कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४७

राष्ट्रिय महिला हक्की : आर्मी र गण्डकी फाइनलमा

काठमाडौँ — त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश सोमबार छैटौं सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको फाइनलमा  पुगेका छन् ।

राष्ट्रिय महिला हक्की : आर्मी र गण्डकी फाइनलमा

धुलिखेलमा भइरहेको प्रतियोगिताको पहिलो सेमिफाइनलमा आर्मीले मधेश प्रदेशलाई ६–० गोलले पराजित गर्‍यो । आर्मीका लागि सरस्वती तामाङले ह्याट्रिक गरिन् । डम्मरा भट्टले २ र सीमा खड्काले एक गोल गरेका थिए ।

डम्मराले खेलको पाँचौ मिनेटमा गोल गर्दै आर्मीलाई अग्रता दिलाइन् । उनैले १० औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा आर्मीले अग्रता दोब्बर बनायो । आर्मीबाट २२ औं मिनेटमा सीमाले गोल गरी टिमलाई ३–० को अग्रता दिलाइन् । खेलको २३ औं मिनेटमा सरस्वतीले चौथो गोल गरिन् ।

३९ औं मिनेटमा सरस्वतीले व्यक्तिगत दोस्रो गोल गर्दा आर्मी ५–० ले अगाडि रह्यो । खेलको ५७ औं मिनेटमा सरस्वतीले ह्याट्रिक पूरा गर्दा आर्मी ६–० ले विजयी भयो ।

आर्मीकी निर्मला पाण्डे प्लेयर अफ द म्याच चुनिइन् । आर्मीले मंगलबार फाइनलमा गण्डकीको सामना गर्नेछ । गण्डकीले दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशलाई पेनाल्टी स्टोकमा २–० गोलले हराएर फाइनलमा स्थान बनाएको थियो । निर्धारित समय ३–३ गोलमा सकिएपछि खेल पेनाल्टी स्टोकमा गएको हो । त्यसमा गण्डकी सफल भयो । गण्डकीका ज्योति काफ्ले र मेलिना गौचनले गोल गर्दा सीतामाया बल र शिल्पा डगौराले गोल गर्न असफल भए ।

सुदूरपश्चिमका चारै खेलाडीले गोल गर्न सकेनन् । सञ्जु चौधरी, पूर्णिमा नेगी, आशिका एसके र जमुना भट्टराई गोल असफल भए ।

त्यसअघि १५ औं मिनेटमा सीतामायाले गोल गर्दै गण्डकीलाई अग्रता दिलाइन् । खेकको २४ औं मिनेटमा सुदूरपश्चिमबाट नमिता एसकेले बराबरी गोल फर्काइन् । गण्डकीबाट २७ औं मिनेटमा गीता पुनमगरले गोल गरी २–१ गोलको अग्रता दिलाइन् । ३१ औं मिनेटमा गण्डकीकी सीतामायाले व्यक्तिगत दोस्रो गोल गरेर टिमलाई ३–१ गोलको अग्रता दिलाइन ।

त्यसपछि सुदूरपश्चिमले लगातार दुई गोल गर्‍यो ।४१ औं मिनेटमा पूर्णिमा उराँवले गोल गर्दै टिमलाई ३–२ गोलको अबस्थामा ल्याइन् । ५० औं मिनेटमा पूर्णिमाले व्यक्तिगत दोस्रो गोल गर्दै खेल बराबरी पारिन् । प्लेयर अफ द म्याच सुदूरपश्चिमकी आशिका भइन् ।

तेस्रो स्थानका लागि मंगलबारै सुदूरपश्चिम र मधेश प्रदेश खेल्नेछन् । च्याम्पियन टोलीले १ लाख, दोस्रोले ७५ हजार र तेस्रो हुनेले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रकाशित : वैशाख १७, २०८१ २१:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?