१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३६१

बजेट निर्माणमा जुट्यो अर्थ मन्त्रालय

सहसचिव धनीराम शर्माको नेतृत्वमा बजेट लेखन समूह 
मन्त्री फेरिँदैमा सरकारको नीति परिवर्तन हुन्न, यसअघिका अर्थमन्त्री प्रकाशशरण महतले संसद्मा प्रस्तुत गरेको बजेटको सिद्धान्त र प्राथमिकताको स्वामित्व लिएर मैले त्यो सन्देश दिइसकेको छु : वर्षमान पुन, अर्थमन्त्री

काठमाडौँ — अर्थमन्त्री वर्षमान पुनले बजेट मस्यौदा लेखन समिति गठन गरेका छन् । आगामी आर्थिक वर्ष ०८१/८२ को बजेट वक्तव्य लेखनका लागि मन्त्रालयका सहसचिव धनीराम शर्माको संयोजकत्वमा अर्थमन्त्री पुनले शुक्रबार समिति गठन गरेका हुन् । 

बजेट निर्माणमा जुट्यो अर्थ मन्त्रालय

समितिमा सहसचिवहरू रितेशकुमार शाक्य, महेश आचार्य, रामप्रसाद आचार्य, ईश्वरी अर्याल र पार्वती शर्मा सदस्य छन् । शर्मा, शाक्य, आचार्यद्वय र अर्याल अर्थ मन्त्रालयमा कार्यरत छन् । शर्मा भने आन्तरिक राजस्व कार्यालयमा उपमहानिर्देशक छिन् । शनिबार नै बैठक बसेर समितिले काम थाल्ने समिति संयोजक शर्माले बताए । ‘विषयगत मन्त्रालयहरूसँग समन्वय गरेर तत्काल बजेट लेखनको काम थालिनेछ,’ उनले भने ।

निवर्तमान अर्थमन्त्री प्रकाशशरण महत छँदै तय भएका सकारात्मक कार्यक्रममा परिवर्तन नगरिने अर्थमन्त्री पुनको भनाइ छ । विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंका देशीय निर्देशक फेरिस हदाद जर्भोससँग शुक्रबार मन्त्रालयमा भएको भेटमा उनले मन्त्री फेरिँदैमा सरकारको नीतिमा तात्त्विक परिवर्तन नहुने प्रस्ट्याए । महतले संसद्मा प्रस्तुत गरेको आगामी बजेटको सिद्धान्त र प्राथमिकताको स्वामित्व लिएर आफूले त्यो सन्देश दिइसकेको उनको भनाइ छ ।

‘मन्त्री फेरिँदैमा नीतिमा धेरै परिवर्तन गर्नुहुँदैन,’ उनले भने, ‘राज्यको नीतिमा स्थायित्व चाहिन्छ, कतिपय कोणबाट मलाई सिद्धान्त र प्राथमिकतामा हेरफेर गर्न सुझाव पनि आएको हो । तर मैले त्यसो गर्नु उपयुक्त ठानिनँ ।’ आगामी वैशाख १६ र १७ मा गर्ने भनिएको तेस्रो लगानी सम्मेलन र असारमा काठमाडौंमा हुने विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आइडा) बैठक तोकिएकै समयमा हुने उनले जनाए । फरक प्रसंगमा मन्त्री पुनले एमसीए नेपालमार्फत हाल सञ्चालित आयोजना पाँच वर्षभित्रै सक्ने प्रतिबद्धता जनाए ।


प्रकाशित : चैत्र १७, २०८० ०७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लगानी सम्मेलन-२०२४ मा सरकारले 'सोकेस' मा राखेका परियोजनाहरूको सूची कस्तो लाग्यो ?