Kantipur

Kantipur

मिति | २०७१ वैशाख ७, आईतवार     Login | Register
दृष्टिकोण»

लेन्डुप प्रवृत्तिको नेपाल प्रवेश

माघ १७ -
काठमाडौं हाम्रो सहर ! अहिले यो धुवाँ, धुलो, फोहोर र ठन्डीबाट आक्रान्त छ । यसबाट म पनि बच्न सकिन । अचानक ज्वरो १०३ पुग्यो र शरीरै आफ्नो हो कि होइन भन्ने शंका हुनथाल्यो । दौडेर चिकित्सक मधु घिमिरेकहाँ पुगेंँ । डा. घिमिरे पारिवारिक मित्रमात्र नभई मेरो आँकलनमा असल मानव र कुशल चिकित्सक पनि हुन् । उनले रगत र पिसाबको विभिन्न परीक्षण गरेर भने- दाइ, यो पक्का पनि भाइरल निफ्केसन हो । अब औषधी नखाई हुँदैन, मैले लेखिदिएको औषधी खाने र १० दिन कसैसँग भेटघाट नगरी सिरक ओढेर आनन्दसँग घरभित्र सुतेर बस्ने र प्रशस्त सुप-जुसजस्ता तरल पदार्थ खाने ।'

डाक्टरको निर्देशनलाई शिरोपर गरेर घर फकंर्ेे । तर यसै बस्न मन लागेन । पढ्ने कोठामा विस्तारै पसेंँ र सजिलोसँग पढ्न सकिने किताब खोज्न थालेंँ । आँखा अगाडि बाबुराम भट्टराईको अंग्रेजीका केही लेख रहेको संकलन देखापर्‍यो । अहिलेको बहुचर्चित 'क्रान्तिकारी'कै भनाइ पढ्नुपर्‍यो भनी त्यो किताब सुरु गरेंँ ।

राष्ट्रवाद र लेन्डुप संस्कार बाबुरामको एक लेखमा उनले गिरिजाप्रसाद कोइरालामाथि नेपालको लेन्डुप दोर्जी भएको ठाडो आरोप लगाएका छन् । आफ्नो लेखमा उनले भारतीय गुप्तचर एजेन्सी 'र'ले नेपालको लागि लेन्डुप दोर्जीको रूपमा गिरिजालाई पाएको उल्लेख गरेका छन् । उनको निचोड के थियो भने 'र'ले नेपाललाई गिरिजामार्फत भुटानीकरण गर्नेछ र अन्तमा सिक्किमको हविगतमा पुर्‍याउनेछ । यसको विरोधमा उनले पृथ्वीनारायण शाहको 'सबैलाई चेतना भया' भन्ने उक्तिअनुसार सबै नेपाली एक हुनुपर्ने तर्क पेस गरे -यो लेखका निम्ति हेर्नुस्, कान्तिपुर, ६ जून २००१) ।

बाबुराम भट्टराईको यो लेख पढ्दा मलाई हाँसो उठ्यो । उनको डेढ वर्षको शासनकालमा भएका आन्तरिक र बाह्य गतिविधि हेर्दा वास्तवमा यदि लेन्डुप दोर्जी प्रवृत्तिको जल्दोबल्दो कुनै राजनीतिज्ञ नेपालमा छ भने ती नेपालका प्रधानमन्त्री बाबुराम भट्टराई हुन् भन्ने आशंका धेरैको मनमा आइसकेको छ ।

गिरिजाप्रसाद कोइरालासँग मैले २०४७ सालदेखि झन्डै १५ वर्ष कुनै न कुनै रूपमा लेखा समिति लगायत अन्य राजनीतिक फोरममा सहभागी थिएँ । उनका थुप्रै कमजोरी थिए होलान् । मूलतः उनलाई उनका सन्तान, नातागोता र राजनीतिक आसेपासेले दुरुपयोग गरे । यो कुरो थाहा पाएर पनि उनले यसलाई रोक्ने नैतिक साहस गरेनन् र यो विकृतिलाई मौन सहमति दिई प्रोत्साहन गरे । यस अर्थमा देशमा सुशासनको जग बसाल्ने ऐतिहासिक अवसर उनले खेर फाले । तर एउटा मेरो स्पष्ट बुझाइ के छ भने गिरिजाप्रसाद कोइराला सत्तामा अड्नका लागि विदेशीको इमानदार सेवक हुन कहिल्यै तयार भएनन् । उनी सुरुदेखि अन्तसम्म राष्ट्रवादी नेता थिए ।

के हो लेन्डुप प्रवृत्ति ?

सत्ताको लागि पैसा र पैसाको लागि सत्ता र यो चक्रलाई निरन्तरता दिन विदेशीको आडमा स्वदेशीलाई कजाउने संस्कार लेन्डुप प्रवृत्ति हो । यो प्रवृत्तिको अन्तिम चरण सिक्किमको पहिचानको अन्त्य थियो । आफ्नो यो योगदानका लागि लेन्डुपले भारतबाट जिन्दगीको अन्ततिर 'पद्म विभूषण' पनि पाए, तर एउटा राष्ट्रको पहिचान गुमाउन भूमिका खेले ।

बाबुराम भट्टराईको डेढवर्षे क्रियाकलाप हेर्दा यथार्थमा उनी लेन्डुप दोर्जी प्रवृत्तिको प्रथम चरणमा प्रवेश गरिसकेका छन् । अरुलाई भ्रष्टाचारको आरोप लगाउने भट्टराई यो देशमा इतिहासमा कहिल्यै नदेखिएको माक्र्सवादको खोल ओडेर लुटतन्त्रको नेतृत्व्ा गरिरहेका छन् । उनको पार्टीले नै ४० बँुंदे मागमा राष्ट्रियतासँग जोडेर उठाएका कुनै पनि प्रश्नबारे एक शब्द उच्चारण गर्न नसक्ने स्थितिमा पुगेका छन् । उनले गरेका र गर्न खोजेका सन्धि-सम्झौता हेर्दा उनी जनतासँग लुकाएर गोप्य सम्झौताका लागि तयार छन् । यस क्रममा नेपालीको पहिचान र हितलाई ठाडो उपेक्षा गर्न तयार छन् ।

उदाहरणका लागि बिपा सम्झौता हेर्ने हो भने पनि सैद्धान्तिक रूपमा यसको विरोध गर्नुपर्ने कारण छैन । तर सम्झौताको परिभाषाको दफा -एफ) अन्तर्गत हेर्ने हो भने दुई राष्ट्रको क्षेत्रको परिभाषासमेत फरक मापदण्ड प्रयोग गरिएको छ । यो गम्भीर भूल हो र नेपाललाई ठाडो अमान्य हुनुपर्ने हो । वास्तवमा यस्ता सम्झौता गर्दा संसदीय व्यवस्था र त्यस अघिको पञ्चायत व्यवस्थामा पनि नेपालको कानुन मन्त्रालयले आफ्नो खेस्रा पेस गथ्र्याे । तर बाबुरामको लेन्डुप दोर्जी प्रथम चरणमा यो प्रक्रिया हराएको छ । नेपालको कानुन मन्त्रालयले काम गर्न पाएको भए बिपा सम्झौता भए पनि कमसेकम शब्दको परिभाषामा एकै अर्थ लाग्नेगरी लेखिने थियो होला । भारतीय पक्षले पनि 'विचार गर्नुस्' र 'पछि गरे पनि हुन्छ' भनेका हुन् । तर आफ्नो इमानदार सेवकको छवि बनाउन भट्टराईले सही गरे र यस अर्थमा उनका उपप्रधानमन्त्रीको आलोचना जायज छ । उनका पार्टी अध्यक्ष प्रचण्ड पनि सन्तुष्ट नभएको सन्देश मिडियामा आउँछ । तर प्रचण्डसमेत यसबारे बोल्ने आँट गर्न तयार छैनन् ।

लेन्डुप दोर्जी प्रवृत्तिको हिलोमा एकपटक गाडिएपछि निस्कन गाह्रो पर्नेछ । भट्टराईमा सत्ताको र स्रोत-साधनका लागि देखिएको यो लेन्डुप दोर्जी प्रवृत्ति विरुद्धको संघर्ष अब सबै राष्ट्रवादी-प्रजातन्त्रवादीको काँधमा आएको छ ।

लाल आतंकको असफल प्रयास आफूलाई 'टिट फर ट्याट' सिद्धान्तमा विश्वास गर्ने भनेर घोषणा गर्ने भट्टराईले बीसौं शताब्दीमा माक्र्सवादको नाममा सुरु भएको थुप्रै भद्दा व्याख्या -भल्गर माक्सिर्जम) मा नयाँ चरण थुप्रेका छन् । यथार्थ के हो भने सत्तामा प्रभुत्व बनाउन आतंकलाई हतियारका रूपमा प्रयोग गर्नुपर्ने दृष्टिकोण लेनिन र त्यसपछि स्टालिनले नयाँ उचाइमा पुर्‍याएका थिए । त्यसबखत आम जनता, पत्रकार, बुद्धिजीवीको मुख बन्द गर्न आतंकको सहारा लिइएको हो । सेप्टेम्बर १९१८ मा त्यसबखत देखिएको शक्तिशालीन नेता तथा सिद्धान्तकार जायोनोभले भनेका थिए ः रूसको १० करोड जनतामा ९ करोडलाई साथ लिउँ र एक करोडको सफाया गरौं । यो आतंकको नीतिको सिकार स्टालिनको हातबाट जायोनोभ आफैं हुनपुगे । उनको हत्या स्टालिनले १९३६ मा गरे । यस परिवेशमा आतंकको स्थिति सिर्जना गरेर जनतालाई तह लगाउँछु भन्ने भट्टराईको चिन्तन नयाँ होइन र यसैको अभिव्यक्ति दैलेख घटना काण्डमा देखियो ।

जतिसुकै राजनीतिक तनाव भए पनि भीआईपीको सुरक्षा गर्न र शान्ति-सुरक्षा कायम गर्न स्थानीय तहको आवश्यक उपाय नेपालको प्रहरी प्रशासनले नियमअनुरुप अपनाउनु स्थानीय प्रशासनको कर्तव्य हो । यो कर्तव्य दैलेख प्रहरी प्रशासनले राष्ट्रिय छापामा आएको खबरअनुसार पूरा गरेकै हुन् । तर आफ्नो कर्तव्य पूरा गरेकै कारण प्रजिअ र एसपीलाई रातारात सरुवा गरियो । यो के प्रधानमन्त्रीको 'सवारी'को कसैले विरोध गर्‍यो भने स्वतः गोली हान्नुपर्ने नयाँ नियम बनेको छ ? यही तर्क मान्ने हो भने दोस्रो जनआन्दोलनमा पूर्वराजा ज्ञानेन्द्रले देखाएको संयमताको तारिफ गर्नुपर्ने भएको छ । तर यो सरुवा गोली हान्ने निर्देशन हुँदा गोली नहानेको भनी सरुवा गर्नु दैलेखबाट सुरु गर्न खोजेको लाल आतंकमा प्रहरी प्रशासनले साथ नदिएको यथार्थपट्ट िपार्टीको आक्रोशमात्र हो ।

राष्ट्रिय छापाअनुसार दैलेखमा वाईसीएलका 'सज्जनहरु'को कुनै अस्तित्व छैन । त्यसैले दैलेखका पत्रकारलाई तह लगाउनमात्र नभई सम्पूर्ण पत्रकार जगतलाई ठीक लाइनमा नबसे डेकेन्द्रको स्थिति भोग्नुपर्ने सन्देश प्रवाह गर्न सुर्खेतबाट वाईसीएलका २६ ट्रक 'सज्जनहरु' दैलेख पुगे । यदि त्यहाँ प्रहरी प्रसासनले गोली चलाएको भए प्रहरीबाट मात्र नभई वाईसीएलका सज्जनहरुले गर्ने मारपिट, हिंसाको जिम्मेवारी पनि प्रहरीको थाप्लोमा जाने थियो । तर सरकारले अबदेखि कसैले विरोध गर्न खोजे प्रहरी प्रशासनबाट मात्र होइन, वाईसीएलले पनि खोजी-खोजी प्रहार गर्ने सन्देश प्रवाह गर्न खोजिएको थियो अर्थात् पत्रकार र जनतालाई आतंकित बनाएर 'फुच्चे स्टालिन'को शासकीय शैली कायम गर्ने प्रयास स्पष्ट थियो । यो षड्यन्त्रलाई स्थानीय स्तरको सीडीओ र एसपीले नमान्नु कसरी अपराध भयो ?

वास्तवमा उनीहरुले जे गरे, जिम्मेवारपूर्ण काम गरे । उनीहरुको प्रशंसा गर्नुपर्ने थियो । तर हरेक भाषण र सामाजिक सञ्जालमा गोली हान्ने विम्बलाई आफ्नो दृढताको अभिव्यक्ति ठान्ने प्रधानमन्त्रीको लागि प्रहरीले पत्रकारमाथि गोली नहानेर वाईसीएलका 'सज्जन'हरुलाई थप हमला गर्ने मौका नदिएको र लाल आतंकको सन्देश दिन नपाएकोमा आक्रोश बढेछ । दुर्भाग्यवश यस अभियानमा आफूलाई प्रजातान्त्रिक र पूर्वकांग्रेसी भन्ने गृहमन्त्रीको सहयोग रह्यो । हाम्रा गृहमन्त्रीको क्रियाकलाप हेर्दा न उनी प्रजातन्त्रवादी हुन्, न मधेसवादी, उनी सिर्फ 'पदवादी' हुन् ।  

पत्रकारलाई कसरी तह लगाउने ?

माओवादीको लागि अहिले सबभन्दा ठूलो समस्या पत्रकार भएका छन् । यिनीहरुलाई 'लाइन'मा राख्नसके अरु जनतालाई पनि तर्साएरै तह लगाउन सकिने उनीहरुको सोच देखियो, त्यसैले दैलेखबाट पत्रकार भागे । कान्तिपुरमा छापिएको चित्रमा दैलेखबाट सुर्खेत जाने बसमा उनीहरुको त्रसित अनुहारले यहाँ मैले लेखेका धेरै कुरा भनिरहेको थियो । तर त्यो चित्र देख्दा मलाई २०४७ सालको सम्झना भयो । त्यसबखत नयाँ पार्टी खोल्न हामी देशव्यापी दौडाहामा थियौं । तर त्यसबेलाका प्रजातान्त्रिक र प्रगतिशील नेपाली कांग्रेस र एमालेको गठबन्धन सरकारले हामीलाई चल्न नदिने निर्णय गर्‍यो । हामी जहांँ गए पनि अहिलेको वाईसीएलका यी 'प्रजातान्त्रिक' अनुहारहरुले भौतिक रूपमै सिध्याउने प्रयास गरे र यसक्रममा हामीलाई सुरक्षा दिन प्रहरी व्यावहारिक रूपमा निस्त्रिmय थियो । एक-दुई ठाउँमा नयाँ-नयाँ 'प्रजातन्त्रवादी योद्धाहरु'बाट मैले पनि दुई-चार मुक्का उपहार पाएँ । त्यसबेला आफू युवकै भएकाले थेग्न सकियो । सायद अहिले भए गाह्रो हुने थियो । यसरी मार खानेमा म लगायत फत्तेसिंह थारु, सूर्यबहादुर थापा, राजेश्वर देवकोटा, लोकेन्द्रबहादुर चन्द, पशुपतिशमशेर लगायत थुप्रै थियौं । त्यो आतंकलाई अस्वीकार गरेकाले नै हामी पार्टी स्थापना गर्न सफल भयौं, यद्यपि यसलाई बलियो बनाउने अभियानमा हाम्रा कमजोरीहरु यत्रतत्र छन् ।

अहिले पत्रकारहरुलाई तर्साएर वास्तवमा नेपाली जनतालाई एमाओवादीका लेन्डुप दोर्जी प्रवृत्ति बोकेका फुच्चे स्टालिनहरुले जनताको आवाज बन्द गर्न खोजेका हुन् । यसको प्रतिरोध गर्नैपर्छ ।

अन्त्यमा, लेन्डुप दोर्जी प्रवृत्तिको प्रवेश एमाओवादीका डा. भट्टराईमार्फत नेपालमा भएको छ । यसलाई हरेक पल प्रतिरोध गर्नुपर्छ । यो प्रवृत्तिलाई रोक्न आवश्यक परे यी हाम्रा पाखुराहरुलाई एकपटक दह्रो तरिकाले नेपाली राष्ट्रियता र सम्पूर्ण नेपाली स्वाभिमान र आत्मसम्मानको रक्षार्थ इस्पातको खम्बामा रूपान्तरण गर्न पनि हामी तयार हुनुपर्छ । देशभरका सम्पूर्ण नेपाली दाजुभाइ र दिदीबहिनीहरुले यो सन्देश मनन गर्नु आजको आवश्यकता हो ।

प्रकाशित मिति: २०६९ माघ १८ ०९:१७

तपाईंको प्रतिकृया


कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: Comments containing abusive words or slander shall not be published.

Today's Paper Epaper - Kantipur Daily 2014-4-20
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

उऽऽ त्यो 'बिजुली छैन’ लेख्या उर्जा मन्त्रालय !... 'पेर्टोल छैन’ लेख्या आपूर्ति ...अनि 'किताप छैन’ चैं शिक्षा !

विज्ञापन

New Year Suppliment 2071 Radio Kantipur Rakshya Travel
  हाम्रा प्रकाशनहरु :
Our Publication