१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २९४

तिलोत्तमामा प्राथमिकताका आधारमा सडक निर्माण

सन्जु पौडेल

लुम्बिनी — रूपन्देहीको तिलोत्तमा नगरपालिकाले सडक योजनालाई तीन श्रेणीमा विभाजन गरेर निर्माण कार्यलाई अगाडि बढाएको छ । यसबाट दिगो र बढी प्रतिफल दिने योजनाले प्राथमिकता पाउने नगरपालिकाको दाबी छ । सर्वसाधारणले अहिलेसम्म नगरपालिकाले बुटवल–बेलहिया ६ लेन सडक सिंगार्न मात्र ध्यान दिएको आरोप लगाउन थालेपछि त्यस्तो भ्रम चिर्न अन्य सडक योजनालाई प्राथमिकिता दिने जनाएको हो । 

तिलोत्तमामा प्राथमिकताका आधारमा सडक निर्माण

आगामी दिनमा नगरभित्र १० वर्षभन्दा धेरै समय टिक्ने दिगो प्रकृतिका योजना सञ्चालन गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताए । उनका अनुसार नगरस्तरीय स्वर्णिम, गौरवका र प्राथमिकता प्राप्त आयोजना निर्धारण गरेर काम गर्न लागिएको हो ।

नगरपालिकाले प्रोजेक्ट बैंक नै बनाएर ५ करोडभन्दा माथिकालाई स्वर्णिम, १ देखि ५ करोडभित्रकालाई गौरवका र एक करोड भन्दा मुनि लगानी भएकालाई प्राथमिकताका आयोजना निर्धारण गरिने जनाएको छ ।

यसका साथै प्राथमिकताका आधारमा १ वडा १ किलोमिटर सडक कालोपत्र कार्यलाई प्राथमिकतासाथ अघि बढाएको उनले बताए । आर्थिक वर्ष २०८०/८१ को बजेटमा यस्ता निर्माणका लागि १७ करोड रुपैयाँ छुट्याएर योजना माग गरिएको उनले बताए । पालिकाका १० वडामा १ किलोमिटर कालोपत्र गर्ने काम पूरा भइसकेको उनले बताए ।

बाँकी ७ वडामा पनि निर्माणाधीन रहेको उनले जनाए । अत्याधुनिक अस्फाल्ट प्रविधिबाट निर्माण भएका सडक १० वर्षसम्म पुनःनिर्माण गर्नु नपर्ने भएकाले त्यही प्रविधि अपनाएर वडा र बस्तीले सिफारिस गरेको १ किलोमिटर सडकलाई कालोपत्र गरिएको अर्यालले जानकारी दिए ।

तिलोत्तमाका मुख्य सडक वा कुनै ठूला पूर्वाधार निर्माणमा मात्र केन्द्रित नभएर प्रत्येक वडाका स्थानीयसँग नजिक हुने गरी विकास निर्माणको काम भइरहेको नगर प्रमुख रामकृष्ण खाँणले बताए । नगरपालिकाभित्रका सबै वडाका सडक आगामी तीन/चार वर्षभित्र कलोपत्र भइसक्ने उनले बताए । ‘नगरपालिकाले सबै वडामा उपभोक्ता समितिलाई समयमै योजना निर्माणका लागि अभिमुखीकरण समेत दिंदै आएको छ,’ उनले भने, ‘हामी जनताका प्रतिनिधि भएकाले नै जनताको घरदैलोसम्म पुग्ने वातावरण सहज बनाइरहेका छौं ।’

सडक निर्माणले गाउँगाउँमा खुसीयालीसँगै सहज यातायातको आवागमन हुने भएकाले स्थानीयलाई चाहिने सडक निर्माणमा ध्यान दिएको उनले बताए । स्थानीय तह अहिले नीति तथा कार्यक्रमका साथै बजेट निर्माणको काममा जुटेका छन् । यस्तो बेला तिलोत्तमाले सुरुवात गरेको कार्य र छुट्याइएको बजेट प्रणाली देशभरका स्थानीय तहका लागि उचित पाठसमेत हुन सक्ने खाँणको भनाइ छ ।

उनले यस कार्यलाई आफ्नो कार्यकाल अवधिभरि निरन्तरता दिने र यससँगै हरेक वर्ष शैक्षिक पूर्वाधारमा समेत पालिकाले लगानी गरिरहेको बताए । ‘हामी सडकमा मात्र केन्द्रित नभई हरेक वर्ष ४ विद्यालयको भौतिक पूर्वाधार निर्माण गर्ने गरी बजेट छुट्याएर बनाइरहेका छौं,’ उनले भने, ‘यसले शिक्षा र सडक विकासमा पालिकालाई अग्रता दिन्छ ।’

पालिकाले प्राथमिकता निर्धारण गरेर योजना कार्यान्वयन गर्न थालेपछि नागरिकमा जनप्रतिनिधि सबैका लागि साझा हुन् भन्ने विश्वास जागेको उपप्रमुख जगेश्वरदेवी चौधरीले बताइन् । आफू अनुगमन समितिको संयोजकसमेत रहेकाले सडक निर्माणमा प्रयोग हुने हरेक सामग्रीलाई सूक्ष्म अध्ययन गरी टिकाउयुक्त प्रविधि अपनाएर काम गर्न निर्देशन दिएको उनले जनाइन् ।

‘सडक बनाउने र पुनःमर्मत गर्ने मात्रै काम गर्न हामी आएका होइनौं,’ उनले भनिन्, ‘हामी गुणस्तर र जनताको मन जित्ने गरी नै हरेक काम गर्दै आएकाले यसमा पनि नचुक्नेमा विश्वस्त छौं ।’ चौधरीले पालिकाले परियोजना बैंकमै समावेश गरेर यी तीन किसिमका प्राथमिकता निर्धारण गरेर योजना अगाडि बढाएको विषय मुलुकका स्थानीय तहमा नौलो अभ्यास भएको उनले बताइन् ।

उपप्रमुख चौधरीका अनुसार जनताले रुचाएको यो कार्यलाई आगामी वर्ष बजेटको आकार हेरीकन निरन्तरता दिने विषयमा पनि छलफल हुनेछ । यो काम रोक्न नपरे हुन्थ्यो भन्नेमै आफूहरू रहेको उनले जनाइन् ।

प्रकाशित : वैशाख १४, २०८१ १८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?