहरूले सुन्नुपर्ने र थप दुःखी हुनुपर्ने कथा ।
बाजुराका रिब्डा, मुसलेपानी, संकल्पे, जुवाले, र लोंथी क्षेत्र यसपालि १ हजार क्विन्टल स्याउ फले । एक रुपैयाँको १० दानाका दरले बेचेर पनि यो स्याउ सकिएन । फलाउनेका परिवारले खाएर पनि सकिएन । तिनका गाईभैंसीले खाएर पनि सकिएन । 'खाइदेउ भन्या खाइदिन्याँ कोइनाइ, हिदेउ भन्या हिदिन्याँ कोइ नाइँ,' यो पीडा हो बाजुरा जुकोटका नन्दबहादुर शाहीको ।
अघिल्लो वर्षको तुलनामा यो वर्ष दोब्बर स्याउ फल्यो । तर, बिक्री भएन । कतिले गोठमा स्याउ भण्डारण गरे, कतिले खोलाको तीरमा खाल्डो खनेर पनि स्याउ पुरे । तर, लामो समयसम्म बेच्न नपाएपछि स्याउ कुहिन थाले । नन्दबहादुर भन्छन्, 'अर्को साल त स्याउबारीमा धान र मकै लगाउँछु, कमसेकम कुहिएर त जाँदैन ।'
जुकोटकै धौली सिंहले यो वर्ष चार महिनासम्म गाईभैंसीलाई घाँस काटिनन् । 'स्याउ खाएरै वस्तु अघाए,' उनले सुनाइन् । समस्या गाईभैंसीले स्याउ खान पाए भन्ने होइन । समस्या हो यातायातको । नेपालगन्ज वा धनगढीसम्म पनि स्याउ ल्याउन नसक्नुको दुःख हो यो ।
वीरबहाद्र शाहीले पनि यो वर्ष आप\mना ३ बाख्रा, ७ गोरु र २ भँैसीलाई घाँस काट्ने मेलो गरेनन् । उनको बारीका ७० बोटमा यसपालि ३५ दाना स्याउ फले । गाईभैंसीले यसैको भोजन गरे । वर्षभरिमा उनले मुस्किलले २ हजार रुपैयाँका स्याउ बेच्न सके । जयबहादुर शाहीको बारीमा झन्डै ५० हजार दाना स्याउ फले । 'गाईभैंसी र वनका चराचुरुङ्गीले खाए, खाने मान्छे पाइएन,' जयबहादुरले भने ।
१ क्विन्टल स्याउ १० हजार रुपैयाँका दरले मात्र बेच्ने हो भने पनि जुकोटमा एक करोड बराबरको आम्दानी गर्न सकिन्थ्यो । जिल्ला कृषि विकास कार्यालयका मार्तडी बाजुराका अनुसार गतवर्ष ३३४ मेटि्रक टन स्याउ फल्यो । भने यस वर्ष त्यसको दोब्बरभन्दा बढी ६६१ मेटि्रक टन स्याउ फलेको रेकर्ड छ । जुकोट गाविसका प्रत्येक परिवारसँग ५० देखि ७ सयसम्म स्याउका बोट छन् ।
महेन्द्रबहादुर सिहले स्याउ बेच्नकै लागि दुईवटा खच्चर किनेका छन् । एक लाख ८० हजार रुपैयाँमा खरिद गरेका सिंहले १५ हजारभन्दा बढी कमाउन सकेनन् । दुईवटा खच्चरमा स्याउ बोकेर कोल्टी र मार्तडी उनले थुप्रैचोटि धाए । तर उनको लगानी त परै जाओस् सामान्य खर्चसमेत हात पार्न सकेनन् । उठेको पैसा खच्चरको दानापानी र आफ्नो खानाका लागि ठिक्क भयो । गत वर्ष खच्चर र गधामा स्याउ बोकाएर व्यापार गरेका मुकेन्द्रबहादुर शाहीले ३ हजारभन्दा धेरै कमाउन नसकेको तितो पीडा पोखे । यस्तै पीडा छ, वीरबहादुर शाहीको । प्रतिकेजी ६५ रुपैयाँका दरले ५१ क्विन्टल स्याउ कोल्टीबाट सुर्खेत पठाएका शाहीलाई फाइदा हुन त परै जाओस्, उल्टै ३४ हजार रुपैयाँ घाटा लाग्यो । ४० हजार दाना स्याउ फलाएका वीरेन्द्र शाहीले ४ हजार रुपैयाँको स्याउ बेच्दा गाउँभरि यसको चर्चा भयो ।
मोटरबाटोको असुविधा र महँगो जहाज भाडाका कारण यहाँका स्याउ बजार नपाएर कुहिएका छन् । गाडी चल्ने कुल्देवमाडौँको बेतालमाडौँसम्म स्याउ पुर्‍याउन दुई दिन लाग्छ । त्यतिञ्जेल कुहिने समस्या हुन्छ । प्लेन भाडामा छुट गरिदिएमा आफूहरूका लागि ठूलै राहत हुने बताउँछन्, वीरबहादुर शाही । भन्छन्, 'जुम्लामा जस्तै हाम्रा लागि पनि प्रतिकेजी १० रुपैया लगाइनुपर्छ ।'
विगतमा पर्यटन मन्त्रालय पुगेर सहुलियतको माग गरे पनि सरकारले खासै चासो नदिएको बताउँछन् नन्दबहादुर शाही । नन्दबहादुर जुकोट गाविसको अध्यक्ष छँदा हरेक परिवारले प्रत्येक वर्ष २० बोट अनिवार्य लगाउने नियम बनाएका थिए । केयर नेपाल, कृषि विकास कार्यालयको सहयोगमा जुम्लाबाट स्याउका बोटहरू झिकाएर रोपिएका थिए । तर अहिले आफूले गरेको पहल सार्थक नबन्दा उनी खिन्न बनेका छन् । स्याउको जाम, जेली र जुस बनाउने उद्योग खोल्न सक्ने हो भने किसानलाई फाइदा हुनसक्छ । कसैकसैले घरैमा बनाउने गरे पनि यसको उद्योग भने छैन ।

प्रकाशित : पुस १७, २०६७ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?