प्रधानमन्त्री कप एनभीए भलिबल लिग अर्को महिना

काठमाडौँ — नेपाल भलिबल संघको आयोजनामा आठौं प्रधानमन्त्री कप एनभीए पुरुष तथा महिला भलिबल लिग जेठ १९ गतेदेखि हुने भएको छ । प्रतियोगितामा पुरुषमा ८ र महिलामा ६ गरी १४ टिमको सहभागिता रहने आइतबार आयोजित पत्रकार सम्मेलनमा भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले बताए ।  

प्रधानमन्त्री कप एनभीए भलिबल लिग अर्को महिना

चैतमा काठमाडौंमा भएको आठौं आरबीबी एनभीए पुरुष तथा महिला भलिबल प्रतियोगितालाई आधार मानी टिम छनोट गरिएको हो । पुरुषमा शीर्ष ८ तथा महिलामा शीर्ष ६ स्थान हात पार्ने टोली लिगमा सहभागी हुनेछन् ।

पुरुषमा टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लब, नेपाल एपीएफ क्लब, नेपाल आर्मी, नेपाल प्रहरी क्लब, कोशी प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र बूढानीलकण्ठ भलिबल क्लब तथा महिलामा प्रहरी, एपीएफ, न्यु डायमन्ड, आर्मी, एभरेस्ट भलिबल क्लब, बुटवल र कर्णाली प्रदेशले खेल्नेछन् ।

पुरुषमा टिपटप र महिलामा प्रहरी डिफेन्डिङ च्याम्पियन हुन् । पुरुष/महिलामा सहभागी टिमले राउन्ड रोविन लिगमा एकआपसमा खेल्नेछन् । शीर्ष २ स्थानमा रहने टोली पुनः उपाधिका लागि भिड्नेछन् । पुरुष र महिला दुवैमा शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः ८ लाख, ४ लाख र २ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।

सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार, विधागत उत्कृष्टतर्फ लिब्रो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकलाई जनही २० हजार नगदसहित पुरस्कृत गरिने भलिबल संघले जनाएको छ । उपत्यका बाहिरका टिमलाई १ लाख २० हजार रुपैयाँ उपलब्ध गराइनेछ । उपत्यकाका टिमको हकमा खाजा खर्चबापत प्रत्येक दिन प्रत्येक खेलाडीले जनही २ सय ५० रुपैयाँ पाउनेछन् । प्रतियोगिताको कुल पुरस्कार राशि ३१ लाख ४० हजार रुपैयाँ रहेको छ ।

राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आठ दिनसम्म चल्ने प्रतियोगिता सञ्चालन गर्न करिब ७५ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । त्यसमा राष्ट्रिय खेलकुद परिषद्ले ३५ लाख रुपैयाँ उपलब्ध गराउनेछ । बाँकी रकम प्रायोजन, ब्रोडकास्टिङ, टिकटिङ, शुभचिन्तकलगायतबाट प्राप्त हुने आयोजकको अपेक्षा छ ।

प्रकाशित : वैशाख १६, २०८१ २२:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले यस वर्ष ल्याउने वार्षिक नीति तथा कार्यक्रम मुख्य रुपमा कुन क्षेत्रमा बढी केन्द्रित हुनुपर्छ ?