कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०६

सुप्रिम सहकारीपीडितद्वारा गृहमन्त्री लामिछानेमाथि छानबिन माग

भैरहवा — रुपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका पीडितले रकम अपचलनमा संलग्न गृहमन्त्री रवि लामिछानेमाथि छानबिन माग गर्दै मंगलबार बुटवलमा प्रदर्शन गरेका छन् ।

सुप्रिम सहकारीपीडितद्वारा गृहमन्त्री लामिछानेमाथि छानबिन माग

बुटवल र भैरहवामा रहेका उक्त सहकारीका बचतकर्ताले संस्थाको दुई करोड रुपैयाँ अपचलन गरेको आरोप लागेका लामिछानेमाथि छानबिनका लागि दबाब दिएका हुन् । सुप्रिम सहकारीपीडित संघर्ष समितिले आयोजना गरेको प्रदर्शनमा सहभागी पीडितले सहकारीको रकम हिनामिनामा संलग्न संस्थाका पूर्व अध्यक्ष जीबी राईलाई पक्राउ गरेर कारबाही गर्न माग गरेका हुन् ।

बुटवलको राजमार्ग चौराहामा भेला भएका पीडितले विभिन्न माग उल्लेख गरिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । राजमार्ग चौराहाबाट नाराबाजी गर्दै पीडित बुटवलको ट्राफिक चोकसम्म पुगेका थिए ।

प्रदर्शनमा सहभागीले गृहमन्त्रीले मुख्य आरोपी जीबी राईलाई पक्राउ गर्न नसक्नुको कारण माग गरेका छन् । यसअघिका विरोध कार्यक्रममा गृहमन्त्रीको नाम नलिएका पीडितले मंगलबार लामिछाने माथि छानबिनको माग गरेका हुन् । जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार जिल्ला अदालतमा पेस गरेको अभियोग पत्रमा प्रमाण समेटेर लामिछानेले सहकारीबाट दुइ करोड रुपैयाँ अपचलन गरेको उल्लेख गरिएको छ ।

रकम अपचलन गरेको पुष्टि भएको खबर सार्वजनिक भएपछि पीडितले गृहमन्त्री लामिछानेमाथि छानबिन हुनुपर्ने माग गरेका हुन् । संघर्ष समितिका संयोजक विजयकुमार नेपालले पीडितले संघर्षलाई निरन्तरता दिने बताए । सडक प्रदर्शनबाट माग पूरा नभए काठमाडौं पुगेर संघीय सदन घेराउ गर्ने उनले चेतावनी दिए ।

प्रकाशित : वैशाख ४, २०८१ ११:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?