२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८७

के नेपाल सुरुङमार्गमा प्रवेश गर्दैछ ?

काठमाडौँ — पृथ्वी राजमार्ग हुँदै संघीय राजधानी काठमाडौं छिर्दा हुने सास्ती र हैरानी कहिलदेखि एउटा नमिठो कथा बन्ला ? यसको उत्तर नागढुंगादेखि सिस्नेखोलासम्म सुरुङमार्ग निर्माणको ब्रेक थ्रुको अन्तिम तयारी भएपछि पाईने अपेक्षा गरिएको छ । यो सुरुङमार्ग संचालनमा आएपछि साघुरो र घुमाउरो बाटो हुँदै भइरहेका कष्टप्रद यात्रा केही हदसम्म भएपनि अन्त्य हुने विश्वास राखिएको छ ।

के नेपाल सुरुङमार्गमा प्रवेश गर्दैछ ?

२०७६ कात्तिकमा निर्माण थालिएको २.६८ किमि दुरीको सुरुङको ब्रेक थ्रुको मिति त तय गरिसकिएको छैन । तर आगामी केही सातामै यसको ब्रेक थ्रु हुने विश्वास गरिएको छ । ०७६ कात्तिकमा निर्माण थालिएको सुरुङको काम ४२ महिनाभित्र सक्नुपर्ने भए पनि आयोजना सुरु भएको ५१ महिना बितिसकेको छ । यो सुरुङ निर्माणमा जापान सरकारको साढे १६ अर्ब ऋणसहित नेपाल सरकारको ६ अर्ब रुपैयाँ लगानी छ ।

ट्राफिक प्रहरीका अनुसार नागढुंगाको बाटो हुँदै दैनिक साना ठूला गरेर करिब १० हजार सवारी ओहोरदोहोर गर्छन् । काठमाडौंतर्फ बलम्बुबाट साढे ८ किमि दूरीबाट पुगिने सिस्नेखोलामा सुरुङमार्ग भएर जाँदा भने ३ मिनेटमात्र लाग्नेछ । यसअघि यही दूरी पार गर्न औसतमा ४१ मिनेट लागिरहेको थियो ।

यो सुरुङमार्गले के नेपाललाई सुरुङ यात्रामा लैजाने कोसेढुंगा बन्न सक्छ ? यसको उत्तर यो सँगसँगै बन्न सुरु भएका अन्य सुरुङमार्गको प्रगतिले निर्धारण गर्नेछ । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको सिद्धबाबा सुरुङ मार्गको ठेक्का सम्झौता भएको दुई वर्ष बितिसकेको छ । ०७८ फागुनमा ठेक्का सम्झौता भएर यसको काम सुस्त गतिमा भए पनि अघि बढिरहेको छ । यो सुरुङ मार्ग निर्माणका लागि उत्तर र दक्षिणतर्फ सुरुङको मुख खोल्ने काम सुरु भइसकेको छ । यो सुरुङ मार्गका निम्ति ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

काठमाडौंलाई तराई मधेशसँग जोडने सबैभन्दा द्रुत गतिको छोटो बाटो फास्ट ट्रयाकमा पनि ६ वटा सुरुङ मार्ग हुनेछन् । ललितपुरको खोकनाबाट सुरु भएर बाराको निजगढ निस्कने ७०.९७७ किमि दामो यो राजमार्गमा बन्ने ६ वटा सुरुङको कुल लम्बाई १०.०५५ किमि छ । दुरीको हिसाब गर्ने हो भने सबैभन्दा लामो सुरुङ यही फास्ट ट्रयाकमा बन्दैछ । अहिले यस राजमार्गमा बन्ने ६ सुरुङमध्ये ४ वटा निर्माणाधिन क्रममा रहेको छ भने २ वटा ठेक्का प्रक्रियामा छ । नेपाली सेनाले ठेक्का लिएर यो राजमार्गको काम सुरु गरिरहेको छ ।

बीपी राजमार्गमा पर्ने सिन्धुली खण्ड, दोलखाको लामाबगर लगायतका स्थानमा पनि सुरुङ सम्भाव्यता अध्ययनको काम जारी छ । यसका अलावा चीन सरकारको सहयोगमा बन्ने टोखा-छहरे सुरुङको अध्ययन पनि सकिइसकेको छ । वाग्मती प्रदेश सरकारले साँखु फटकेश्वर–गोकर्ण बालुवा बुढानीलकण्ठ मार्गका लागि पनि सुरुङको अध्ययन गरेको छ ।

पृथ्वी राजमार्गबाट छोटो बाटो भएर चितवन पुग्नका लागि मझिमटार–शक्तिखोर–जोगीमारा निस्कने सुरुङ मार्गको निम्ति पनि छलफल भइरहेको छ । त्यस्तै स्विस सरकारको अनुदानमा गणेशमान मार्गअर्न्तगत थानकोट चित्लाङ सुरुङमार्गको पनि अध्ययन भएको छ ।

प्रकाशित : चैत्र २९, २०८० २०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?