कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

जुम्लामा कृषि, व्यापार, पर्यटन महोत्सव

डीबी बुढा

जुम्ला — जुम्लामा कृषि, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव सुरु भएको छ । महोत्सव १० दिनसम्म चल्ने छ । 

जुम्लामा कृषि, व्यापार, पर्यटन महोत्सव

प्रतिनिधिसभा सदस्य बिनिता कठायतले महोत्सव उद्घाटन गर्दै कर्णालीको कृषि, पर्यटन र सांस्कृतिक सम्पदाहरुको संरक्षणमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरिन् । जुम्लाको आर्थिक अवस्थालाई चलायमान बनाउने र कला र संस्कृति संरक्षण गर्ने हेतुले महोत्सव आयोजना गरिएको हो ।

राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान जुम्लाको आयोजना र एके इभेन्ट बहुउद्देश्यीय प्रालि सुर्खेतको सहयोगमा वैशाख २३ गतेसम्म सञ्चालन हुने महोत्सवबाट कर्णाली क्षेत्रका कृषि, जडिबुटी, पर्यटन, ऊर्जा, संस्कृति तथा सांस्कृतिक वस्तुको प्रदर्शन गर्ने, कला र संस्कृतिको माध्यमबाट कर्णालीको सुन्दरता चिनाउने लक्ष्य राखिएको छ ।

महोत्सव अवधिभर फलफूलमा स्याउ, ओखर, बालीमा मार्सी धान, मार्सी चामल, चिनो, कागुनो, फापर, सिमीका स्टल राखिएका छन् । केही स्टलहरुमा रैथाने बालीहरुको परिकार बनाएर चख्याउनुका साथै कपडामा परम्परागत राडीपाखी, खरायोका टोपीहरुको स्टल छन् ।

बजारमा अधिक माग भए पनि मूल्य पाउन नसकेको कृषिजन्य वस्तु बजारीकरणका लागि पनि महोत्सवले सहयोग गर्ने आयोजकले जनाएका छन् । राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान जुम्लाका अध्यक्ष कर्णबहादुर बुढ्थापाले महोत्सवमा स्थानीयदेखि राष्ट्रय चर्चित कलाकारको प्रस्तुति रहने बताए । कषि, पर्यटन प्रवर्द्धन र स्थानीय कलाकारको प्रतिभा पहिचानका लागि महोत्सव सञ्चालन गरिने अध्यक्ष बुढथापाले बताए । महोत्सवमा विभिन्न ५०/६० स्टल बुक भइसकेका छन् भने ८०/९० वटा स्टल छन् ।

लोक, कला र संस्कृतिको संरक्षण, रूपान्तरण, समृद्धि हाम्रो अभियान, कृषि संस्कृति र संस्कार हाम्रो पहिचान कृषि पर्यटन र स्थानीय उत्पादनको प्रवर्द्धन हाम्रो अभियान’ भन्ने महोत्सवको नारा रहेको छ ।

महोत्सवमा देउडा, दोहोरी, एकल नाच प्रतियोगिता गरिने लोक तथा दोहोरी गीत प्रतिष्ठानका सचिव विश्वराज खत्रीले बताए । प्रतिष्ठानका अनुसार स्थानीय कलाकारलाई पनि प्राथमिकता दिइने छ । महोत्सवमा धुर्मुस सुन्तलीदेखि एलिना चौहान, टिका सानुलगायत दुई दर्जनभन्दा बढी चर्चित राष्ट्रिय कलाकारको प्रस्तुति रहनेछ ।

प्रकाशित : वैशाख १४, २०८१ १८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?