१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३६

फरिदाको पीडा र नागरिकताको सकस

फरिदाले दोहोर्‍याइरहने वाक्य हो, ‘मेरो सन्तानको नागरिकता मेरै नामबाट बन्नुपर्छ, किन बन्दैन ?’ तर, सीडीओको तजबिजी अधिकारले उनका सन्तानले तत्काल नागरिकता पाउने छाँट पनि देखिँदैन ।
मोहना अन्सारी

फरिदा बानोको एउटै इच्छा छ– छोराछोरीलाई यो देशको नागरिक बनाउन पाए सुखले मर्न पाउँथेँ । किनकि उनका सबै ६ जना सन्तान अनागरिक भएर बस्नुपरेको थियो । तीन सन्तानमध्ये सबैभन्दा जेठो सन्तान नै उमेरले ३५ वर्षका भइसकेका छन् ।

फरिदाको पीडा र नागरिकताको सकस

फरिदाका बुबा इनामुल्ला मियाँ जो काठमाडौं बागबजारका स्थानीय बासिन्दा थिए र उनको विवाह पनौती निवासी अमिना मियाँसग भएको थियो । इनामुल्लाको १८ औं पुस्तासम्मको बसोबास रहेको बागबजारको जग्गा उनकी आमा (शैय्यदा बीबी, जो फरिदाकी हजुरआमा थिइन्) लाई उनका माइतीले दाइजोमा दिएका थिए । जहाँ इनामुल्लाका दुई सन्तान अहिले पनि वडा नम्बर २८ मा रहेको सोही घरमा बस्छन् ।

फरिदासँग मेरो भेट करिब डेढ वर्षअघि भएको थियो । उनले मलाई आफ्ना सबै समस्याको बेलीविस्तार लगाएकी थिइन् । म उनका कुरा सुन्न उत्सुक थिएँ । र, उनको पक्षमा मुद्दा लड्ने निधो गरें । फरिदाको जन्म इनामुल्लाकी माइली छोरीका रूपमा काठमाडौं महानगरपालिका–२८, बागबजारमा २०२४ सालमा भएको हो । छोराछोरीहरूको विवाह इनामुल्लाले आफ्नो जीवनकालमै गरिदिएका थिए । नेपाली समाजमा छोरीको विवाह गर्दा उनीहरूलाई सोध्ने प्रचलन थिएन, सायद त्यही कारण फरिदाका बुबाले पनि विवाह गर्दा फरिदाको सहमति लिएनन्, सोध्नु उचित ठानेनन् । यसरी फरिदाको विवाह एक अपरिचित व्यक्तिसँग भयो । फरिदालाई यो कुरा आज पनि सपनाजस्तै लागिरहेको छ । जुन विगत स्मरण गर्दा उनको अनुहार मलिन बन्छ । त्यही कारण आज पनि उनलाई आफ्नो विवाहको प्रस्टीकरण हरेक पटक दिनुपरेको छ ।

जब उनी जिल्ला प्रशासन कार्यालय काठमाडौंको भर्‍याङ उक्लिन्छिन् र त्यहाँका हाकिमहरूको कार्यकक्षमा पुग्छिन् । उनलाई त्यही प्रश्न सुरु भइहाल्छन्, जुन प्रश्नबाट उनी पटकपटक बेचैन भइसकेकी छन् । आफ्नो पति कुन देशका नागरिक थिए भन्ने प्रश्नले उनलाई फेरि सताउँछ । जुन प्रश्नको जवाफ उनीसँग छैन र अनन्तकालसम्म हुने पनि छैन । उनमा दिग्दारी छ, ‘किन यो प्रश्न मलाई सोधिन्छ बारम्बार । म यही एकै प्रश्नले पटकपटक लज्जाबोधको सिकार भएकी छु । नाजवाफ भएकी छु ।’ जबकि उनलाई थाहा पनि छैन । त्यो क्षण फरिदाका लागि शून्य जस्तै हुन्छ किनभने सोध्ने हाकिम एक्लै हुँदैनन् । कार्यकक्ष धेरै आतेजाते र अन्य कर्मचारीले भरिएको हुन्छ । यो प्रश्न एउटा व्यक्ति हुनुको परिचय र एउटा नागरिकसँग ऊ हुनुको परिचय मागिँदै छ । ऊ यही देशको नागरिक हो । ऊसँग नागरिकता छ, उसको बुबाको नागरिकता छ, ऊसँग सानो टुक्रा जग्गा पनि छ । तर एउटै मात्र गल्ती के हो भने ऊ महिला भएर यो धर्तीमा जन्मिनु !

नाजवाफ फरिदा भन्छिन्, ‘म कति ठगिएको रहेछु भन्ने कुरा आज थाहा पाउँदै छु । मैले २९ वर्ष बिताएको मानिस कुन देशको नागरिक थियो मलाई केही थाहा छैन । यो मैले हजारौं पटक भनिसकेँ र आज म सार्वजनिक ठाउँमा उभिएर यो कुरा भन्न सक्छु । यसमा मलाई कुनै लज्जाबोध छैन । ममाथि प्रश्न उठाउनेलाई म पनि प्रश्न सोध्न चाहन्छु कि एउटा महिलाले आफू हुनुको र आफ्नो अस्तित्वको प्रमाण कति पटक पेस गर्नुपर्छ ? के मेरो कुनै अस्तित्व छैन ? म महिला भएको नाताले मेरो र ६ सन्तानको सम्मानका साथ बाँच्न पाउने अधिकार नै छैन ? यसको जवाफ मलाई कसले दिन्छ ? मेरो बुबाले विवाह गरिदिनुभयो । विवाह हुँदैमा मैले मेरो देश छोड्ने कुरा नै आउँदैन । मैले मेरो राष्ट्रियता त्याग्ने पनि कुरा आउँदैन । ऊ अनाथ नै थियो सायद, किनभने उसले कहिले पनि आफ्नो परिवारको बारेमा मसँग कुरा गरेन । न मैले कहिले उसलाई सोधें ।’

फरिदा विवाहपश्चात् बुबाकै शरणमा बसिन् र उनका पति पनि फरिदासँगै बस्न थाले । दिन बित्दै गए । फरिदाले ६ जना सन्तान जन्माइन्, हुर्काइन् । उनका पति सामान्य सिलाइको काम गर्थे । त्यसबाट फरिदाको परिवारको जेनतेन जीवन चली नै रहेको थियो । पतिको स्वास्थ्य स्थिति बिग्रँदै गयो । लामो समयसम्म उनी सख्त बिरामी भए र केही समयको उपचारपछि निधन भयो । आज फरिदाको पतिको मृत्यु भएको पनि १५ वर्ष बितिसकेको छ । पतिको मृत्युपश्चात् फरिदाको काँधमा घरव्यवहार चलाउने र बालबच्चा हुर्काउने जिम्मेवारी आइलाग्यो ।

काम नगरी सुख हुने भएन र स्थानीय स्तरमा सानोतिनो काम गरिन् । सामाजिक रूपमा सक्रिय हुन् थालिन् । २०६२ सालमा काठमाडौं महानगरपालिका–३१ को महिला वडा सदस्यका रूपमा निर्विरोध निर्वाचित भइन् । यसलगत्तै २०६२/२०६३ को दोस्रो जनआन्दोलनमा पनि सक्रिय भूमिका निर्वाह गरिन् । तर पनि नेपाली राज्यसत्ताले महिलालाई सम्मान गर्न नसकेको कुरा बडो पीडाका साथ उनी सुनाउँछिन् । ‘म र मेरो दाइ एउटै नेपाली आमाबुबाका सन्तान हौं । मेरो भाइलाई विवाह गर्ने स्वतन्त्र रूपमा छुट छ, उसलाई आफ्नो सन्तानलाई राष्ट्रिय पहिचान दिने हक छ । तर मेरा दाइ वा भाइले एउटा नेपाली नागरिकले उपभोग गरेको कुनै पनि अधिकार मलाई छैन । मैले ती अधिकार निर्बाध प्रयोग गर्न पाउँदिनँ । के म वास्तवमै दोस्रो दर्जाको नागरिक हुँ ?’ उनको प्रश्न छ ।

फरिदाले नागरिकता पाऊँ भनी सर्वोच्च अदालतमा हालेको रिटको फैसला आइसकेको नौ महिना बितिसकेको छ । फैसला र वडाको सिफारिस लिएर जिल्ला प्रशासन कार्यालय जानु फरिदाको दैनिकी बनिसकेको छ । तर सीडीओको प्रश्न सकिएको छैन, फरिदासँग जवाफ छैन । हालै पनि उनलाई सोधिएछ– ‘तपाईंका पति कुन देशको नागरिक हो, त्यसको निस्सा लिएर आउनुस्, हामी नागरिकता दिन्छौं ।’

यो राज्यका शासक वर्गले आजसम्म महिलाको अस्तित्व किन स्विकार्न सकेको छैन ? फरिदाका सन्तानको नागरिकता कहिले बन्छ ? न जिल्ला प्रशासन कार्यालय न गृह मन्त्रालय, कोही जवाफदेही बनेको देखिन्न । फरिदाले पटकपटक दोहोर्‍याइरहने वाक्य हो, ‘मेरो सन्तानको नागरिकता मेरो नामबाट बन्नुपर्छ तर किन बन्दैन ?’ तर सीडीओको तजबिजी अधिकारले फरिदाका सन्तानले तत्काल नागरिकता पाउने छाँट पनि देखिँदैन ।

नेपालको संविधान जारी भएको आठ वर्ष व्यतीत भइसकेको छ । कुनै पनि मानिस नागरिकताको हकबाट वञ्चित हुने छैन । तर संविधानको अक्षरशः पालना भइरहेको छैन । धारा ११ (१) मा संविधान प्रारम्भ हुँदाका बखत नेपालको नागरिकता प्राप्त गरेका र यस भागबमोजिम नागरिकता प्राप्त गर्न योग्य व्यक्तिहरू नेपालका नागरिक हुनेछन् भनिएको छ । उपधारा (२) मा भनिएको छ– संविधान प्रारम्भ हुँदाका बखत नेपालको स्थायी बसोबास भएको देहायको व्यक्ति वंशजको आधारमा नेपालको नागरिक ठहर्नेछ :

(क) यो संविधान प्रारम्भ हुनुभन्दा अघि बंशजको आधारमा नेपालको नागरिकता प्राप्त गरेको व्यक्ति ।

(ख) कुनै व्यक्तिको जन्म हुँदाका बखत निजको बुबा वा आमा नेपालको नागरिक रहेछ भने त्यस्तो व्यक्ति ।

त्यसरी नै सो संविधान प्रारम्भ हुँदा नेपालमा स्थायी बसोबास भएको कुनै व्यक्तिको जन्म हुँदाका बखत निजको बुबा वा आमा नेपालको नागरिक रहेछन् भने त्यस्तो व्यक्ति पनि बंशजको आधारमा नेपाली नागरिक ठहर्ने उल्लेख छ । नेपालको नागरिकता ऐन २०६३ र नागरिकता नियमावली तेस्रो संशोधन (२०८० असोजमा जारी) को नियम ३ उपनियम २ मा नागरिकतासम्बन्धी व्यवस्था छ । (१) को (क) मा निवेदकको बुबा वा आमा नेपाली नागरिक भएकाले निज बंशजको नाताले नेपालको नागरिक भएको र नेपालमा जन्म भई निरन्तर रूपमा नेपालभित्र स्थायी रूपमा बसोबास गरी आएको व्यहोरा खुल्ने गरी स्थानीय तहका पदाधिकारी वा सदस्यको रोहबरमा अनुसूची ३ बमोजिमको ढाँचामा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त स्थानीय बासिन्दाहरूले गरिदिएको स्थलगत सर्जमिन र (ख) मा निवेदकलाई चिन्ने सोही वडामा बसोबास गर्ने कम्तीमा दुई जना नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका व्यक्ति र सम्बन्धित स्थानीय तहको कम्तीमा एक पदाधिकारी वा सदस्यले अनुसूची ४ बमोजिमको ढाँचामा सर्जमिनस्थलमै गरिदिएको सनाखत भए नेपाली नागरिकताको प्रमाणपत्र दिन सकिने उल्लेख छ ।

यी सबै प्रावधानअनुसार फरिदाले कागजात जुटाएकी छन् तर नेपालको संविधान, कानुन र नियमावलीभन्दा माथि सीडीओ र कर्मचारीहरू देखिएका छन् । के संविधान र कानुन नमान्ने अधिकार सीडीओलाई छ ? उनीहरूले एउटा महिलाको आमा हुनुको अस्तित्वमाथि नै प्रश्न खडा गर्न कुनै कसर बाँकी राखेका छैनन् । नेपाली समाजको पुरुषसत्ताको वास्तविक स्वरूप नागरिकता लिँदा र नागरिकता प्रदान गर्ने हाकिमहरूमा खुलस्त देख्न र अनुभूत गर्न सकिन्छ ।

हालका गृहमन्त्रीले केही समयअगाडि एक प्रसंगमा यो पंक्तिकारसँग एउटा प्रश्न सोधेका थिए, ‘आखिर एउटा आमालाई आफ्नो सन्तानलाई नागरिकता दिनबाट के बाधा आउँछ ?’ आज म नै गृहमन्त्रीज्यूलाई एउटा प्रश्न गर्दै छु, ‘गृहमन्त्रीज्यू, तपाईंले हरेक कुरा बडो द्रुतगतिमा गर्दै हुनुहुन्छ । तर एउटी आमाले आफ्नो नामबाट आफ्नो सन्तानलाई नागरिकता किन दिन सक्दिनन् ? सन्तानको बुबा जोसुकै किन नहोस्, त्यो सोध्ने अधिकार तपाईंका सीडीओआई कसले दियो ? एकपटक नेपालको संविधान पढ्न र सोहीबमोजिम आफ्ना कर्मचारीलाई निर्देशन दिन बिन्ती चढाएँ ।’

यो मुद्दा एउटी फरिदा बानोको मात्रै होइन । हजारौं फरिदाहरू दिनहुँ यसरी नै प्रशासन कार्यालयमा धाउन विवश छन् ।

– अन्सारी राष्ट्रिय मानव अधिकार आयोगकी पूर्वसदस्य हुन् ।

प्रकाशित : वैशाख १४, २०८१ ०७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?