कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

बझाङ १ (१) मा एमालेले फर्कायो विरासत

बझाङ — २०७९ को निर्वाचनमा बझाङ १ (१) मा  कांगेस–माओवादीसहितको गठबन्धनका उम्मेदवारसँग एमाले पराजित भएको थियो । त्यसबेला कांग्रेसका पृथ्वीबहादुर सिंहले निकटतम प्रतिस्पर्धी एमालेका अफिलाल ओखेडालाई ३ हजार ७ सय ३६ मतले पछि पार्दै विजयी भएका थिए ।

बझाङ १ (१) मा एमालेले फर्कायो विरासत

उनै प्रदेशसभा सदस्य सिंहको सवारी दुर्घटनामा परी निधन भएपछि शनिबार यहाँ उपनिर्वाचन भएको हो । यस पटक एमालेका दमनबहादुर भण्डारीले निकटतम प्रतिद्वन्द्वी कांग्रेसका अभिषेकबहादुर सिंहलाई २ सय ६७ को झिनो मतान्तरले पराजित गर्दै निर्वाचित भए । भण्डारीले ११ हजार ६ सय १३ मत ल्याउँदा तत्कालीन प्रदेशसभा सदस्य पृथ्वीबहादुरकै छोरासमेत रहेका कांग्रेसका सिंहले ११ हजार ३ सय ४६ मत प्राप्त गरेका थिए ।

मतगणना सुरु भएदेखि नै यी दुई उम्मेदवारबीच उछिनपाछिन चलिरहेको थियो । यो उपनिर्वाचनबाट एमालेले बझाङको यस क्षेत्रलाई पुनः आफ्नो पकडमा ल्याएको हो । २०६४ को संविधानसभा निर्वाचनमा एमालेका भानुभक्त जोशी, २०७० मा मानप्रसाद खत्री र २०७४ को प्रदेशसभा निर्वाचनमा अर्जुन थापाले जितेका थिए । यतिबेला उपनिर्वाचनमा विजयी हुँदै एमालेले आफ्नो विरासत फर्काएको छ । उपनिर्वाचनमा एमाले उम्मेदवारलाई एकीकृत समाजवादीको चुनौती चर्को पर्ने अनुमान गरिएको थियो ।

एमालेको जिल्ला अध्यक्षसमेत भइसकेका एसका उम्मेदवार दिलबहादुर सिंहले एमालेकै मत काट्ने आकलन थियो । ‘२०५१ देखि नै यो क्षेत्रमा एमाले बलियो हो । पार्टी फुटेका कारण २०५६ मा कांग्रेसले जिते पनि त्यसपछि पुनः एमालेले एकछत्र जित्दै आएको थियो,’ अधिवक्तासमेत रहेका एमाले खप्तडछान्ना गाउँ कमिटी अध्यक्ष कलक खत्रीले भने, ‘समाजवादी फुट्नु अनि सिंहलाई नै उम्मेदवार बनाउँदा एमालेले केही घाटा त बेहोर्नुपर्‍यो तर संगठन बलियो भएका कारण त्यति क्षति पुर्‍याउन भने सकेनन् ।’

एसका सिंहले मात्र २ हजार ५ सय १३ मत ल्याए भने माओवादीका जनकबहादुर बुढाले ३ हजार ९ सय ६७ मत पाए । ६१ हजार ७ सय ४८ मतदाता रहेको यो निर्वाचन क्षेत्रको उपनिर्वाचनमा ४९.१२ प्रतिशत मात्रै मत खसेको थियो । यस क्षेत्रका मतदाता ठूलो संख्यामा भारत तथा अन्य देशमा मजदुरीका लागि गएकामा भोट हाल्न नफर्केका कारण कम मत खसेको विश्लेषण गरिएको छ । यद्यपि चुनावमा उम्मेदवारले ठूला आश्वासन दिने तर जनप्रतिनिधि भइसकेपछि आफ्नो क्षेत्र र जनताका समस्याप्रति नै बेवास्ता गर्ने गरेकाले मतदानमा सहभागी नभएको कतिपय यहीं भएकाले बताएका छन् । ‘भोट हाल्दाहाल्दै ७५ वर्ष लागिसकें, हामीले जिताएका नेताको जिन्दगी कहाँबाट कहाँ पुग्यो,’ मतदानको दिन भोट नहाली खेतबारीमा व्यस्त जयपृथ्वी नगरपालिकाका धनञ्जय सिंहले भने, ‘बरु खेतबारीमा लागे आफ्नो भलो होला भनेर म त भोट हाल्न पनि गइनँ ।’

जनतामा राजनीतिक दलप्रति चरम निराशाका कारण पाकादेखि युवासम्मका धेरै मतदानमा नगएको स्थानीय सामाजिक कार्यकर्ता मंगल खड्काले बताए । ‘अघिल्ला निर्वाचनमा जस्तो भारत गएकाहरू भोट हाल्नकै लागि भनेर कोही पनि फर्केनन् । यहाँ भएका नै कतिपय मतदान गर्नै गएनन्,’ उनले थपे, ‘विगतमा उम्मेदवारले दिएका आश्वासन जितेपछि पूरा नगरेका कारण मतदातामा यो निराशा देखिएको हो ।’ जितेर गएपछि जनताका समस्याभन्दा आफ्ना र कार्यकर्ताका चाहना पूरा गर्ने नेताहरूको चरित्रका कारण यो अवस्था आएको खड्का टिप्पणी गर्छन् ।

भण्डारी गाविस अध्यक्षदेखि प्रदेशसभासम्म

छबिसपाथिभेरा गाउँपालिकाको भण्डारी गाउँमा जन्मिएका नवनिर्वाचित ५७ वर्षीय दमनबहादुर भण्डारीले २०४१ देखि अनेरास्ववियुबाट विद्यार्थी राजनीतिक सुरु गरेका थिए । बझाङमा लैंगिक हिंसाविरुद्ध अभियानसमेत चलाएका भण्डारी एमालेभित्र भद्र र शालीन व्यक्तिका रूपमा चिनिन्छन् ।

२०५४ मा तत्कालीन मटेला गाविसको अध्यक्षमा निर्वाचित भएयता उनी लाभको पदमा थिएनन् । २०५५ मा एमाले जिल्ला सदस्य हुँदै २०६९ को सातौं अधिवेशनबाट पार्टीको जिल्ला सचिव र पछि अध्यक्ष पनि भए । यो उपनिर्वाचनका लागि क्षेत्रीय समन्वय कमिटीमा ६ जना आकांक्षीबीचको आन्तरिक मतदानमा सबैभन्दा बढी मत पाएर उम्मेदवार छनोट भएका भण्डारीले निर्वाचित भएपछि भने जनताका आधारभूत समस्या सम्बोधन गर्ने र प्रदेशसभाको बिग्रँदो छवि सुधार्न भूमिका खेल्ने बताए ।

प्रकाशित : वैशाख १८, २०८१ ०६:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?