कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०९
विष्लेषण

'अवस्था' र 'व्यवस्था बदल्ने'लाई उपचुनावले दिएको एकमुष्ट सन्देश

जुन तहमा देशव्यापी हल्ला र रास्वपा नेताहरूलाई २०८४ को चुनावको हतारो थियो त्यसलाई भने अब यो चुनावी परिणामले केही मत्थर पार्नसक्छ।
गणतन्त्र फालेर राजतन्त्र ल्याइहाल्ने सपना बुनेर बेला-बेलामा सडकमा समेत उत्रन थालेका राजेन्द्र लिङ्देन र रवीन्द्र मिश्रहरूका लागि त यो चुनावी परिणाम निकै ठूलो झापड हो ।
डकेन्द्र थेगिमले पाएको मतको गुरुत्व जाँच्ने हो भने कोशीमा उल्लेख्य मत आगामी दिनमा पहिचानको पक्षतर्फ जान सक्छ भन्ने आधार दिएको छ ।
दुर्गा खनाल

काठमाडौँ — प्रतिनिधिसभा इलाम-२ र प्रदेशसभा बझाङ-१ मा भएको उपनिर्वाचनको नतिजा सार्वजिनक भएको छ । इलाम र बझाङ दुवै स्थानमा एमालेका उम्मेदवार विजयी भएका छन् । झट्ट हेर्दा प्रतिनिधिसभा र प्रदेशसभाको एक-एक रिक्त स्थान भर्नका लागि भएको जस्तो देखिए पनि यो चुनाव राजनीतिक दलहरूको पछिल्लो डेढ वर्षमा बदलिएको हैसियत वैधानिक रूपमा परीक्षण गर्ने महत्त्वपूर्ण अवसर थियो । 

'अवस्था' र 'व्यवस्था बदल्ने'लाई उपचुनावले दिएको एकमुष्ट सन्देश

डेढ वर्षअघि २०७९ मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा चुनावपछि बदलिँदै गरेको जनमनस्थिति तथा नयाँ राजनीतिक दल र समूहबीच झाँगिदै गएको 'अतिविश्वास' एवं पुराना दलहरूबीच बढ्दै गएको 'अति हतोत्साह' यो चुनावी परिणामले समीक्षा गरेको छ ।

मतपरिणामले पछिल्लो समय देखिएका केही प्रवृत्तिहरूको 'हैसियत' देखाएको छ भने पुराना दलहरूलाई पनि आफ्नो जनमतमा कसरी बदलाव आएको छ भन्ने छर्लङ पारिदिएको छ ।

लागौं इलामतर्फ, इलाम-२ को उपचुनाव यसपटक एमालेका लागि निकै ठूलो परीक्षणका रूपमा थियो । यसअघिका करिब सबै चुनावमा एमालेले जित्दै आएको भएपनि २०७९ को चुनावमा सुवास नेम्वाङ ११४ मतको मात्र अन्तरमा विजयी भएका थिए । अघिल्लो चुनावमा निकै चर्को प्रतिस्पर्धा सामना गर्नुपरेको एमाले सुवासको निधनपछि उनकै छोरालाई अघि सारेर चुनावमा होमिएको थियो ।

विगतमा राजनीतिक गतिविधिमा सामेल नभएका सुवासका छोरा सुहाङ नेम्बाङ एकैपटक उम्मेदवारका रूपमा इलाम छिरेपछि त्यहाँ एमालेको एउटा पार्टीपंक्तिमा केही अमिलोपन पनि आएको थियो । पार्टीभित्रको समस्या ठूलो नभए पनि त्यहाँ कोशी प्रदेशमा एमालेविरुद्ध चर्किएको आन्दोलन निकै प्रतिकूल थियो ।

कोशी प्रदेश नामकरणविरुद्ध एउटा समूह त्यहाँ आन्दोलित थियो । आन्दोलनको पाँचथर इलामलगायत जनजातिबहुल क्षेत्रहरूमा प्रभाव ज्यादा देखिएको थियो । विशेषगरी एमालेका नेताहरूलाई प्रवेश नै निषेध गर्ने गतिविधि त्यस क्षेत्रमा हुँदै आएका थिए । यो पृष्ठभूमिमा जनजातिबहुल निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गर्न गएको एमालेका लागि बाहिरबाट अवस्था प्रतिकूल देखिन्थ्यो । तर चुनावी परिणाम त्यस्तो रहेन । सुहाङले ५८ सय ३० मतको अन्तरले जिते । यो परिणामले कोशी प्रदेशमा एमाले निषेध गर्छौं भन्ने आवाजलाई जवाफ दिएको छ । जितका कारण अब कोशीमा एमालेको आत्मविश्वास पलाएको छ । त्यसो त यसपालि इलाममा एमालेलाई माओवादी, नेकपा र परिवार दलको समर्थन पनि थियो । रह्यो निकटतम् प्रतिद्वन्द्वी कांग्रेस, उसले पनि विगतमा भन्दा केही मत घटाए पनि जनाधार धेरै बिग्रेको छैन भन्ने चुनावको सन्देश छ ।

एमाले- कांग्रेस पहिलो र दोस्रो भए पनि, इलाम-२ मा स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिम लिम्बूले ल्याएको मत महत्वपूर्ण छ । पहिचानवादी आन्दोलनमा लागेकाहरूका उम्मेदवारको रूपमा खडा भएका थेगिमले ११ हजार ४ सय ५७ मत प्राप्त गर्नु कोशीमा बदलिएको मनस्थितिको प्रतिबिम्ब हो ।

थेगिमले कुनै-कुनै पालिकाका वडाहरूमा निकै धेरै मत प्राप्त गरेका छन् । यसले कुनै निश्चित स्थानमा पहिचानको मुद्दाले निकै ठूलो जरा गाडेको छ भन्ने पनि देखिन्छ । कुल मत जोड्दा परिणाम हासिल गर्नका लागि काफी नहोला, तर त्यो मतको गुरुत्व जाँच्ने हो भने कोशीमा उल्लेख्य मत आगामी दिनमा पहिचानको पक्षतर्फ जान सक्छ भन्ने विष्लेषणका लागि आधार भने दिएको छ ।

इलामको उपचुनाव विशेषगरी नयाँ उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीका लागि पनि एउटा 'टेस्टकेस' थियो । पुराना पार्टीहरू खत्तम नै हुन् भन्ने भाष्य निर्माण गर्दै हिँडिरहेका रास्वपाका नेताहरूका लागि यो चुनावले निकै ठूलो सन्देश छोडेको छ ।

२०७९ को चुनावमा २० सिट र २०८०को उपचुनावमा चितवन र तनहुँमा पनि जित हासिल गरेपछि रास्वपाका नेताहरू 'मिसन-८४' मा लागेका थिए । चुनाव भएको एक वर्ष नपुग्दै २०८४ सालको चुनावमा पहिलो पार्टी बन्ने सपना बोकेर हिँडेका नेताहरू इलामको उपचुनाव जितेर त्यो सन्देश दिन चाहन्थे । त्यसैले यो चुनावमा रास्वापाका मन्त्रीहरूले चुनाव अवधिभर पालैपालो गएर इलाममै बिताए । सामाजिक सञ्जालमा आक्रामक प्रचार गरे । तर त्यहाँ रास्वपा उम्मेदवार मिलन लिम्बूले जम्मा ५०५० मत मात्र प्राप्त गरे । हुन त २०७९ को चुनावमा रास्वपाका प्रकाश सापकोटाले ल्याएको १ हजार ३ सय ८० मतको तुलनामा मिलन लिम्बूको ५०५० मत बढी नै हो । तर जुन तहमा देशव्यापी हल्ला र रास्वपा नेताहरूलाई २०८४ को चुनावको हतारो थियो त्यसलाई भने अब यो चुनावी परिणामले केही मत्थर पार्छ ।

यो चुनावले अर्को ठूलो सन्देश 'राजावादी' हरूलाई दिएको छ । गणतन्त्र फालेर राजतन्त्र ल्याइहाल्ने सपना बुनेर बेला-बेलामा सडकमा समेत उत्रन थालेका राजेन्द्र लिङ्देन र रवीन्द्र मिश्रहरूका लागि त यो चुनावी परिणाम निकै ठूलो झापड हो । इलाममा राप्रपाले ४०४ मत प्राप्त गरेको छ भने बझाङमा २४२ मत आएको छ ।

राजतन्त्र फर्काइहाल्ने एजेन्डा बोक्नेहरूको यो बिजोग देखिएपछि अब अभिनन्दको नाममा जिल्ला-जिल्ला हिँड्न थालेका ज्ञानेन्द्र शाहको दौडधुप पनि रोकिन सक्छ । ज्ञानेन्द्र शाहीहरूको हल्लाखल्ला गर्ने गला पनि केही समय अवरुद्ध हुनेछ ।

चुनावी परिणामले तराईमा उदाएको जनमत पार्टी र नेकपा एकीकृत समाजवादीका लागि पनि गतिलो सन्देश छोडेको छ । तराई क्षेत्रमा वैकल्पिक पार्टीको रूपमा उदाएपछि जनमत पार्टीका अध्यक्ष सीके राउत पहाडी क्षेत्रमा आफ्नो प्रभाव विस्तार गर्न चाहिरहेका थिए । त्यसैले उनले इलाम र बझाङ दुवै स्थानमा उम्मेदवारी दिएका थिए । इलाममा जनमत तान्नका लागि अध्यक्ष राउत लारुम्बास्थित धर्मुगुरुको मुकाममा समेत पुगेका थिए । इलाममा जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङले पाएको ११८ मत र बझाङमा सुशीला विष्टले पाएको २६ मत सीके राउतका लागि पहाड क्षेत्रको सन्देश हो ।

एमालेबाट विभाजित भएको एकीकृत समाजवादी पार्टीभित्र भने किन छुट्टै पार्टीका रूपमा बसिराख्ने भन्ने बहसलाई अझ चर्काउन इलाम र बझाङको मतरिणाम मसला बन्न सक्छ । गत चुनावमा ३ प्रतिशत मत कटाउन नसकेर राष्ट्रिय पार्टीको हैसियतमा नआएपछि नै नेकपा एसको अस्तित्वको प्रश्न उठ्दै आएको छ । सत्ता फेरबदलमा अहिले निर्णायक भूमिकामा देखिए पनि पार्टी खिइरहेको भन्दै त्यहाँ बहस चलिरहेको छ । अन्य विचार मिल्ने दलहरूसम्मको एकताका कुरा पनि त्यहाँ उठिरहेका छन् । अब इलाम र बझाङको मतपरिणामलाई टेबुलमा राख्नेहो भने त त्यो बहस झन् चर्किन सक्छ ।

इलाम नेकपा एसका सम्मानित नेता झलनाथ खनालको गृहजिल्ला हो । गत चुनावमा खनाल आफैं चुनाव हारे । यसपटक इलाम-२ मा नेकपा एसले जीतबहादुर राईलाई उम्मेदवार बनाएको थियो । राईले ४०८ मत प्राप्त गरे । सम्मानित नेताको जिल्लामै नेकपा एसको यो विजोग भएपछि आगामी चुनावसम्म त्यसको हैसियत के होला थप विष्लेषण गरिराख्नुपर्दैन । बझाङमा भने नेकपा एसका दिलिपबहादुर सिंहले २५ सय १४ प्राप्त गरे । बझाङमा केही सन्तोषजन मत देखिए पनि नेकपा एसका लागि उपचुनावको परिणाम पार्टीकै अस्तित्व पुनर्विचारको विन्दु बनेको छ ।

प्रकाशित : वैशाख १८, २०८१ ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?