कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

सिंजा क्याम्पस: विद्यार्थी न प्राध्यापकलाई तलब

डीबी बुढा

जुम्ला — सिंजा बहुमुखी क्याम्पस जुम्लाका प्रमुख तिर्थबहादुर नेपालले २०७६ सालमा ७५ हजार रुपैयाँ तलब बुझेका थिए । त्यो तलब पनि एक वर्षअघिको थियो । त्यहाँदेखि उनले तलब पाएका छैनन् । तर क्याम्पसको काममा भने नियमित खटिएकै छन् । उनीसँगै पार्टटाइममा पढाउने १० जना शिक्षकहरु छन् । उनीहरुले पनि पढाएको पारिश्रमिक पाइरहेका छैनन् ।

सिंजा क्याम्पस: विद्यार्थी न प्राध्यापकलाई तलब

क्याम्पसको आयस्रोत नभएको र सरकारले पनि क्याम्पस सञ्चालनको लागि आर्थिक सहयोग नगरेकाले क्याम्पस अलपत्र जस्तै बनेको छ ।

क्याम्पस प्रमुख नेपालले विद्यार्थी भर्ना गरेबापत् संकलन भएको रकमले प्रशासनिक खर्च जुटाउने गरेको अनुभव सुनाए । यो वर्ष २० जना मात्रै विद्यार्थी क्याम्पसमा भर्ना भइरहेका छन् । प्रति विद्यार्थी ७ हजार शुल्क उठाउँदा एक लाख ४० हजार रुपैयाँ मात्र संकलन भएको छ । यतिले क्याम्पसको वार्षिक प्रशासनिक खर्चमात्रै चल्छ ।

भर्ना भएका विद्यार्थीहरु अन्यत्र पढेर मात्र सिंजा क्याम्पसका नाममा परीक्षामा सामेल हुने गरेका छन् । शिक्षक, प्रध्यापकहरु नभएको र पार्टटाइम शिक्षकहरुले काम चलाउ शिक्षा दिइरहेकाले भर्ना भएर विद्यार्थीहरु जिल्ला बाहिर जाने गरेका छन् । यो क्याम्पस बाह्रै महिना सुनसान जस्तै हुने गरेको छ ।

जुम्लाको कनकासुन्दरी, सिंजा र हिमा गाउँपालिका गरेर तीन स्थानीय तहका विद्यार्थीहरुको पठनपाठन सहस होस् भन्ने उद्देश्यले २०६७ सालमा सिंजा बहुमुखी क्याम्पसको स्थापना थियो । भवनहरु निकै पुराना र जीर्ण छन् । क्याम्पसमा न पुरै समय होमिएका शिक्षकहरु छन् । न त भर्ना भएका विद्यार्थीहरुको नियमित पठनपाठन नै छ । नाग्म गमगडी सडकसँगै जोडिएर बनेको सिंजा बहुमुखी क्याम्पस साधारण विद्यालय जस्तो पनि छैन ।

वर्षायाममा गौचरण जस्तो देखिन्छ । क्याम्पसमा घेराबारा छैन । भिरालो जमिन भएकोले वर्षनि पहिरो गइरहेको हुन्छ । जसले भवनहरु पनि भत्किदै जान थालेका छन । क्याम्पस स्थापना कालमा विद्यार्थीहरुको आकर्षण बढेको थियो । उतिबेला ३ सय विद्यार्थी एकैपटक भर्ना भएका थिए । घर आगनमै क्याम्पस स्थापना हुँदा स्थानीय बासिन्दा पनि निकै खुसी थिए । विद्यार्थीहरुमा पनि पढ्ने उर्जा बढेको थियो । तर पछिल्लो समयमा सरकारले सिंजा क्याम्पसको व्यवस्थापनमा कुनै चासो नदेखाएपछि विद्यार्थी बिनाको क्याम्पसका रुपमा चिनिन थालेको छ । भर्ना भएका विद्यार्थीहरु एकैपटक परीक्षामा सहभागि हुने गरेका छन ।

क्याम्पस प्रमुख नेपालका अनुसार परीक्षा केन्द्र अर्कै क्याम्पसमा हुने र स्वअध्ययनले मात्र परीक्षा दिनुपर्ने भएकोले विद्यार्थीहरु भर्ना हुन समेत मानिरहेका छैनन् । स्थानीय सरकारले वर्षेनि भवन लगायतका संरचना निर्माणको लागि बजेट छुट्याइरहेको हुन्छ । तर बजेट अपुग हुने भएकोले निर्माणाधिन अवस्थामै संरचनाहरु अलपत्र बन्ने गरेका छन । प्रदेश सरकार र स्थानीय सरकारले क्याम्पस परिसरमै दुई वटा भवन बनाइरहेको छ । एक भवनको डेकुरेशन नहुँदा प्रयोगमा आउन सकेको छैन । एउटा भवनको पिलर मात्रै ठड्याइएको छ ।

भवन बनाउन प्रयोग भएका निर्माण सामाग्रीहरु खिया लागेर काम नलाग्ने भइसकेका छन् । स्थानीय सुनौलो क्षेत्रीले शैक्षिक जनशक्ति उत्पादन गर्न स्थापना भएको क्याम्पसको हालत दयनिय रहेको बताए । उनले भने, ‘क्याम्पस चलाउन सकिने अवस्थामा राम्रो संग चलाइदिएको भए हुन्थ्यो । यही अवस्था हो भने खारेज गर्दिँदा उपयुक्त हुने थियो । यो त क्याम्पसका नाममा बेइजत नै भएको छ । ’

क्याम्पसमा शिक्षा संकायतर्फ अंग्रेजी,नेपाली,अर्थशास्त्र र म्याथम्याटिक्स बिषयको अध्ययन भइरहेको छ । व्यवस्थापन तर्फ मार्केटिङ बिषय पढाइ भइरहेको छ । भिरालो जमिनमा रहेको क्याम्पसमा भर्खरै बनेका दुई भवन समेत अलपत्र अवस्थामा छन । प्रदेश र स्थानीय सरकारले वर्षेनि संरचना निर्माणमा बजेट छुट्याउने गरेपनि भवनहरु अधुरै अवस्थामा छन् ।

क्याम्पसको बृद्धि विकासमा स्थानीयले पनि खासै चासो देखाएका छैनन् । तर सिंजा क्याम्पसमा गुणस्तरीय शिक्षा प्रदान गर्न र हराभरा बनाउन क्याम्पस व्यवस्थापन समितिले पहल गरिरहेको जनाएको छ ।

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष दलबहादुर जिसीले यसअघिको व्यवस्थापन समितिले काम नगर्दा क्याम्पसको अवस्था खस्किएको बताए । उनले भने,‘क्याम्पस निर्माण र व्यवस्थापनको लागि सरकारी पक्षसंग बारम्बार कुराकानी भइरहेको छ । केही वर्षमा क्याम्पसको अवस्था सुध्रने पक्का छ ।’ उनले शिक्षक,विद्यार्थी,अभिभावक र सरकारहरु बिचको आपसी सम्बन्धले मात्र क्याम्पसको स्तरबृद्धि हुने बताए ।

उनका अनुसार अघिल्लो ब्यवस्थापन समिति हुंदा क्याम्पसको खातामा जम्मा १३ रुपैयाॅ मात्र थियो । अहिले बजेट भित्र्याउन पहल भइरहेको छ । दुगर्मका विद्यार्थीलाई सर्भसुलभ तरिकाले पढाउने सिंजा क्याम्पसको सपना पुरा गर्न क्याम्पस परिवार, अभिभावकहरु, विद्यार्थी र सरोकारवाला निकायाको ध्यान जान जरुरी देखिएको छ ।

नाग्म गमगडी सडकमै जोडिएको क्याम्पस भएकोले आन्तरिक तथा बाहृय पर्यटकहरुको आकर्षणको केन्द्र बनाउनुपर्ने गरि योजना बनाउनु अहिलेको आवश्यकता हो । दुर्गममा खोलिएको क्याम्पसको मर्म अनुसारको काम हुन नसकेको खण्डमा क्याम्पस हुनु र नहुनुमा खासै अर्थ नहुने शिक्षा विज्ञहरु बताइरहेका छन् ।

अहिले नाग्म गमगडी सडकमा ओहोरदोहोर गर्ने जो सुकैले क्याम्पसलाई गिज्याइरहेका छन् ।

प्रकाशित : वैशाख ५, २०८१ १४:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?