Kantipur-qatar

Kantipur

मिति | मंगलवार, २०७१ श्रावण ६     Login | Register | Issue No. 278
खाडी»

राष्ट्रपतिको कदम अलपत्र

  • सरकार परिवर्तन र चुनाव अनिश्चित
काठमाडौ, माघ ४ -
राष्ट्रपति डा रामवरण यादले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि आफंैले सुरु गरेको प्रक्रिया बीचमै अलपत्र छोडेका छन् । नवौंपटक सम्मको समयसीमा थप्दा पनि राजनीतिक दलहरूबीच सहमति हुन नसकेपछि उनले अब म्याद थप्ने शृंखला नै रोकेका छन् । राष्ट्रपति यादव अब छिटो सहमति गरेर आउने भन्दै बिनाम्याद अनन्तकालसम्म यो प्रक्रिया जान सक्ने गरी छोडिदिएका छन् । उनले गत मंसिर ८ गतेबाट सहमतिको सरकार निर्माणका गर्नका लागि भन्दै अन्तरिम संविधानको धारा ३८ -१) अनुसार आह्वान गरेका थिए । दलहरूको आग्रहमा उनले नवौंपटकसम्म समयसीमा थप्दै लगेका थिए । गत मंगलबार संविधानसभामा प्रतिनिधित्व गर्ने दलहरूसँगको छलफलपछि राष्ट्रपतिले म्याद थप्ने प्रक्रिया रोकेका हुन् । राष्ट्रप्रमुखबाट सुरु भएको सरकार निर्माण गर्ने प्रक्रिया बीचमै अलपत्र पर्नुबाट राष्ट्रपति 'कच्चा खेलाडी' त होइनन् भन्ने प्रश्न उब्जिएको छ ।

र राष्ट्रप्रमुखले सुरु गरेको प्रक्रिया नै बीचमा अलपत्र परे पनि कारण काम चलाउ सरकारको विस्थापन र संविधानसभाको चुनाव दुबै झन् अनिश्चित बनेको छ । राष्ट्रपतिले समय तोकेर आग्रह गर्दा त त्यसबाट दबाब महसुस नगर्ने दलहरूले अब समय नै नतोक्दा झन्  अनन्तकालसम्म सहमतिको रटानमा समय बिताइदिन सक्ने सम्भावना बढेको छ ।

सरकार परिवर्तन नहुँदासम्म संविधानसभाको आगामी चुनावका लागि प्रारम्भिक ढोका नै खुल्दैन । यसले राजनीतिक संक्रमण अझै लम्बिने भएको छ । काम चलाउ सरकारको विस्थापन र चुनाव दुबै नहुने अवस्थ्ााले राज्य संयन्त्रका सम्पूर्ण अवयवहरू अझै प्रभावहीन बन्दै जाने अवस्था आएको छ ।

राष्ट्रपतिले मंगलबार विघटित संविधानसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठकमा पटक पटकको सयमसीमामा पनि सहमति नगरेको भन्दै आपत्ति जनाएका छन् । उनी आफैंले अब सहमतिका लागि लिखित रूपमा म्याद बढाउनेभन्दा पनि सात दिनभित्र जसरी पनि सहमतिमा आउन मौखिक आग्रह  भने गरेका छन् । तर दलहरूबीच सहमतिको कुनै गुन्जायस छैन । बरु पछिल्ला दिनमा सहमति हुनुको सट्टा झन् झन् दूरी बढेको छ ।  मौखिक रूपमा तोकेको अवधिमा पनि सहमति नभए आफूले केही सोच्नुपर्ने धारणा राष्ट्रपतिले व्यक्त गरेका छन् । 'सहमति गरेर आउनुहोस् सहमति भएनन भने अब मैले पनि जनतासँग केही कुरा भन्न पाउनुपर्छ,' राष्ट्रपतिले दलहरूसँगको भेटमा भनेको कुरा उद्धृत गर्दै मालेका महासचिव सीपी मैनालीले भनेका

छन् । राष्ट्रपतिबाट दलका नेतहरूलाई फेरि गम्भीर हुन आग्रह गरे पनि सहमति हुने संकेत छैन । सहमित नभएको अवस्थामा राष्ट्रपतिलाई आफैं अघि बढ्न समस्या पर्छ । संविधानको धारा ३८-१) अनुसार सहमतिको प्रक्रियाबाट सरकार नबने धारा ३८ -२) अनुसार प्रक्रिया अवलम्बन गर्नुपर्ने हुन्छ तर त्यो प्रक्रियाका लागि संसद् चाहिन्छ ।

अहिले संसद् नभएको अवस्थामा बहुमतीय प्रक्रियाबाट सरकार बनाउन सकिँदैन । विपक्षी दलहरूले त उनलाई एमाओवादी सहमतिमा आउन तयार नभएको अवस्थामा बहुमत दलको समर्थन हुने व्यक्तिलाई प्रधानमन्त्रीको रूपमा नियुक्त गर्नुपर्ने सुझाव दिइरहेका छन् । उनीहरूले सहमतिको सरकार बनाउने प्रक्रियालाई अब टुंगोमा पुर्‍याउनुपर्ने भन्दै दबाब पनिदिएका छन् । तर उनीहरूको सुझाव मान्ने वा अन्य कुनै विकल्पमा जानेमा राष्ट्रपतिलाई समस्या छन् । यस्तो अवस्थामा राष्ट्रपतिले जुनसुकै कदम अघि बढाए पनि उनी थप विवादमा पर्न सक्छन् ।

राष्ट्रपतिले अघि बढाएको प्रक्रिया टुंगोमा पुग्न नसकेपछि यसको फाइदा सत्तारुढ गठबन्धनलाई भएको छ । सहमति नहुने र राष्ट्रपतिबाट संविधानभन्दा बाहिरको कदम नचालिने स्पष्ट बुझेपछि सत्तारुढ गठबन्धन भने आफ्नो अडानमा अझै कडा बन्दै गएको छ । केही समयअघि अन्य दलहरूसँग समझदारीमा जान तयार रहेको बताउने एमाओवादीका नेताहरू अब फरक फरक एजेन्डा अघि सार्दै सहमति नहुने स्थितिलाई बढावा दिइरहेका छन् । तत्काल विपक्षीहरूले हस्तक्षेपकारी दबाब दिन नसक्ने र राष्ट्रपतिबाट सुरु भएको प्रक्रिया पनि टुंगोमा नपुग्ने अवस्थामा सत्तारुढ दललाई सत्तामा बसिरहनका लागि झन् सजिलो बनेको छ ।

फेरि पुनःस्थापना कार्ड

राजनीतिक दलहरूबीच सहमति नभएको र आउँदो वैशाख जेठ महिनामा चुनाव नहुने अवस्था आएपछि सत्तारुढ दलहरूले फेरि संविधानसभा पुनःस्थापनाको  कार्ड  फालेका छन् । हुन त प्रधानमन्त्रीबाट अझै चुनाव हुन्छ भन्न छाडेका छैनन् । उनले मंगलबार राष्ट्रपतिसँगको भेटमा पनि वैशाखमा नभए जेठको दोस्रो सातासम्म चुनाव गर्न सकिने धारणा राखेका छन् । त्यसका लागि राष्ट्रपति कार्यालयमा विचाराधीन चुनाव सम्बन्धित अध्यादेशहरू पारित गरिदिन उनले राष्ट्रपतिको ध्यानाकर्षण गराएका छन् । सरकार परिवर्तन नगरी चुनावमा अघि बढ्ने उनको  योजनामा विपक्षी दलहरूको साथ छैन । त्यसैले जेठ महिनाको कुरा आए पनि चुनाव हुने सम्भावना छैन । चुनाव नहुने अवस्थामा संविधानसभा पुनःस्थापना गर्ने कुरा सत्तारुढ गठबन्धनले अघि बढाएको छ । एमाओवादीको हालै सम्पन्न महाधिवेशन आयोजक समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले नै संविधानसभा पुनःस्थापनाको प्रस्ताव गरेका छन् । उनले अघि सारेको प्रस्तावलाई एमाओवादी बैठकले अनुमोदन गरिसकेको छ ।

'चुनाव पनि नहुने अस्थामा सधै देश शून्यतामा बस्न सक्दैन,' एमाओवादी प्रवक्ता अग्नि  सापकोटाले भने, 'त्यसैले अब संविधानसभा पुनःस्थापनामा जानुपर्छ ।' संविधानसभा पुनःस्थापनाका लागि सत्तामा बसेर माथिबाट र सडकमा आन्दोलन गरी तलबाट दुवै दबाब बढाउने रणनीति माओवादीले बनाएको छ । संविधानसभा पुनःस्थापनाको एमाओवादी कार्डलाई गठबन्धनमा संलग्न मधेसी मोर्चाले पनि सघाएको छ । 'संविधानसभाबाटै संविधान जारी गर्नका लागि चुनावमा जाने भनेको हो,' सञ्चारमन्त्री तथा फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले भने, 'चुनाव नहुने भएपछि संविधानसभा पुनःस्थापनाको विकल्पमा पनि अब हामी तयार हुनुपर्छ ।'

विपक्षी आन्दोलनतिर

सत्तारुढ दलहरू सहमति आउन तयार नभएपछि विपक्षी दलहरू भने आन्दोलनतिर होमिएका छन् । उनीहरूले यही अवस्थ्ाामा सरकारसँग वार्तासमेत नहुने भन्दै देशव्यापी विरोध कार्यक्रम सार्वजनिक गरेका छन् । सहमतिका लागि भन्दै पटक पटक घोषणा गरेका आन्दोलनका कार्यक्रम रोक्दै आएका विपक्षी दलहरूले यसपटक भने सरकार नढलुन्जेलसम्म आन्दोलन जारी राख्ने बताएका

छन् । विपक्षी गठबन्धनको मंगलबार बसेको बैठकले आन्दोलनका कार्यक्रमा घोषणा गरेको हो । पटक पटक सहमति हुने अवस्थ्ाा आए पनि एमाओवादी पछि हटेको भन्दै विपक्षीहरू आन्दोलनमा जाने निष्कर्षमा पुगेका हुन् । उनीहरूले माघ १९ देखि २६ सम्म मुलुकका प्रमुख सहरमा विरोध प्रदर्शन र आमसभा गर्ने भएको छन् ।

माघ १९ मा बागलुङबाट सुरु हुने विरोधसभा र प्रदर्शन माघ २६ गते राजधानीको खुलामञ्चमा सकिनेछ । पहिलो चरणको कार्यक्रम सकिएपछि अर्को चरणको कार्यक्रम घोषाण गर्ने विपक्षीहरूले जनाएका छन् । माघ १९ अघि पनि उनीहरूले जिल्ला जिल्लामा विरोध प्रदर्शन गर्नेछन् ।

विपक्षी गठबन्धनले राजनीतिक संकटबाट निकास दिन राष्ट्रपतिबाट नयाँ प्रधानमन्त्रीको चयन गरी सहमतिको आधारमा मन्त्रिपरिषद्को गठनका लागि गरिएको आह्वानअनुरूप राजनीतिक सहमतिको सरकार तुरुन्त गठनका लागि बाटो छाड्न काम चलाउ सरकारका प्रधानमन्त्रीलाई र त्यस निमित्त सहयोगी भूमिकामा प्रस्तुत हुन एनेकपा -माओवादी) लाई आह्वान गरेको छ ।

प्रकाशित मिति: २०७१ श्रावण ६ ०५:३०
Today's Paper
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

'प'बाट 'पजेरो' 'प्राडो' त पुरानो भो काम्रेड !... अब त 'प'बाट 'पाँच करोड' भन्नुपर्छ 'पाँच करोड'!

विज्ञापन

Radio Kantipur
  हाम्रा प्रकाशनहरु :
Our Publication