१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८५

सभापतिले अधिकार प्रत्यायोजन नगर्दा पार्टी अप्ठेरोमा : नेता कोइराला

लक्ष्मी गौतम

पाँचथर — नेपाली कांग्रेसका नेता शशांक कोइरालाले पार्टी सभापतिले अधिकार मुठीमा राख्दा पार्टी संगठनले पटक पटक क्षति व्यहोर्नु परेको आरोप लगाएका छन् । ठूलो दल भएर पनि कांग्रेसले नेतृत्व लिन नसक्नुमा पार्टी सभापति शेरबहादुर देउवाकै कमजोरी रहेको उनको दाबी थियो ।

सभापतिले अधिकार प्रत्यायोजन नगर्दा पार्टी अप्ठेरोमा : नेता कोइराला

आफूले पटक पटक जिल्ला र निर्वाचन क्षेत्रस्तरका पार्टी सभापतिहरुलाई अधिकार प्रत्यायोजन गर्न दिएको सुझाव देउवाले मनन नगरेको उनको भनाइ थियो ।

‘स्थानीय तह निर्वाचनमा मैले कुनै एक ठाँउको उपमेयर पदका लागि एक जना कार्यकर्ताको नाम लिएँ, सभापति जीले उहाँ मेरो मान्छे हो कि होइन भनेर प्रश्न गर्नुभयो, मैले तपाईं पार्टी सभापति भएको नाताले सबै कार्यकर्ता तपाईंकै त हुन नि भनेर जवाफ फर्काएँ,’ उनले भने ।

स्थानीय तहको निर्वाचनमा समेत अधिकार प्रत्यायोजन नगरी गुटका आधारमा टिकट बाडिँदा कांग्रेसको अस्तित्व नै खतरामा पर्न लागेको उनले भनाइ थियो । पार्टी सभापतिकै कारण नेविसंघ र तरुण दल जस्ता भातृ संगठनहरुको अधिवेशन हुन नसकेको उनको तर्क थियो ।

कोइरालाले यसपछि सम्पन्न हुने कुनै पनि निर्वाचनमा कुनै दलसँग गठबन्धन गर्न नहुने तर सरकार गठनका सम्बन्धमा भने सहकार्य गर्न सकिने धारणा राखे ।

उनले दल र तिनको नेतृत्वका कारण संघीयताको व्यवहारिक कार्यन्वयनमा समस्या भइरहेको टिप्पणी गरे ।

पाँचथरको फिदिममा शनिबार आयोजित पत्रकार सम्मेलना बोल्दै कोइरालाले संघीयता मजबुद बनाउन अधिकार प्रत्यायोजनमा कन्जुस्याँइ गर्नु नहुने धारणा राखे ।

राजनैतिक दल र तिनको नेतृत्व सरकार र गठबन्धन गर्न र भत्काउन केन्द्रित हुँदा मुलुकमा विकास निर्माण र सुशासन ओझेलमा परेको बताए ।

प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीका कारण कुनै पनि दलको बहुमत नपुग्दा यो अवस्था आएको भन्दै कोइरालाले निर्वाचन प्रणालीलाई संशोधन गरेर मुलुकको स्थायित्वका लागि दलहरु गम्भीर हुनु पर्ने उनको धारणा थियो ।

सोही पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस केन्द्रीय सदस्य तथा सांसद रामहरी खतिवडाले इलाम-२ को निर्वाचनमा पार्टीको सबै शक्ति केन्द्रित हुने बताए ।

एमालेले वंशगत विरासत कायम गर्न खोजेको भन्दै खतिवडाले अवको निर्वाचनमा कांग्रेसलाई जित्न सजिलो रहेको टिप्पणी गरे ।

सत्ता गठबन्धनमा एक महिना अगाडि भएको हेरफेरमा कांग्रेसको भन्दा पनि धेरै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको हात रहेको उनको भनाइ थियो ।

प्रकाशित : चैत्र १७, २०८० १०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लगानी सम्मेलन-२०२४ मा सरकारले 'सोकेस' मा राखेका परियोजनाहरूको सूची कस्तो लाग्यो ?