कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१६

अब एआई चिकित्सक !

अहिले परीक्षणकै क्रममा रहे पनि एआईले सुखद भविष्य भने देखाएको छ, पछिल्लो समय विकसित देशहरूमा पनि जटिल शल्यक्रियाका लागि यसको माग बढ्दो छ
हाम्रा आँखाले नदेखेको क्यान्सर पनि कतिपय अवस्थामा एआईले पत्ता लगाइदिएको छ, क्यान्सरजस्तो रोग समयमै पत्ता लाग्नु भनेको मान्छेको जीवन जोगिनु हो । -डा. सुमन श्रेष्ठ, डायग्नोस्टिक रेडियोलोजी तथा न्युक्लियर मेडिसिन विशेषज्ञ
स्वरूप आचार्य

काठमाडौँ — अब अस्पतालको कोठामा रोग निदानका लागि जँचाउन पुग्दा त्यहाँ चिकित्सकको साटो आर्टिफिसियल इन्टिलिजेन्स (एआई) द्वारा सञ्चालित रोबोट बसेको पाउनुभयो भने आश्चर्य नमाने हुन्छ । एआई चिकित्सकले प्रारम्भिक सम्पूर्ण जाँच र रोगको निदान गरेपछि मात्रै त्यो सही भए/नभएको ठहर गर्न वास्तविक चिकित्सकले तपाईंको रिपोर्ट हेर्न सघाउने छन् ।

अब एआई चिकित्सक !

यो कुनै कल्पना होइन । पछिल्लो समय भइरहेको प्रविधिको विकासले स्वास्थ्योपचारका क्षेत्रमा यस प्रकारको एआईको प्रयोगलाई आवश्यक र सम्भव ठहर्‍याएको हो ।

युरोपका विज्ञहरूले उपचारमा एआईको प्रयोगले लाखौंको ज्यान जोगाउन मद्दत गर्ने दाबी गर्न थालेका छन् । यस्तै अमेरिकीहरूले पनि एआईको प्रयोग गर्दा स्वास्थ्यमा बर्सेनि हुने अर्बौं डलर खर्च जोगिने बताएका छन् ।

स्मार्ट स्टेथेस्कोपदेखि रोबोटिक शल्यचिकित्सकसम्म र ठूलो तथ्यांकलाई विश्लेषण गर्नेदेखि मान्छेको अनुहार भएको एआई चिकित्सकसँग परामर्श लिनेसम्मको काम अब सम्भव तुल्याइएको छ । चिकित्सा क्षेत्रका यी सबै ढोका एआईमा भएको विकासले खुल्दै गएका हुन् । उपचारमा एआईको प्रयोगले रोग निदानलाई सटीक बनाउने प्रमाणित नै भइसकेको छ ।

यस्तै बिरामीहरूको अवस्थाको विश्लेषण गरेर अन्तिम नतिजा कस्तो हुन सक्छ भन्ने विश्लेषण गर्न पनि एआई सक्षम भएको छ । यसका साथै अस्पतालमा एआईको प्रयोगले त्यहाँको काम गराइ र प्रशासनलाई व्यवस्थित बनाउन, शल्यक्रियाको दक्षता अभिवृद्धि गर्न र बिरामीहरूको निगरानीमा पनि सहयोग गर्न सक्छ । नयाँ औषधिहरूको खोज तथा ‘क्लिनिकल ट्रायल’ लाई पनि द्रुत गतिमा अगाडि बढाउन यसले मद्दत पुर्‍याउने देखिएको छ ।

स्वास्थ्योपचारमा एआईको प्रयोगले विशेष गरेर गरिब मुलुकका बिरामीलाई थप फाइदा पुर्‍याउने देखिएको छ । एआईको प्रारम्भिक प्रयोगले पनि त्यसलाई प्रमाणित गरेको छ । सामान्य उपकरणको प्रयोगमा नै प्राप्त हुने तथ्यांकको प्रभावकारी विश्लेषण गरेर एआईले रोग खुट्याउन सक्छ । सामान्य मोबाइल फोन मुटुको गति, शरीरको तापक्रम, श्वासप्रश्वास र रगतमा अक्सिजनको मात्रा नाप्ने यन्त्रमा परिणत हुन सक्छ ।

जापानको फुजिफिल्मले ब्याट्रीबाट सञ्चालित ‘एक्स–रे मेसिन’ विकास गरिसकेको छ । त्यसलाई भारतीय कम्पनीले विकास गरेको ‘क्वेरडटएआई’ नामक ‘एआई एल्गोरिदम’ सँग जोडेर नाइजेरियामा क्षयरोगका साथै निमोनिया, ‘क्रोनिक अब्स्ट्रक्टिभ पल्मनरी डिजिज’ (सीओपीडी) र मुटु ‘फेलियर’ को अवस्था पत्ता लगाउन प्रयोग गरिँदै आएको छ ।

साथै, गानामा रहेको ‘मिनोहेल्थ ल्याब्स’ ले अफ्रिकाभरिबाट एक्स–रेको फिल्म जम्मा गरेर ‘रेडियोलोजीका मोडल’ लाई तालिम दिइरहेको छ । यसका साथै, लन्डनको प्राथमिक उपचारमा संलग्न चिकित्सकहरूले एआईयुक्त ‘स्टेथेस्कोप’ को परीक्षण गरिरहेका छन् । यसको प्रयोगले मुटु रोगलाई प्रारम्भिक अवस्थामा नै निदान गर्न सकिन्छ या सकिँदैन भन्ने थाहा पाउनका लागि यो प्रयोग भइरहेको हो । यस्तै अक्सफोर्डमा एआईयुक्त ‘स्पाइरोमिटर’ प्रयोग गरेर फोक्सोको अवस्थाको जाँचको ‘ट्रायल’ भइरहेको छ ।

जापानको गुनमा विश्वविद्यालयबाट ‘डायग्नोस्टिक रेडियोलोजी’ तथा ‘न्युक्लियर मेडिसिन’ मा विशेषज्ञता हासिल गरेका नेपाली चिकित्सक डा. सुमन श्रेष्ठका अनुसार स्वास्थ्योपचारमा एआईको प्रयोगले नयाँ सम्भावनाका ढोका खुलेका छन् । उनका भनाइमा अधिकांश विकसित देशमा यो अहिले परीक्षणकै क्रममा रहे पनि यसले सुखद भविष्य भने देखाएको छ । ‘जापानमा पनि एआईको प्रयोग पूर्ण रूपमा नै सुरु भएको छैन । परीक्षणहरू हुँदै छन् । सामान्य भाषामा भन्दा यसलाई प्रयोग गर्नका लागि तालिम दिँदै छ,’ उनले भने, ‘तर, अहिले भइरहेको विकास हेर्दा भोलिका दिनमा यसको प्रयोग बढ्दै जाने देखिन्छ ।’

डा. श्रेष्ठ आफैं पनि रेडियोलोजिस्ट भएका नाताले रोग निदानको क्षेत्रमा पनि एआईले ठूलो सहयोग गर्ने दाबी गर्छन् । उनका अनुसार यदि एआई ‘मोडल’ लाई राम्रो तथ्यांक र ‘इमेज’ हरू उपलब्ध गराउन सकेको खण्डमा यसले मानव आँखाले हतपत पत्ता लगाउन गाह्रो हुने रोगहरू ठीक रूपमा निदान गर्न सक्छ ।

‘एआई मोडलको एउटा प्रमुख समस्या भनेको यसमा कस्तो प्रकारका तथ्यांक हालिएको छ वा कसरी तालिम दिइएको छ भन्ने नै हो,’ उनले भने, ‘जस्तो कि बाघको जस्तो रङ भएको बिरालोलाई पनि यसले बाघ नै दाबी गर्न सक्छ । तर, के कारणले बाघ हो वा होइन भन्ने सिकाइएको छ भने यसले सही नतिजा दिन सक्छ । यो सुन्दा सामान्य लागे पनि यसले बिरामीको रोग खुट्याउने समयमा ठूलो तलमाथि पनि पार्न सक्छ ।’

यद्यपि, स्वास्थ्योपचारमा उच्च प्रविधिको प्रयोग भने नौलो होइन । कतिपय मेसिन तथा उपकरणमा अहिले नै पनि एआईको प्रयोग भइसकेको छ । तर, स्वास्थ्य क्षेत्रमा एआईलाई समावेश गर्दै लैजाने प्रक्रिया भने विश्वभर नै केही सुस्त रहेको देखिन्छ । कुनै पनि नयाँ प्राविधिक विकासलाई स्वास्थ्योपचारमा सामेल गर्न समय लाग्नुको प्रमुख कारण यसले निम्त्याउन सक्ने जोखिम पनि हो । बिरामीको हितका लागि प्रमाणित तथ्यांक र विश्लेषणबिना कतै पनि नयाँ प्रविधिको प्रयोग सहजै अवलम्बन गरिँदैन ।

स्वास्थ्य क्षेत्रमा पहिले नै ठूलो संख्यामा विभिन्नखाले तथ्यांक उपलब्ध छन् । तर, ती एकीकृत छैनन् । एआईले त्यस्ता तथ्यांकलाई छोटो समयमा नै एकीकृत गरेर विश्लेषण गर्न सक्षम छ । तर, बिरामीको गोपनीयतालाई रक्षा गर्न कतिपय अवस्थामा सरकारले त्यस्ता तथ्यांकलाई सार्वजनिक गर्न अनकनाउने गर्छ । अर्कोतर्फ बिरामी आफैं भने व्यक्तिगत उपचार पद्धतिको कुरा गर्छन् । कुनै पनि रोगको निदान भएपछि त्यसको उपचार कसरी गर्ने भन्ने चिकित्सकहरूको आफ्नो धारणा हुन सक्छ । चिकित्सकले दिएका परामर्शमध्ये कुन सबैभन्दा उचित हुन्छ भन्ने सल्लाह बिरामीलाई एआईले दिन सक्छ ।

त्रिवि शिक्षण अस्पतालका कलेजो प्रत्यारोपण विशेषज्ञ प्रा.डा. रमेशसिंह भण्डारीका अनुसार स्वास्थ्योपचारमा एआईको प्रयोगले बिरामीको ज्यान जोगाउनका लागि निकै ठूलो मद्दत गर्ने देखिएको छ । ‘सबैभन्दा पहिलो कुरा त कस्तो प्रकारको रोग लागेको हो र सम्भावित उपचार पद्धति के हुन सक्छ भन्ने जानकारी एआईले दिन सक्छ,’ उनले भने, ‘एआईको आफ्नो सीमितता त छ तर यसले चिकित्सकको प्रमुख सहयोगीको भूमिका निर्वाह गर्न भने सक्छ ।’

उनका अनुसार विकसित देशहरूमा जटिल शल्यक्रिया गर्नका लागि एआईको प्रयोग पछिल्लो समय बढ्दै गएको छ । ‘हामीले कलेजोमा कुनै समस्या भएको बिरामीको उपचार गर्नका लागि सीटी स्क्यान, एमआरआई, अल्ट्रासाउन्ड गराउँछौं तर पेटभित्र कुन स्थानमा कस्तो समस्या छ भनेर बाहिरैबाट भन्न मुस्किल हुन्छ । यस्तोमा एआईले मद्दत गर्न सक्छ,’ उनले भने, ‘एआईको प्रयोगले थ्रीडी होलोग्राम बनाउन सकिन्छ । जसले गर्दा शल्यक्रिया कसरी गर्ने भन्ने योजना बनाउन पनि सहज हुनेछ । यस कारणले शल्यक्रियामा नै थोरै समय लाग्छ र बिरामीलाई पनि सहज हुन्छ ।’ प्रा.डा. भण्डारीका भनाइमा एआईको प्रयोगले बिरामीलाई ‘क्लोज टु पर्फेक्ट’ ट्रिटमेन्ट प्राप्त गर्न र चिकित्सकहरूलाई त्यो प्रदान गर्न सहज वातावरण निर्माण गर्दै लगेको देखिन्छ तर भविष्यमा पनि चिकित्सकलाई नै भने एआईले प्रतिस्थापन गर्न भने असम्भव हुने उनको धारणा छ ।

डा. सुमन श्रेष्ठका अनुसार एआईको प्रयोगले हाल विश्वमा महामारीको रूप लिइरहेको नसर्ने रोगहरूलाई समयमै निदान गरेर बिरामीलाई ठोस उपचार प्राप्त गर्न सहयोग गर्नेछ । एआईको प्रयोगले अहिले नै पनि विकसित देशमा क्यान्सरको निदानमा ठूलो फड्को मारेको छ । ‘हाम्रा आँखाले नदेखेको क्यान्सर पनि कतिपय अवस्थामा एआईले पत्ता लगाइदिएको छ,’ उनले भने, ‘क्यान्सरजस्तो रोग समयमा पत्ता लाग्नु भनेको मान्छेको जीवन जोगिनु हो । साथै प्रारम्भिक अवस्थामा क्यान्सरको उपचार गर्नु र पछि गर्नुमा शारीरिक, मानसिकदेखि आर्थिक खर्च पनि जोगिन्छ ।’

विज्ञहरूका अनुसार एक जना बिरामीलाई कुनै एक रोगका लागि एमआरआई, सीटीस्क्यान वा पेटस्क्यानजस्तो परीक्षण गराउने गरिएको भए पनि यदि उक्त रिपोर्ट एआईले विश्लेषण गरेमा शरीरको अन्य भागमा भएको समस्या पनि पत्ता लगाउन सक्षम हुन्छ । ‘हामीले बिरामीलाई किन चिकित्सकले परीक्षण गर्न लगाएको छ भन्नेमा केन्द्रित भएर सीटी एमआरआईको रिपोर्टमा ध्यान दिन्छौं । तर, त्यही रिपोर्ट एआईले हेरेमा सम्पूर्ण रूपमा हेरेर अन्य भागमा पनि केही समस्या देखे त्यसलाई निदान गर्न सक्छ । त्यो सत्य हो,’ डा. श्रेष्ठले भने, ‘तर, अन्तिममा उक्त एआईको एल्गोरिदम कसरी विकास गरिएको छ र त्यसलाई कसरी तालिम दिइएको छ भन्ने नै मुख्य कुरा हो ।’

उनका अनुसार एआईका एल्गोरिदमहरूले गरेका गल्तीलाई अन्तिम मानेर बस्न भने हुँदैन । तर, त्यस्ता गल्तीलाई सच्याउँदै अगाडि बढेमा भने यसले चिकित्सकहरूलाई नै उपचार गर्न सहज र सरल हुँदै जाने निश्चित छ । विश्वमा नै स्वास्थ्य क्षेत्रमा एआईको प्रयोग सोचेभन्दा सुस्त हुनुमा यसले उपचार खर्चका साथै अस्पतालमा आवश्यक पर्ने मानव स्रोतमा पनि कमी ल्याउने डर पनि एक हो । २०३० सम्ममा विश्वमा नै करिब एक करोड स्वास्थ्यकर्मीको अभाव हुने तथ्यांकहरूले देखाएका छन् । जुन हाल प्रयोग भइरहेको मानव स्रोतको १५ प्रतिशत हो । यस्तै, अमेरिकामा स्वास्थ्योपचारमा हुने खर्चको कुल ३० प्रतिशत प्रशासनिक कार्यमा खर्च हुन्छ । त्यसलाई पनि एआईले कटौती गरिदिनेछ ।

तर, मेसिनले मान्छेको कामलाई नै विस्थापित गरिदिने र भइरहेको खर्चमा पनि कटौती गर्ने भएपछि धेरै संस्था यसको प्रयोगमा अनिच्छुक देखिएका छन् । स्वास्थ्य संस्थाहरू एआईको सहयोगमा बिरामीको हेरचाहमा सुधार गर्न चाहे पनि त्यसको लागत घटाउन भने तयार देखिँदैनन् । यसका साथै स्वास्थ्यकर्मी तथा चिकित्सकहरूले पाउने पारिश्रमिक र प्रोत्साहन भत्ता पनि कटौती हुने सम्भावना प्रबल छ । कसैले पनि आफ्नै आयमा कमी ल्याउने प्रविधिको उपयोग सहजै गर्न स्वीकार गर्दैनन् । यस अवस्थालाई चिरेर अगाडि बढ्नका लागि सरकारीस्तरमा नै नीति नियम बन्दै जानु आवश्यक छ । ‘एआई भनेको पनि मान्छेको दिमागकै उपज हो,’ प्रा.डा. भण्डारीले भने, ‘यसको प्रयोगले उपचारको नतिजा राम्रो आउनुका साथै खर्च पनि घटाउने निश्चित छ ।’

प्रकाशित : वैशाख १४, २०८१ ०६:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?