२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७४

खुला विश्वविद्यालय बन्द हुन सक्छ

पाठक पत्र

१. नेपाल खुला विश्वविद्यालय स्थापना भएको नौ वर्ष भएको छ तर यसको हालत दिनानुदिन चौपट बन्दै गइरहेको छ । नेतृत्व चयन गर्दा विचार पुर्‍याउन नसकेपछि र जसरी भए पनि भागबन्डा गरेर राजनीतिक स्वार्थ पूरा गर्न उद्यत् भएपछि कसरी हुन्छ प्रगति ?

खुला विश्वविद्यालय बन्द हुन सक्छ

२. सुरुमा एउटा नेतृत्वले चार वर्ष नेपाल खुला विश्वविद्यालयलाई निश्चित मार्गतिर धकेल्ने प्रयत्न गर्‍यो तर विडम्बना सुरुमा बलियो हुनुपर्ने विश्वविद्यालयलाई दलीय राजनीतिले नै आफ्नो प्रभावमा पार्न छाडेन ।

३. पहिलो उपकुलपति र रजिस्ट्रारबीचको तिक्तताले विश्वविद्यालयले गति लिन नसकेको तथ्य सर्वविदितै छ । सुरुका दिनमा डिन, कर्मचारी र शिक्षक भर्नामा समेत नाटकीय ढंगले दलीय प्रभावभित्रै विश्वविद्यालय पर्न गयो र अहिलेसम्म यो लथालिंग अवस्थामा छ ।

४. पहिलो नेतृत्वको कार्यकाल सकिएपछि विश्वविद्यालयले नेतृत्व पाउन निकै सकस रह्यो र विभिन्न दलीय जालझेल गरी करिब डेढ वर्षपछि विश्वविद्यालयले नयाँ नेतृत्व त पायो, तर हालत उस्तै, किन त ? के नेतृत्वमा बसेकाले चार वर्ष तलब खाएर, गाडी चढेर र विदेश भ्रमण गरेर सरकारी बजेट सिध्याउने मात्रै हो ?

५. आन्तरिक रूपमा फेरि पनि उपकुलपति एउटा दलको र रजिस्ट्रार अर्को दलको परेकाले काममा सहजताभन्दा व्यवधान नै बढी छ । यतिसम्म कि कुनै संकायका विद्यार्थीको सेमेस्टरको नतिजा प्रकाशन गर्न करिब एक वर्ष नै लाग्ने स्थितिसमेत देखा पर्न थालेको छ ।

६. आज नौ वर्षको अन्तरालमा खुला विश्वविद्यालयले नेपालका डाँडाकाँडा र दूरदराजमा विद्यालय तह पूरा गर्ने अधिकांश मान्छेलाई उच्च शिक्षामा भित्र्याइसक्नुपर्ने थियो । धेरै मान्छेलाई उच्च शिक्षा दिएर राष्ट्रिय रूपमा यसको साख जोगाइसक्नुपर्ने थियो ।

७. एउटा कार्यक्रममा ५० जनाभन्दा बढी विद्यार्थी भर्ना नगर्ने नीति बनाएर नेपाल खुला विश्वविद्यालयले आफैंलाई खुम्चाएको छ । अहिलेसम्म स्थायी रूपमा न कुनै प्रादेशिक सम्पर्क केन्द्र छ न केन्द्रीय कार्यालयको आफ्नै भवन । सानो ठिमीमा जग्गा सरकारले दिएको छ, निर्माणका लागि छुट्याइएको करोडौं रकम अलपत्र छ तर नेपाल खुला विश्वविद्यालय भाडाको साँघुरो कोठामा नै रमाइरहेको छ ।

८. मुस्किलले दुई हजार विद्यार्थी पढाउने यस विश्वविद्यालयलाई विश्वविद्यालय अनुदान आयोगले वार्षिक करिब १० करोड लगानी गर्छ । यस विश्वविद्यालयले विद्यार्थी शुल्कबाट आफ्नै आय पनि गर्छ । तर न नयाँ प्रविधिको प्रवेश न नयाँ सोच, अनि कसरी सप्रन्छ विश्वविद्यालय ?

९. शुल्कका दृष्टिकोणले पनि यो विश्वविद्यालय विद्यार्थीमैत्री छैन । जसका लागि फाइदा होस् भनेर विश्वविद्यालय स्थापना गरियो, तिनै समूहको प्रवेशलाई शुल्कले छेकवार गरिदिएपछि सीमान्तकृत, गरिब र पछाडि पारिएका समूह उच्च शिक्षाका लागि कहाँ जाने ?

१०. शिक्षामन्त्री कुलपति भएको यो नेपालकै एउटा मात्रै विश्वविद्यालय हो । यसको अर्थ शिक्षा मन्त्रालय र नेपाल खुला विश्वविद्यालयको समन्वयमा थुप्रै काम हुन सक्छन् । तर भएन किन ? कुलपतिको हैसियतले शिक्षामन्त्रीले चासो नलिने हो र हस्तक्षेप नगर्ने हो भने खुला विश्वविद्यालय सदाका लागि बन्द हुन सक्छ ।

मनप्रसाद वाग्ले, मीनभवन, काठमाडौं

प्रकाशित : वैशाख १७, २०८१ ०५:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदा प्रदेश सभाको बैठकमै उपस्थित नहुने कांग्रेसको शैलीबारे तपाईंको के टिप्पणी छ ?