कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४७

रन वर्षा ‘इम्प्याक्ट सब्स्टिच्युट’ का कारण

एएफपी

दिल्ली — इन्डियन प्रिमियर लिगमा रन वर्षाको कारण मानिएको छ ‘इम्प्याक्ट सब्स्टिच्युट’ नियमको चलाखीपूर्ण प्रयोग । यसपल्टको प्रतियोगितामा रनको एकपछि अर्को कीर्तिमान बनिरहेको छ । सनराइजर्स हैदराबादले सोमबारमात्रै रोयल च्यालेन्जर्स बेंगलुरुविरुद्ध तीन विकेटमा २ सय ८७ रन बनायो । हैदराबादले आईपीएलमा आफैंले बनाएको सर्वाधिक स्कोरको पुरानो कीर्तिमान भंग गर्‍यो ।

रन वर्षा ‘इम्प्याक्ट सब्स्टिच्युट’ का कारण

टोलीले तीन साताअगाडि मुम्बई इन्डियन्सविरुद्ध ३ विकेटमा २ सय ७७ रन बनाएको थियो । यसपल्ट हैदराबादका लागि ट्रेभिस हेडले ३९ बलमा शतक बनाए । यो प्रतियोगिताको १७ वर्ष लामो इतिहासमा सबैभन्दा चौथो तीव्र गतिको शतक रह्यो । त्यसपछि हेनरिक क्लासेनले ३१ बलमा ६७ रन बनाए ।

आफ्नो टिमको २५ रनको जितपछि क्लासेनले भनेका थिए, ‘इम्प्याक्ट खेलाडीले धेरै ठूलो फरक ल्याएका छन् ।’ यो नियम गत वर्षमात्रै ल्याइएको थियो । त्यसअनुसार टसपछि कुनै पनि समय सुरुआती सूचीमा रहेका खेलाडीलाई सब्स्टिच्युट गर्न सकिनेछ । यस नियमअनुसार पहिले ब्याटिङ गर्ने टिमले ठुल्ठूला शट प्रहार गर्न सक्ने ब्याटरलाई तल्लो क्रममा खेलाउने गर्छ ।

पछि आफ्नो बलिङको पालोमा उनको स्थानमा बलरलाई ल्याउने गर्छ । यस्तै बलरलाई दोस्रोपल्ट ब्याटिङ गर्दा उनको स्थानमा ब्याटरलाई ल्याउन सकिन्छ । भारतीय महिला क्रिकेटका पूर्वकप्तान मिथाली राजले स्टार स्पोटर््स प्रेस मिटमा सोमबार भनेकी छन्, ‘इम्प्याक्ट प्लेयरको नियमले पक्कै पनि काम गरेको छ ।’ कुनै पनि टिमले एक भारतीयसहित पाँच खेलाडीमध्ये सब्स्टिच्युट खेलाडीको रूपमा प्रयोग गर्न सक्छ ।

यसका लागि मैदानमा चारभन्दा कम विदेशी खेलाडी सुरुआती सूचीमा भने हुनुपर्छ । यही नियममा टिकेर टिमहरूले अन्तिम केही ओभरमा अत्यधिक रन बनाइरहेका छन् । मिथाली भन्छिन्, ‘यो नियमले कुनै पनि टिमलाई अत्यधिक रन बनाउन मदत गरेको छ । विशषतः लक्ष्य पछ्याइरहेको टिमलाई ।’

सबैखाले ट्वान्टी–२०क्रिकेटमा हैदराबादको स्कोर दोस्रो ठूलो हो । गत वर्ष हाङचाउमा भएको १९ औं एसियाली खेलकुदमा नेपालले मंगोलियाविरुद्ध ३ विकेट गुमाएर बनाएको ३ सय १४ रन नै अहिलेसम्मको ठूलो स्कोर हो । सोमबारको खेलमा बेंगलुरुले जवाफमा ७ विकेट गुमाएर २ सय ६२ रन बनायो । यसरी समग्रमा कीर्तिमानी ५ सय ४९ रन पनि बन्यो ।

सब्स्टिच्युट खेलाडी अनुज रावतले १४ बलमा २५ रन बनाए पनि बेंगलुरु २० रनले पछाडि परेको थियो । टेलिभिजनमा कमेन्ट्री गरिरहेका इंग्ल्यान्डका पूर्वब्याटर केभिन पिटरसनले नडराइकन खेल्ने तरिकाले पनि ठूलो रन बनिरहेको बताएका छन् ।

मार्च २७ मा हैदराबादले मुम्बईविरुद्ध २७७–३ को कीर्तिमान बनाएको भोलिपल्ट कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सविरुद्ध विजय हात पार्दा २७२–७ को स्कोर बनाएको थियो । उक्त खेलमा सुनिल नारिनले कुनै डर विना खेल्दै ३९ बलमा ८५ रन बनाएपछि दिल्लीका प्रशिक्षक रिकी पोन्टिङ सब्स्टिच्युटको प्रयोगले शीर्षपंक्तिका ब्याटरलाई शान्तपूर्ण शट प्रहार गर्न अवसर दिएको जनाउँछन् ।

‘मलाई लाग्छ इम्प्याक्ट खेलाडीले गर्दा नै कोलकाताले यो स्कोर बनाएको हो,’ पोन्टिङले हारपछि भनेका थिए, ‘यसले एउटा के तथ्य देखाएको छ भने ९ नम्बरसम्ममा राम्रो ब्याटरहरू आएर खेल्ने गरेका छन्, कहिलेकाहीं विशेष ब्याटरले पनि आठौं नम्बरमा ब्याटिङ गर्ने गरेका छन् । निश्चय पनि यसले अन्य ब्याटरलाई खुलेर खेल्ने वातावरण बनाइरहेको छ ।’

तर, यसले अलराउन्डरको भूमिका घट्दै गएको तीव्र गतिका पूर्व भारतीय बलर इरफान पठानले चिन्ता व्यक्त गरेका छन् । ब्याटिङ र बलिङपछि उसलाई परिवर्तन गरिने हुनाले अलराउन्डरको भूमिका खुम्चिँदै गएको तर्क पठानको छ । ‘इम्प्याक्ट खेलाडीको नियमले क्रिक्रेटमा रोमाञ्च त प्रदान गरेको छ, जसले खेलमा ठूलो स्कोर बन्ने गरेको छ,’ पठानले भने, ‘तर, भारतीय क्रिकेटले अलराउन्डरको बारेमा अगाडि बढ्ने विषयमा सोच्नुपर्छ ।’

प्रकाशित : वैशाख ५, २०८१ ०६:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?