कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

२४ घण्टाभित्र भ्रामक अडियो हटाउन 'सिधाकुरा' लाई प्रेस काउन्सिलको निर्देशन

काठमाडौँ — प्रेस काउन्सिल नेपालले एक्सक्लुसिभ भन्दै 'सिधाकुरा डटकम'ले शुक्रबार बिहान सम्प्रेषण गरेको भ्रामक सामग्रीको अडियो २४ घण्टाभित्र हटाउन निर्देशन दिएको छ ।

२४ घण्टाभित्र भ्रामक अडियो हटाउन 'सिधाकुरा' लाई प्रेस काउन्सिलको निर्देशन

काउन्सिलले शुक्रबार अपरान्ह 'सिधाकुरा डट कम'लाई पत्र पठाउँदै उक्त सामग्री भ्रामक भएको उल्लेख गरेको छ ।

'तथ्यगत आधार प्रमाणबिनै व्यक्ति र सम्मानित संस्थाको मर्यादा, प्रतिष्ठामा आँच आउनेगरी समाचार सामग्री प्रसारण गर्नु आचारसंहिताको गम्भीर उल्लङ्घन र प्रेस स्वतन्त्रताको चरम दुरुपयोग हुने भएकोले उक्त अडियोसहित सम्प्रेषित सामग्री हटाई २४ घण्टाभित्र काउन्सिलाई जानकारी गराउन निर्णयानुसार सूचित गरिन्छ । साथै यस किसिमको सामग्री के कसरी सम्प्रेषण हुन गए‌को हो? सोको जवाफ पेस गर्नसमेत निर्णयानुसार सूचित गरिन्छ' काउन्सिलको पत्रमा उल्लेख छ ।

उक्त समाचारमा नाम जोडिएका अन्नपूर्ण मिडिया नेटवर्का अध्यक्ष क्याप्टेन रामेश्वर थापाले शुक्रबार दिउँसो काउन्सिलमा उजुरी दिएका थिए । उक्त उजुरी छानबिन गरी काउन्सिलले सामग्री भ्रामक भएकाले हटाउनका लागि निर्देशन दिएको हो ।

'समाचारमा भएका सम्पूर्ण सामग्री पूर्वाग्रहका लागि सिर्जना गरिएको, भाइरल र सनसनीपूर्ण बनाउन चाहेको, भ्रमपूर्ण कथित पात्रहरु उभ्याइ नक्कली नाटक गरी शतप्रतिशत् झुठो बनाइएको र जीवनभर निष्पक्ष न्यायसम्पादन गर्न तल्लिन न्यायमूर्ति तथा सम्मानित सर्वोच्च अदालतको सम्मानित सवैधानिक बेन्चसमेत मुछी नेपालको लोकतन्त्रका लागि सदा लागि परिरहेका हामी अन्नपूर्णपोष्ट तथा कान्तिपुर मिडियाको मानमर्दन गरी पत्रकारिताको पराकाष्टा नाघेको सूचित गर्न चाहन्छु' अध्यक्ष थापाले काउन्सिलमा पठाएको पत्रमा छ ।

उनले दुराचारयुक्त समाचारप्रति नेपालको कानुनको फौजदारी अपराध संहितासमेत आकर्षित हुने हुनाले उचित कानुनी पहलसमेत यथाशीघ्र चालिदिनुहुन पनि अनुरोध गरेका थिए ।

प्रकाशित : वैशाख १४, २०८१ १९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?