कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४५

अब त्रिविले समयमै परीक्षा संचालन र नतिजा प्रकाशन गर्नेछ : रेक्टर केसी 

'संस्थामा सकुशल ढंगले कार्य गर्न परिस्थिति सहज छैन । विश्वविद्यालयमा दलीय छाप हटाउने भनिएपछि अहिले पनि धम्की, चेतनावनी आइरहेका छन् । यद्यपि मेरो लक्ष्य सधैँ शिक्षामा प्रोफेसनलिजम ल्याउने प्रयत्न भइरहने छ'

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयका रेक्टर (शिक्षाध्यक्ष) प्रोफेसर डा. खड्ग केसीले समयमै परीक्षा संचालन र नतिजा प्रकाशन हुने बताएका छन् । आफूसँग त्रिविका लागि काल्पनिक योजना नभएको उनको भनाइ छ । 

अब त्रिविले समयमै परीक्षा संचालन र नतिजा प्रकाशन गर्नेछ : रेक्टर केसी 

त्रिविको रेक्टर भएपछि शिक्षा क्षेत्रमा पूरै रुपान्तरण ल्याउँछु भनेर काल्पनिक योजना नरहेको केसीको भनाइ छ । रासस संवाददाता मधु शाहीसँगको कुराकानीमा आफ्ना योजनाबारे केसीले भनेका छन्, 'मैले शिक्षाध्यक्ष भएपछि शिक्षामा पूरै रुपान्तरण ल्याउँछु भन्ने काल्पनिक योजना केही छैनन् । यद्यपि मलाई दिइएको भूमिका र कार्यविवरणअनुसार गर्नुपर्ने सबै कार्य नियमितरुपमा गर्ने त छँदैछ । केही महत्वपूर्ण पक्षमा समयसापेक्ष सुधार गर्न आवश्यक ठानेको छु । उदाहरणका लागि, विश्वविद्यालयको प्राज्ञिक क्षेत्रमा गुणस्तरियता कायम गर्न पाठ्यक्रममा सामयिक सुधार गर्ने र नियमित ढंगबाट परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन गर्नका लागि वार्षिक शैक्षिक क्यालेन्डरलाई अनुसरण गर्नेजस्ता कार्य प्रभावकारी रुपमा गर्न ठोस खाका बनाएको छु ।'

समाजअनुसार मुलुकका संस्थाहरूमा पनि प्रभाव परेको रेक्टर केसीको भनाइ छ । उनले सरकारले दिएको जिम्मेवारी पालना गर्दा सबै परिस्थिति भुलेर संस्थाको हितमा काम गर्नुपर्छ भन्ने आफूलाई लागेको बताए । 'संस्थामा सकुशल ढंगले कार्य गर्न परिस्थिति सहज छैन । विश्वविद्यालयमा दलीय छाप हटाउने भनिएपछि अहिले पनि धम्की, चेतनावनी आइरहेका छन् । यद्यपि मेरो लक्ष्य सधैँ शिक्षामा प्रोफेसनलिजम ल्याउने प्रयत्न भइरहने छ,' उनले भनेका छन् ।

त्रिविका मानविकी, व्यवस्थापन तथा विज्ञानलगायत हाल ९ संकायकै पाठ्यक्रम आगामी पहिलो वर्षमा नै समायानुकूल परिमार्जन गर्ने योजना रहेको पनि केसीले जानकारी दिएका छन् । पाठ्यक्रम परिमार्जनका लागि सरोकारवाला निकाय, राज्यका निकायहरु खास गरेर तालुकात मन्त्रालयहरूसँग आवश्यक छलफल गरेर पाठ्यक्रम तयार पार्न रहेको पनि उनको भनाइ छ ।

शिक्षकहरू समयसापेक्ष हुनु आवश्यक रहेको केसीले बताएका छन् । उनले पुरानै शैलीको अध्यापन पर्याप्त नहुने बताएका छन् । 'शिक्षक समयसापेक्ष हुन आवश्यक छ । पुरानै शैलीमा पढाउँदै आएका हाम्रा शिक्षकले अबको प्रविधिको युगमा पर्याप्त बौद्धिकता नपुग्न सक्छ । शिक्षक हरेक समय बदलिँदो परिस्थितिअनुसार अपडेट भइरहनुपर्छ,' उनले भने, 'त्यसैले त्रिविमा दुई किसिमका शिक्षकको तालिम आवश्यक छ । एउटा समय अनुकूल पढाउन शिक्षकको क्षमता अभिवृद्धिको तालिम दिने, अर्को मध्यम तहका व्यक्तिहरुलाई समेट्ने खालको शैक्षिक तालिम दिनका लागि पर्याप्त स्रोतको खाँचो पर्दछ । स्रोतको जोहो गर्न विश्व बैंकसँग छलफल र समन्वय गरिरहेका छौँ । वास्तवमा शिक्षामा गरिएको लगानीलाई परिणाममुखी बनाउनु पर्दछ भन्ने नै हो ।'

त्रिविको अनुसन्धान केन्द्रका लागि पर्याप्त बजेट नभएको रेक्टर केसीको भनाइ छ । उनले शिक्षा क्षेत्रमा अनुसन्धानमा गरिने लगानीले ज्ञान उत्पादनमा टेवा पुग्ने र राज्यलाई नै फाइदा हुने बताए । 'त्रिविमा विद्यावारिधि गरिरेहका विद्यार्थीहरूले आफ्नै खर्चमा अनुसन्धान कार्य गरिरेको अवस्था छ । अन्य देशमा भने यस तहको विद्यार्थीलाई अध्ययन अनुसन्धानमा सहज होस् भन्ने उद्देश्यले छुट्टै कोषको व्यवस्था गरिएको हुन्छ । त्यसैले त्रिविले पनि यस्तो खालको अभ्यास गर्न जरुरी छ । अनुसन्धान प्रणालीलाई सहज र परिणाममुखी बनाउन पिएचडीमा अध्ययनरत विद्यार्थीका लागि फेलोशिप रकम उपलब्ध गराउनु पर्दछ,' केसीले भने, 'यसका लागि अर्थ मन्त्रालयसँग तीन वर्षदेखि ५० करोड बजेट माग गर्दै आएका छौँ । अब हाम्रो जस्तो विकासोन्मुख देशमा राज्य आफैँले गर्नका लागि केही सीमितताहरु होलान् तर विगतको तुलनामा केही बजेट बढ्छ कि भन्ने विश्वास छ । खासगरी, विज्ञान संकायमा प्रयोगशालाकै लागि मात्र ५० करोड व्यवस्थापन गर्नुपर्नेछ ।'

समयमै परीक्षा सञ्चालन र नतिजा प्रकाशन गर्न नसक्नु त्रिविको पुरानो रोग बनेको अवस्थालाई कसरी सम्बोधन गर्ने योजना छ भन्ने प्रश्नको जवाफमा केसीले भनेका छन्, 'त्रिविका विद्यार्थीले परीक्षा क्यालेन्डरको थिति नहुँदा धेरै दुःख पाएका छन् । म शिक्षाध्यक्ष भइसकेपछि सुधार्नुपर्ने पहिलो कार्य पनि यही नै हो । अब विद्यार्थीले समयमा परीक्षा दिन नपाएर निराश हुनुपर्ने स्थिति आउने छैन । यो मेरो प्रमुख दायित्वभित्र पर्छ ।'

प्रकाशित : वैशाख १५, २०८१ १२:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?