भक्तपुर, माघ ४ -
नगरपालिकाकी कार्यकारी अधिकृत दुर्गादेवी देवकोटाले स्थानीय राजनीतिक दलको सहमतिबिना वषौर्ंदेखि रोक्का राखेको सुरक्षित क्षेत्र खुला गरेको भन्दै विरोध भएको छ । सुरक्षित क्षेत्रमा कुनै किसिमको संरचना बनाउन पाइँदैन । देवकोटाले मंसिर १३ को नगरपालिकाको बैठक राखेर उक्त क्षेत्र खुला गरेकी हुन् ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरले मध्यपुर ठिमी नगरपालिकाले नक्सा पासबिना घर निर्माण दिएर गरेको अनियमितताबारे छानबिन थालेको छ । प्रशासनले बिहीबारदेखि छानबिन थालेको हो ।
प्रमुख जिल्ला अधिकारी एकमणि नेपालले पत्रपत्रिकामा आएको समाचारको आधारमा छानबिन सुरु गरेको बताए । 'छानबिन सुरु गरेका छौं,' नेपालले भने, 'नगरपालिकाको केही फाइल मगाएका छौं ।'
नगरपालिकाकी कार्यकारी अधिकृत दुर्गादेवी देवकोटाले स्थानीय राजनीतिक दलको सहमतिबिना वषौर्ंदेखि रोक्का राखेको सुरक्षित क्षेत्र खुला गरेको भन्दै विरोध भएको छ । सुरक्षित क्षेत्रमा कुनै किसिमको संरचना बनाउन पाइँदैन । देवकोटाले मंसिर १३ को नगरपालिकाको बैठक राखेर उक्त क्षेत्र खुला गरेकी हुन् । उनीभन्दा अघिका कार्यकारीले समेत खुला नगरेको सुरक्षित क्षेत्र देवकोटाले खुला गरेकी हुन् ।
प्रशासनले बिहीबार सुरक्षित क्षेत्र खुला गरेको निर्णय के कति कारणले खुला गरेको भन्दै पत्राचार गरेको छ । त्यस्तै खुला गर्न नगरपालिकाले गरेको निर्णयको प्रतिलिपिसमेत माग गरेको छ । मंगलबार कान्तिपुर दैनिकमा प्रकाशित समाचारका आधारमा सोधिएको पत्रमा भनिएको छ, 'समाचारप्रति नगरपालिकाको राय प्रतिक्रिया के हो ?' कार्यकारी अधिकृत देवकोटा बिहीबार कार्यालय अनुपस्थित भएपछि पत्रको जवाफ पठाउन नसकेको नगरपालिका स्रोतले जनाएको छ ।
नक्सा पासमा हुने अनियमितताको विवरण पटक-पटक माग्दा पनि फाइल नपठाएपछि प्रशासनले बिहीबार नासु र एक जना कार्यालय सहयोगी नै पठाएको थियो । प्रशासनका नायब सुब्बा रामकाजी खत्रीले माग गरिएको फाइल र अन्य कागजपत्र लिन पत्रका साथ पुगेका थिए ।
नगरपालिकाले ९ जनाको नक्सा पास गरेको फाइल, पञ्जीकरणको १४ वटा फाइल, आर्थिक वर्ष ०६९/७० मा नगर परिषद्ले पास गरेको योजनाहरूको विवरणसमेत पठाएको नगरपालिका स्रोतले जनाएको छ । प्रशासनले नगरपालिकाले नक्सा पास गरेको नमुना फाइल अध्ययन सुरु गरेको छ । नगरपालिकाको प्राविधिकले प्रक्रिया पूरा गरेर तयार गरेको फाइल अध्ययन गरेर केही पत्ता लगाउन नसक्ने नगरपालिकाका कर्मचारीहरू बताउँछन् ।
सुरक्षित क्षेत्र, पुराना घर भत्काएर नयाँ बनाएको क्षेत्र, बोडेको खानेपानीको दक्षिण भाग लगायतको क्षेत्रमा बनेको घरको नक्सा पास भए/नभएको स्थलगत अध्ययनपछि नगरपालिकाको अनियमितता बाहिर आउन सक्छ । 'प्लानिङ भएको अधिकांश ठाउँमा नक्सा पास भएको छैन,' एक कर्मचारीले भने ।
नक्सा पास नगरी घर बनाएको उजुरीबिना कारबाही गरेको कुनै पनि घटना नभएको नगरपालिका स्रोतले जनाएको छ । त्यस्तै सरकारी जग्गामा घर निर्माण भएपछि त्यस्ता घर भत्काउने नगरपालिकाले हिम्मत गर्न सकेको छैन । नगरपालिकाको कार्यालय अगाडिको घरसमेत नियमविपरीत बनेको छ ।