कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

१०६ मा जोसिलै

प्रताप विष्ट

काठमाडौ — टाउकाको मात्रै होइन, आँखीभौंमा पनि कुनै रौं कालो छैन । सुस्तरी बोले पनि सुन्न समस्या छैन । पैसा चिन्न र गन्न चस्मा लगाउनुपर्दैन । मकवानपुरको फापरबारीका रघुनाथ साहलाई देख्दा उनी १०६ वर्षका भए भन्ने सुइँको पाइँदैन । उनी जिल्लाकै ज्येष्ठ नागरिक हुन् ।


उनको जोस र जाँगर कम नहुनुमा नियमित खानपान र कामप्रतिको लगनशीलता प्रमुख कारण हो । उनलाई दिनहुँ फापरबारी बजारमा यताउति गरिरहेको देख्न सकिन्छ । उनको खानपान नपत्याउने खालको छ । उनी दिनहुँ आधा किलो खसीको मासु  र एक माना दूध खान्छन्, दाल, भात, तरकारी अलग । साताको दुईपटक दही खान्छन्, त्यो पनि आफैंले जमाएर । उनलाई  खुर्सानी नभई भातै रुच्दैन । 'बूढो भएर के गर्नु, बाले एक छाकमा आधा माना चामलको भात खाइदिन्छन्,' छोरा वीरेले भने । साह लठ्ठी भने टेक्छन् । 'पत्नीको मृत्यु भएको ३० वर्ष भयो, त्यही बेलादेखि  लठ्ठी टेक्ने गरेको हुँ,' मधेसी लवजमा नेपाली बोल्ने साहले भने, 'हिँड्न नसकेर होइन, सहाराका लागि हो ।' उनी दुई वर्षअघि हिँडेरै हेटांैडा पुगेका थिए । रौतहट, चन्द्रनिगाहपुरवाट ६४ वर्षअघि व्यापारका क्रममा फापरबारी बजारमा बसाइँ सरेका हुन् । उनले फापरबारीमा घुम्टी राखेर व्यापार गर्दै आएका छन् । शुक्रबारे हाटमा पनि पसल थाप्ने गरेका छन् । पसलका लागि मालसामान आफैं  बोकेर ल्याउँछन् । उनका चार छोराछोरी र दर्जनौं नातिनातिना
छन् । फापरबारी बजारमा छोरा वीरेको होटल र लजमा काम भ्याईनभ्याई छ, तर उनी छुट्टै घुम्टीमा पसल थापेर बसेका छन् । 'सकुन्जेल अरूको  भर पर्नुहँुदैन,' उनी भन्छन् । उनले जिन्दगीमा एकपटक मात्र भोट हालेका छन् । 'लौरो टेकेर मतदान केन्द्र गएर  संविधानसभाको चुनावमा भोट हालेँ,' उनी भन्छन् ।  देशमा शान्ति हुन्छ भनेर पहिलोपटक भोट हालेको उनी बताउँछन् । उनी बिहान ४ बजे उठ्छन्  र बेलुका ९ बजे सुत्छन् । बेलुका समयमा सुत्ने र बिहान सबेरै उठ्ने, आत्मनिर्भर भएर जिउने बानी बसालियो भने धेरै समयसम्म बाँच्न सकिने उनको अनुभव छ । उनका अनुसार उमेरले मानिस बूढो हुँदैन ।

प्रकाशित : पुस १७, २०६७ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?