लमजुङमा बन्दुकको गोली लागेर एकजना घाइते
लमजुङ — बन्दुकको गोली लागेर लमजुङको मर्स्याङ्दी गाउँपालिका-३, जिम्दोका ५३ वर्षीय आइतमान तामाङ घाइते भएका छन् । गाउँ माथिको लेकमा छोडेको भैंसीलाई नुनपानी दिन जाने क्रममा सिजे जंगलमा अचानक गोली लागेर घाइते भएको तामाङलाई उद्दृत गर्दै प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाईंका अनुसार आइतबार दिउँसो १ बजेतिर गाउँ माथिको जंगलमा जाँदै गरेका तामाङको बायाँ कान नजिकै गोलीको छर्रा लागेको देखिएको छ ।
उनले एक्सरेमा पनि गोलीको छर्राजस्तो देखिएको जानकारी प्राप्त भएको बताए । ‘गोली लाग्नु अगाडि तामाङले बन्दुक पड्केको आवाज सुनेछन् । त्यसपछि ढलेछन् । बिउँझिँदा त गोली लागेको ठाउँबाट रगत बगेछ’ तामाङलाई उद्दृत गर्दै प्रहरी निरीक्षक चपाईंले भने ।
घाइतेको लमजुङ अस्पतालमा समान्य उपचारपछि थप उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा लगिएकोमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
तामाङले बन्दुक पड्केर आएको गोली लागेको भने पनि बन्दुरक कसले र किन पड्कायो भन्ने विषय नखुलेको प्रहरी निरीक्षक चपाईंले बताए । उनका अनुसार घटनास्थलमा सोमबार प्रहरी टोली पुगेर अनुसन्धान गरिरहेको छ ।
प्रकाशित : वैशाख १७, २०८१ २२:३४