बा बन्दै गइरहेछु
जब टेक्छु
कुनै प्राचीन नगरको प्रवेशद्वारको ढुंगा छापिएको बाटो
म पस्दै गरेको त्यो बस्तीको पुछारबाट
मेरा बा निस्कँदै गरेको आभासले विचलित हुन्छु ।
बा सम्झिँदा
म सम्झिँन्छु
ढुंगा छापिएका गल्लीहरु
इँटा बिछ्याइएका गल्छेडाहरु
जलबिन्दु, लौरो, घुँडाघुँडा कछाड
र थाप्लोभरि हिउँफुल
भोग्नु भोगेर अप्ठ्याराहरु
फलैँचामा सुस्ताएका बा,
उनले हिँड्दै गरेको बाटो
सोझो लाग्थ्यो, सरल लाग्थ्यो
थिएनन् घुम्ती, दोबाटो÷चौबाटो छैनन् लाग्थ्यो
उदाउँदो सूर्यको तेज थिएँ
अस्ताउँदो सूर्यको पाइला पछ्याउन
र एकै झमटमा भेट्टाइहाल्न
कुनै चिन्ताको विषय पनि त थिएन
बा हिँड्दै जानुभयो
म अल्मलिई बसेँ ।
मैले हिउँको कोमलता पनि देखेको थिएँ
र भोगेको थिएँ कठोरता पनि
तर हिउँझैँ कोमलता र कठोरताभित्र बाको
मैले कहिल्यै देख्न सकिन पानी
अब कहिल्यै देख्ने छैन पनि
जो ढुङ्गा छापिएका गल्लीहरु
इँटा बिछ्याइएका गल्छेडाहरु हुँदै बगिसक्यो......
ममा टाँसिएर बस्न थालेदेखि
बाको मधुमेह, उच्च रक्तचाप र गुलियो मिठाईको रहर
मेरो कठोरतामा, मेरो कोमलतामा
स्वतः छोपिन थालेको छ पानी
भूमिगत कुला कुलेसाको कलकल ध्वनि
सुन्ने फुर्सद कसलाई ?
कुनै समयको म र मेरो व्यस्तता अब सरेको छ
मेरा सन्तानहरु आफ्नो संसार बुन्न व्यस्त छन्
बा गएदेखि
मलाई प्राचीन नगरका दैनिकीहरु
बाका जस्तै लाग्न थलेका छन्
परित्यक्त प्राचीन नगर आफैँ
बा जस्तै लाग्न थालेको छ
थाहा छ
भेट्न मलाई
कुद्दाकुद्दै मेरै छाया पनि अब एक दिन
नगरको प्रवेशद्वारमै भेटिनेछ असिनपसिन
म भने फुत्तै निस्किसक्नेछु
उही प्राचीन नगरको पुछारको बाटो !
प्रकाशित : चैत्र १७, २०८० ०९:१४