कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

युट्युबले हटायो तीन महिनामा भारतका २२ लाख भिडियो

एजेन्सी

काठमाडौँ — सन् २०२३ को तीन महिनामा मात्रै युट्युबले भारतका २२ लाख ५४ हजारभन्दा धेरै भिडियो हटाइदिएको जनाएको छ । भारतपछि सर्वाधिक धेरै भिडियो हटाइएको अर्को देश सिंगापुर हो । सिंगापुरबाट अपलोड गरिएका १२ लाख ४३ हजार भिडियो युट्युबले अक्टोबरदेखि डिसेम्बरबीच प्लाटफर्मबाट हटाइदिएको थियो । संयुक्त राज्य अमेरिका, इन्डोनेसिया, रुस, ब्राजिल, पाकिस्तान, बंगलादेश, जर्मनी र फिनल्यान्डबाट अपलोड गरिएका भिडियो पनि युट्युबले अधिक संख्यामा हटाएको देखिन्छ ।

युट्युबले हटायो तीन महिनामा भारतका २२ लाख भिडियो

युट्युबको प्यारेन्ट कम्पनी गुगलले यो साता सार्वजनिक गरेको ‘युट्युब कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट’ प्रतिदेवनमा विश्वभरबाट तीन महिनामा कुल २ करोड ५ हजार ९२ हजार ३ सय ४१ वटा युट्युबल च्यानल खारेज गरिएको उल्लेख छ । च्यानल खारेज भएपछि स्वत: डिलिट भएका भिडियोसमेत जोड्दा यो अविधिमा ९ करोड ५५ लाख ३४ हजार वटा कन्टेन्ट युट्युबले हटाएको छ । यसमा भातरबाट अपलोड भएका भिडियो सबैभन्दा धेरै हटेका हुन् ।

युट्युबका अनुसार ९६ प्रतिशत भिडियो ‘अटोमेटेड फ्ल्यागिङ सिस्टम’ मार्फत हट्ने गरेका छन् । यसको अर्थ युट्युबको कम्युनिटि गाइडलाइन्स पालना नगरिएका कन्टेन्ट (भिडियो) सफ्टवेयरले स्वत: पत्ता लगाएर डिलिट गरिदिएको थियो । बाँकी ४ प्रतिशत कन्टेन्ट भने युट्युबका जनशक्तिले एक-एक हेरेर हटाइदिएको कम्पनीको दाबी छ । युट्युबको कम्युनिटी गाइडलाइन्सअनुसार अश्लील र हिंसा दुरुत्साहन गर्ने सामग्रीसँगै उत्पीडन र घृणास्पद अभिव्यक्ति भएका कन्टेन्ट यस प्लाटफर्ममा अपलोड गर्न पाइदैन ।

कुनै युट्युब च्यानलले ९० दिनमा तीनवटा कम्युनिटी गाइडलाइन्स विपरितका कन्टेन्ट अपलोड गरेमा, एउटा मात्रै गम्भिर प्रकृतिको दुर्व्यवहारसहितको भिडियो राखेमा वा गाइडलाइन्सविपरीत काम गर्ने नियत देखिएमा त्यस्ता च्यानल खारेज गरिने युट्युबले जनाएको छ । पछिल्लो समय सबैभन्दा धेरै ९२.८ प्रतिशत च्यानल स्पाम वा मिसलिडिङ कन्टेन्ट अपलोड भएकाले खारेज गरिएको युट्युबको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, नग्नता वा यौन सामग्री अपलोड गरिएका ४. ५ प्रतिशत र भ्रामक सामग्री अपलोड भएका ०.९ प्रतिशत च्यानल रिमुभ गरिएको प्रतिवेदनमा भनिएको छ । सरकारको आग्रहमा पनि युट्युबले भिडियोहरू हटाउने गरेको छ ।

सबैभन्दा धेरै भिडियो रिमुभ भएका देशमा पहिलोमा भारत, दोस्रोमा सिंगापुर, तेस्रो संयुक्त राज्य अमेरिका, चौथो इन्डोनेसिया र पाँचौंमा रुस छन् । यस अवधिमा १ अर्ब १९ करोड ७६ लाखभन्दा धेरै कमेन्ट पनि युट्युबले हटाइदिएको थियो ।

प्रकाशित : चैत्र १५, २०८० १२:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?