रसुवा , मंसिर २६ -
जिल्लाका प्राथमिक तहमा विद्यार्थी संख्या शून्य भएपछि दरबन्दी मिलान गरी विद्यालय बन्द गरिएको छ । जिल्ला शिक्षा समितिको निर्णयले पहिलो चरणमा छ विद्यालय बन्द गरिएको हो । ती विद्यालयमा विद्यार्थी एउटै नभएको भेटिएपछि स्कुल बन्द गरिएको निमित्त जिल्ला शिक्षा अधिकारी दीपेन्द्रराज श्रेष्ठले बताए । 'विद्यार्थी छैनन्,' उनले भने, 'विद्यालय बन्द गर्नुपर्यो ।' लाङटाङ मुन्डुस्थित लिरुङ प्रावि, बृद्धिमको नेपाल राष्ट्रिय प्रावि, बृद्धिमकै शेर्पागाउँ प्रावि, स्याप|mुको जनप्रभात प्रावि, यार्साको लयुङ प्रावि र ठूलोगाउँको ठूलो गाउँ प्रावि विद्यार्थी नभएकै कारण बन्द भएका हुन् । यहाँका शिक्षक दरबन्दी भने मिलान गरिएको शिक्षाले जनाएको छ ।विद्यार्थी नभएकै कारण बृद्धिमको नेपाल राष्ट्रिय प्रावि ५ वर्षदेखि बन्द थियो भने लाङटाङको मुन्डको लिरुङ प्रावि ३ वर्षदेखि बन्द थियो ।