कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६१

इलाम-२ उपनिर्वाचन : एमालेका सुहाङ नेम्वाङ विजयी

सुहाङले जोगाए सुवासको विरासत 

इलाम — प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर २ मा एमालेले करिब तीन दशकदेखि चुनाव जित्दै आएको आफ्नो विरासत जोगाएको छ । 

इलाम-२ उपनिर्वाचन : एमालेका सुहाङ नेम्वाङ विजयी

मंगलबार बिहान साढे ४ बजे जारी अन्तिम मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ २७ हजार ७ सय ७२ मत पाएर विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत पाए ।

२०७९ को निर्वाचनमा उनी सुवास नेम्वाङसँग ११४ मत कम ल्याएर हारेका थिए । यसपटक नेम्वाङ पुत्र सुहाङले ५ हजार ८ सय ३० मतान्तरले हराएका छन् ।

‘जितको सम्पूर्ण श्रेय मेरा इलामेली जनता र मेरो पार्टी नेकपा एमालेलाई दिन चाहन्छु ,’ जितपछि मतदाताहरुलाई धन्यवाद दिँदै सुहाङले भने,‘पार्टीले अवसर र जनताले भोट नदिएको भए यो जित सम्भव थिएन ।’

२०८० भदौ २७ मा पूर्व सभामुख तथा पूर्व संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि इलाम-२ रिक्त थियो । रिक्त क्षेत्रको उपनिर्वाचनमा एमालेले गत चैत ११ मा नेम्वाङ पुत्र सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

एमालेको यो निर्णयलाई धेरैले परिवारवादको आरोप पनि लगाएका थिए । एमालेका केही नेता कार्यकर्ताहरुको असन्तुष्टिलाई चिर्दै एमालेले निर्णय नफेर्ने अडान लिएको थियो । उम्मेदवारी दर्तापछि सुहाङको पक्षमा जनाधार सिर्जना गर्न एमाले अध्यक्षसहितका दर्जनौं नेता पटकपटक इलाम आएका थिए । जसले एमालेभित्रको असन्तुष्टि मेट्न सहयोग गर्‍यो । ‘पार्टीको निर्णयलाई लागू गर्न हामी एक ढिक्का भएर लाग्यो र आज यो नतिजा हात लाग्यो’, एमालेका जिल्ला नेता उमेश गुरुङले भने ।

अन्तिम परिणामअनुसार पहिचानवादी शक्ति तेस्रो शक्तिको रुपमा उदाएको छ । प्रदेश-१ लाई कोशी प्रदेश नामाकरण गरेको विरोधमा आन्दोलित पूर्वका जनजातिहरुका साझा उम्मेदवार थिए, पहिचानवादी नेता डकेन्द्र सिं थेगिम ।

विगतमा शिक्षक रहेका उनी पछिल्लो समय प्रदेश नम्वर १ पुनः नामांकन संघर्ष समितिका संयोजक पनि हुन् । एमाले–कांग्रेस जस्ता मूलधारका राजनीतिक शक्तिबीचबाट एकाएक नयाँ शक्तिको रुपमा उदाएका पहिचान पक्षका स्वतन्त्र उम्मेदवार थेगिम भन्छन्,‘मैले प्राप्त गरेको मत धेरै अर्थपूर्ण छ । पहिचानप्रति जनताले मलाई दिएको विश्वासको मतको रुपमा मैले लिएको छु ।’ उनले ११ हजार ४५७ मत पाए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूले ५ हजार ५०मत पाए । २०७९ को निर्वाचनमा रास्वपाका प्रकाश सापकोटाले १ हजार ३ सय ८० मत पाएका थिए । लिम्बू पुरानो मत संख्यालाई थोरै सुधार्ने बाहेक केही गर्न सकेनन् ।

निर्वाचन कार्यालय, इलामका अनुसार इलाम-२ मा फाकफोकथुमका ७, चुलाचुली र माङसेवुङका ६/६, माई नगरका ३, देउमाईका ९ र इलाम नगरको वडा नम्वर १० बाहेकका ११ वटा वडा सम्मिलित छन् । कुल मतदाता १ लाख १५ हजार ८ सय ८९ रहेको यो क्षेत्रमा करिव ६९ हजार २ सय ८७ मत खसेको थियो ।

प्रकाशित : वैशाख १८, २०८१ ०५:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?