कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

जीवनभरको कमाइ छिनभरमै सखाप

एक साताअघि रोहिणी गाउँपालिकाका ९८ घरमा आगलागी, ५० घर पूर्ण रूपमा नष्ट
सन्जु पौडेल

लुम्बिनी — आँगनदेखि सडकसम्मै जलेका सामग्री छरपस्ट छन् । खाना पकाउने ग्यास, भाँडाबर्तन, लत्ताकपडा सबै जलेका छन् । ड्रमभरि राखेको चामल र भर्खर स्याहारेर बोरामा थन्काइएको गहुँ पनि जलेको छ ।

जीवनभरको कमाइ छिनभरमै सखाप

रूपन्देहीको रोहिणी–५ तरकुलाहाका ७२ वर्षीय नाथु हरिजन बुधबार दिउँसो त्यहाँ पुग्दा जल्न बाँकी केही छ कि भनेर खोज्दै थिए । उनी छिनमा थचक्क भुइँमा बस्थे, फेरि जलेका वस्तु हेरेर गहभरि आँसु बनाउँथे ।

गत शनिबार दिउँसो लागेको आगोले घरसम्पत्ति जलेपछि नाथु विरक्त बनेका हुन् । खेतबाट फैलिएको मुस्लोले १६ जनाको परिवार बस्ने ५ वटा घर जलेका थिए । उनका ६ छोरामध्ये ५ जनाको एकै ठाउँमा घर थियो । बेग्लै घर बनाए पनि उनीहरू १० वर्षयता बाबुकै छहारीमा बसिरहेका थिए । आगोले उनीहरूको अहिलेसम्मको मिहिनेत खरानी बनाइदिएको छ ।

नाथुका एक छोरा भारतमा छन् । आगलागीका बेला छोराहरू छट्टु, अवतारम, धर्मराज, ओमप्रकाश र रामदाम काममा गएका थिए । बुहारी र नातिनातिनासहित नाथु घरमै थिए । ‘पछाडिको खेतबाट आगोको मुस्लो आउँदै गरेको देखेपछि घरभरि चिच्याहट सुरु भयो,’ घरमा रहेकी मोनकाले भनिन्, ‘हामी काममा गएका बुबाहरूलाई फोन गर्नतिर लाग्यौं, साना भाइबहिनी र घरका सबै ज्यान बचाउन भाग्यौं ।’ दाजुभाइ कामबाट फर्किएर आउने बेलासम्म घर जलेर खरानी भइसकेको छट्टुले गुनासो गरे ।

‘जीवनभरिको दुःखले बनाएको त्यही झुप्रो थियो,’ उनले भने, ‘सबै जल्यो, बर्बाद भयौं ।’ छट्टु घरबाट ४ किलोमिटर टाढा रहेको एक उद्योगमा काम गर्छन् । घरमा बसेका बेला कपडा सिलाउने गरेको उनले बताए । आगोले उनको लुगा सिउने मेसिनसमेत जलेको छ । ‘बल्लबल्ल किनेको एउटा मेसिन पनि जल्यो,’ उनले भने, ‘अब के गरी किन्ने, कसरी कमाउने ?’ उनका अनुसार आगलागीबाट ५ भाइ र एक छिमेकीको घरमा रहेको आठ क्विन्टलभन्दा बढी खाद्यान्न, एउटा बाख्रो, १२ वटा कुखुरा र घरका सबै सामग्री जलेर खरानी बनेको छ । शरीरमा लगाएको बाहेक सबै लुगा जलेर सखाप भएको उनले बताए ।

रोहिणी–६ चम्कीपुरकी ५५ वर्षीया छेदी चौधरीका आँखै सामुन्ने बस्तुभाउ र सम्पत्ति जलेर नष्ट भए । शनिबार दिउँसो दुई भैंसी, ३५ जोडी परेवा, ८ वटा बाख्रा मरेको दृश्य उनको आँखैमा आइरहेको छ । आगोले छेदीको फर्निचर उद्योग, ४ वटा साइकल, ८ क्विन्टल चामलसहित घरका सबै सामग्री जले । उनका ८ जनाको परिवारका सदस्य भागेर बाँच्न सफल भए । ‘जीवनमा नभुल्ने चोट पायौं,’ उनले भनिन्, ‘मेरा सन्तानको कमाइको बाटो खोसियो, अहिलेसम्म जोडेको धनमाल नष्ट भयो, अब के गर्ने ?’

कसले कहाँबाट सल्काइदिएर हावाले आगो घरसम्म ल्यायो भन्ने पत्तो पाउन नसकेको उनले बताइन् । उनकी छिमेकी माया चौधरीको पनि आगोले घरसहित भित्रको सबै सामान जलाइदियो । उनका श्रीमान् मलेसियामा छन् । एक छोरा र एक छोरीसहित २ कोठे घरमा बस्ने मायाले शनिबार दिउँसोको आगोमा स्कुटर, २ वटा साइकल, परेवा, कुखुरा, हाँस र घरभित्रका टीभीसहित सबै सामान खरानी भएको देखिन् । ‘ह्वारह्वार्ती आगो बलेपछि केही जोगाउनै सकिएन, आफू बाँच्न भागियो,’ उनले भनिन्, ‘मुस्लो थियो, हावा चलेका बेला तातो रापले पोल्न थाल्यो, घरको छतमा लगाएको टिन पड्केर भागाभाग मच्चियो ।’

यस्तो विपद् पहिलोचोटि देखेकाले के गर्ने, कसो गर्ने भन्ने चेत नै नपाएको उनले बताइन् । चौधरीले श्रीमान्ले अर्काको देशमा श्रम गरेर जोडेको सम्पत्ति आगोले छिनमै खरानी बनाइदिएपछि छिमेकीकहाँ आश्रय लिएर बसिरहेको बताइन् । ‘अरूको पनि उही हालत छ, यसरी कति दिन बस्ने ?,’ उनले भनिन्, ‘आफ्नो घर बन्ने कल्पनै गर्न सक्दिनँ, बस्न कहाँ जाने, के खाने, के लगाउने ? सबै चकनाचुर भयो ।’ परदेशमा रहेका श्रीमान्लाई घर जलेको कुरा बताउन नसकेको उनले बताइन् ।

रोहिणी–४ का वनवासी हरिजनलाई पनि आफ्नो घरसँगै पानी तान्ने पम्पसेट, सक्सन पाइप र औजार बनाउने मेसिन जल्दा झनै पीडा भएको छ । उनका २ छोरा मुम्बईमा कार्यरत छन् । घरमा बुहारी, छोरी, नातिनातिना रहेका बेला घर अगाडिको बाटोदेखि तलको खेतमा दन्किँदै आएको आगो घरमा आइपुगेको उनले बताए । ‘म घर अगाडि काम गर्दै थिएँ, नातिनातिना साइकल चलाउँदै थिए,’ उनले भने, ‘आगो देखेपछि हामी सबै भाग्यौं, गाउँदेखि २ किलोमिटर परको अर्को गाउँसम्म पुग्दा कति भाग्यौं थाहा नै भएन ।’ आगो निभ्यो भन्ने थाहा पाएपछि मात्र फर्किएको र घरसँगै सबै जलेर नास भएको देखेको उनले बताए । धेरै जहान भएको घरमा रासनसमेत नहुँदा भोकै बस्नुपरेको उनले बताए । उनका अनुसार आगलागीबाट पीडितहरूलाई गाउँपालिका र सत्यसाई सेवा संगठनले खाद्यान्न उपलब्ध गराएको छ ।

आगलागीबाट रोहिणी–४, ५ र ६ वडाका गरी ९८ घरमा क्षति पुगेको छ । तीमध्ये ४८ घरमा आंशिक क्षति पुगेको छ भने ५० घर पूर्ण रूपमा जलेका छन् । आगो दन्केपछि दमकल, सशस्त्र प्रहरी, सेना, स्थानीयको सहयोगमा निभाउन ३ घण्टा बढी लागेको गाउँपालिका अध्यक्ष विद्याप्रसाद यादवले बताए । पीडित परिवारलाई तत्कालका लागि खाद्यान्न उपलब्ध गराइएको उनले बताए ।

प्रकाशित : वैशाख १४, २०८१ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?