पाँच महिनापछि उडानमा फर्कियो निगमको न्यारोबडी

काठमाडौँ — इन्जिन मर्मत गर्न नेपाल वायु सेवा निगमले पुस २७ मा इजरायल पठाएको न्यारोबडी जहाज शनिबार राति काठमाडौं अवतरण भएको छ । इन्जिनमा समस्या देखिएपछि यो जहाज ०८० मंसिर १४ देखि उडानमा थिएन ।

पाँच महिनापछि उडानमा फर्कियो निगमको न्यारोबडी

इन्जिनको मर्मत सकिएर सोमबार दुबई हुँदै यात्रु बोकेर आउनुपर्ने जहाजको ल्यान्डिङ गियरको अल्टरनेट ब्रेकिङ सिस्टममा समस्या देखिएपछि नेपाल आउन एक साता ढिलाइ भएको निगमका प्रवक्ता रमेश पौडेलले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

निगमले न्यारोबडी जहाजको मर्मत गर्न इजरायलको ‘इजरायल एरोस्पेस इन्डस्ट्रिज (आईएआई) सँग सार्वजनिक खरिद ऐनअनुसार इन्जिन मर्मत गर्न एमआरोओ सम्झौता गरेको थियो । सम्झौताअनुसार जहाज एक महिनाभित्रै मर्मत गरेर फर्किनुपर्ने प्रावधान ठेक्का सम्झौतामा उल्लेख भए पनि यो विमान झन्डै १ सय ९ औं दिनमा नेपाल आइपुगेको छ । तीन महिनाभन्दा बढी जहाज इजरायलमा थन्किएपछि ‘निगमले गम्भीरतापूर्वक अध्ययन गर्ने’ विज्ञप्तिमा जनाएको छ ।

यसबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोग, संसदीय समितिहरूले पनि चासो राख्ने भएकाले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले ०८० माघ २३ मा निगमका तीन विभागका १८ जना कर्मचारीको हस्ताक्षर गराएर राखेका छन् । ‘इन्जिन मर्मत सम्झौताअनुसार नहुने भएपछि कार्यकारी अध्यक्षले अख्तियार, संसदीय समिति र पर्यटन मन्त्रालयको स्पष्टीकरणबाट जोगिन ‘मर्मतसम्भार एकदमै जटिल तथा विशेषज्ञ कार्य हो’ भनी तीन वटा इन्जिनियरिङ विभागका १८ जना प्राविधिक र इन्जिनियरलाई आफ्नो कार्यकक्षमा बोलाई हस्ताक्षर गराएका छन्,’ निगमका एक निर्देशकले भने ।

विमान इन्जिनमा समस्या देखिएपछि मंसिर ३० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड गरिएको थियो । इन्जिन नै झिकेर मर्मत गर्नुपर्ने भएपछि पुस २६ मा निगमले यो विमानलाई काठमाडौंबाट दुबई हुँदै इजरायल पठाएको थियो । यो विमानको मर्मत खर्चबारे निगमका अधिकारीहरूले आधिकारिक बिल इजरायलबाट प्राप्त भइनसकेको बताए । जहाज फर्किएसँगै निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुइटा न्यारो र दुइटा वाइडबडी जहाज छन् ।

प्रकाशित : वैशाख १७, २०८१ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदा प्रदेश सभाको बैठकमै उपस्थित नहुने कांग्रेसको शैलीबारे तपाईंको के टिप्पणी छ ?