कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८९

स्मार्ट भिलेज गोल्ड कप : बेंसीसहर युथ र लालीगुराँस भुजुङ सेमिफाइनलमा

आश गुरुङ

लमजुङ — सुखी गाउँले चिनिएको लमजुङको क्व्होलासोथार गाउँपालिका ३, घलेगाउँमा जारी सातौं स्मार्ट भिलेज गोल्डकप फुटबल प्रतियोगितामा मंगलबार जिल्लाकै २ फुटबल टिम सेमिफाइनलमा प्रवेश गरेका छन् ।

स्मार्ट भिलेज गोल्ड कप : बेंसीसहर युथ र लालीगुराँस भुजुङ सेमिफाइनलमा

जिल्लाबाहिरका टिमलाई हराउँदै बेंसीसहर युथ सोसाइटी र लालीगुराँस युवा क्लब भुजुङ सेमिफाइनल प्रवेश गरेका हुन् । स्वर्गभूमि रंगशालामा भएको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन बेंसीसहर युथ सोसाइटीले भरतपुर फुटबल क्लब चितवनलाई ५–१ को फराकिलो गोल अन्तरले हरायो । अर्को खेलमा लालीगुराँस भुजुङले पिप्ले युवा क्लब हेटौंडा मकवानपुरलाई २–० गोलले हरायो ।

पहिलो खेलमा बेंसीसहरको तर्फबाट पहिलो हाफको २७ औं मिनेटमा जय गुरुङले गोल खाता खोले । दोस्रो हाफको ३९ औं मिनेटमा विजय सिंहले गोल गरे । पहिलो हाफको अन्तिम समय ४० औं मिनेटमा विदेशी खेलाडी ग्लोरीले गोल गरे ।

दोस्रो हाफको सुरुवाती समय ३ मिनेटमा ग्लोरीले नै गोल गरे । लगत्तै ४५ औं मिनेटमा उनै ग्लोरीले थप १ गोल गरेर खेलमा ह्याट्रिक गरे । भरतपुर फुटबल क्लबका तर्फबाट खेलको अन्तिम समय दोस्रो हाफको ३८ औं मिनेटमा सुदीप केसीले सान्त्वना गोल फर्काएर टिमलाई शून्यबाट जोगाए । पहिलो खेलमा बेंसीसहर युथ सोसाइटीका ग्लोरी म्यान अफ द म्याच घोषित भए ।

दोस्रो खेलमा लालीगुराँस भुजुङका तर्फबाट विदेशी खेलाडी अफिज ओलावाले कर्नर किकको सदुपयोग गर्दै पहिलो हाफको २० औं मिनेटमा गोलखाता खोले । दोस्रो हाफको ३१ औं मिनेटमा सन्तोष खत्रीले कर्नर किकको सदुपयोग गर्दै हेडमार्फत गोल गर्दै भुजुङलाई सेमीफाइनलको यात्रा सुनिश्चित गराए । प्रतियोगितामा भुजुङका खेलाडी सुशील यादव म्यान अफ द म्याच घोषित भए ।

यसअघि सोमबारको खेलबाट भुइँखेल फुटवल क्लब काठमाडौं र फ्रेन्डसिप युवा क्लब तनहुँ सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । फाइनल प्रवेशका लागि बुधबार भुइँखेल फुटवल क्लब काठमाडौं र डिफेन्डिङ च्याम्पियन बेंसीसहर युथ सोसाइटी लमजुङ साथै फ्रेन्डसिप युवा क्लब तनहुँ र गत पुसमा यस क्षेत्रकै बहुचर्चित ८ लाख रुपैयाँ पुरस्कार राशिको त्रिवेणी कप च्याम्पियन लालीगुराँस युवा क्लब भुजुङ भिड्नेछन् । पहिलो खेल बिहान ११ बजे भुइँखेल र बेंसीसहरबीच हुने आयोजकले जनाएको छ । फाइनल खेल बिहीबार हुनेछ ।

प्रतियोगितामा प्रथम पुरस्कार ५ लाख ५० हजार ५ सय ५५ रुपैयाँ, गोल्ड कप र मेडल र द्वितीय पुरस्कार ३ लाख ५० हजार ३ सय ५५ रुपैयाँ, कप र मेडल राखिएको छ । सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडीलाई नगद १०/१० हजार रुपैयाँ र मेडल प्रदान गरिने आयोजक पर्यटन व्यवस्थापन समिति, स्मार्ट भिलेज घलेगाउँका अध्यक्ष प्रेम घलेले बताए ।

प्रकाशित : वैशाख ४, २०८१ २१:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?