२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

राष्ट्रिय महिला भलिबलको उपाधिका लागि एपीएफ र पुलिस भिड्ने

काठमाडौँ — नेपाल पुलिस र एपीएफ क्लब सातौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेका छन् ।

राष्ट्रिय महिला भलिबलको उपाधिका लागि एपीएफ र पुलिस भिड्ने

चार टोली सहभागी प्रतियोगिताको लिगमा एपीएफ अपराजित रहँदै फाइनलमा पुगेको हो भने पुलिसले दुई खेल जित्यो । लिगमा न्यु डायमण्ड तेस्रो र त्रिभुवन आर्मी चौथो स्थानमा रह्यो । अब यी दुईले तेस्रो स्थानका लागि प्रतिष्पर्धा गर्नेछन् ।

फाइनल र तेस्रो स्थानको खेल शनिवार नै हुनेछन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शुक्रबार सम्पन्न खेलमा पुलिसले आर्मीलाई ३–१ र एपीएफले न्यु डायमण्ड एकेडेमीलाई ३–२ ले हरायो । लिगको अन्तिम खेलमा पुलिसले आर्मीलाई ३–१ हराउँदै तीन खेलबाट ६ अंक बटुल्यो ।

पुलिसले आर्मीको चुनौती २५–१९, १७–२५, २५–१५ र २५–१३ ले समाप्त पार्‍यो । पहिलो खेलमा एपीएफसँग हार व्यहोरेको पुलिसले दोस्रो खेलमा न्यु डायमण्डलाई हराउँदै फाइनल पुग्ने सम्भावना कायमै राखेको थियो । शुक्रबार लिगको तेस्रो खेल पनि जितेपछि पुलिस फाइनलमा पुगेको हो ।

लिगको अन्तिम खेलमा न्यु-डायमण्ड एपीएफसँग ३–२ ले पराजित भएपछि फाइनलमा पुग्न असफल भयो । समान तीन खेलबाट एपीएफले सात अंक बटुल्दा न्यु डायमण्डले चार अंक प्राप्त गर्‍यो । यससँगै एपीएफ लिग विजेता र पुलिस उपविजेताका रूपमा फाइनलमा पुगे ।

एपीएफले न्यु डायमण्डलाई २५–१६, २५–१८, १९–२५,१३–२५ र १५–११ ले हराउँदै अपराजित यात्रा कायमै राख्यो । चारै टिमले नगद पुरस्कार पाउने छन् । विजेताले चार लाख ९९ हजार र उपविजेताले दुई लाख ५० हजार नगद पुरस्कार जित्नेछन् ।

तेस्रो हुने टोलीले एक लाख २५ हजार तथा चौथोले ६२ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार, विधागततर्फ उत्कृष्ट हुनेले जनही २५ हजार र हरेक खेलको प्लेयर अफ दी म्याचलाई १५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ ।

प्रकाशित : वैशाख १४, २०८१ १९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?