१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४१

पाल्पाको तिनाउका जंगलमा तीन दिनदेखि लागेको डढेलो नियन्त्रणमा आएन

माधव अर्याल

पाल्पा — पाल्पाको तिनाउ गाउँपालिका क्षेत्रमा तीन दिनदेखि लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । भूतखोला सामुदायिक वन, सिद्धबाबा धार्मिक सामुदायिक वनलगायत दोभान, पैठेडाँडालगायतका जंगलमा दिनरा डढेलो लागेको स्थानीय राजेश श्रेष्ठले जानकारी दिए ।

पाल्पाको तिनाउका जंगलमा तीन दिनदेखि लागेको डढेलो नियन्त्रणमा आएन

तिनाउका अधिकांश सामुदायिक जंगलमा सातायता डढेलो लागिरहेको छ । तिनाउ वन समन्वय समिति रहेको यहाँ ८६ वटा सामुदायिक वन रहेको छ । जंगलमा लागेको डढेलोले गर्दा गर्मी बढेको छ । यस्तै जंगलमा पलाउँदै गरको पालुवासमेत मरेका छन् भने जंगली जनावर, घस्रेर हिँड्ने जनावरलाई समेत ठूलो असर गरेको छ ।

तिनाउबाहेक पाल्पाका १३ स्थानमा डढेलो लागेको छ । तानसेन नगरपालिकाको कैलाश वसन्त सामुदायिक वनमा रातभर डढेलो लाग्दा स्थानीय बासिन्दा सुत्न सकेनन् । तानसेन मात्र नभई पाल्पाको तिनाउ, रैनादेवी छहरा, माथागढी, निस्दी, रामपुर नगरपालिका, पूर्वखोला गाउँपालिकाका १६ भन्दा बढी स्थानमा डढेलो लागिरहेको डिभिजन वन कार्यालय पाल्पाले जनाएको छ ।

पाल्पामा एक सातायता मात्रै ६० बढी स्थानमा डढेलो लागेको छ । १४ भन्दा बढी घर तथा गोठ जलेर नष्ट भएको भने २० वटाभन्दा बढी पशु चौपायाको मृत्यु भएको छ । डिभिजन वन कार्यालयले डेढ महिनाको अवधिमा दुई हजार २ सय १८ हेक्टर क्षेत्रफलमा डढेलो लागेको जानकारी दिएको छ । पाल्पाका तानसेन नगरपालिका, तिनाउ र रामपुर क्षेत्रमा बढी डढेलो लागेको छ ।

खेतबारीका झाडी जलाउँदा, वन्यजन्तुको आक्रमण रोक्न, चुरोट, बिँडी खाएका ठूटा जंगलमा फ्याँक्दा, आगोको जथाभावी प्रयोग गर्दा डढेलो बढेको डिभिजन वन कार्यालयका प्रमुख नारायणदेव भटराईले बताए ।


प्रकाशित : वैशाख १४, २०८१ ०६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?