कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८९

राष्ट्रपतिबाट रनिङ सिल्डको उद्घाटन

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले १४औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुदको उद्घाटन गर्दै हरेक स्थानीय तहबाटै सरकारले खेलकुदको विकास गर्नुपर्ने बताएका छन् ।

राष्ट्रपतिबाट रनिङ सिल्डको उद्घाटन

राष्ट्रिय खेलकुद परिषद्को (राखेप) को आयोजनामा मंगलबार राष्ट्रपति रनिङ सिल्ड दशरथ रंगशालामा सुरु भएको हो । राष्ट्रपति पौडेलले देशको हरेक स्थानीय क्षेत्रमा खेलकुद संरचना निर्माणका लागि सरकारको अग्रसरता र पहलकदमी हुनुपर्ने आवश्यता औंल्याएका छन् ।

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रपति रनिङ सिल्ड खेलेका खेलाडीले नै एक दिन देशको झण्डा बोक्ने विश्वास व्यक्त गरे । राखेपका सदस्य–सचिव टंकलाल घिसिङले राष्ट्रपति रनिङ सिल्डमा ७ सय ३५ मध्ये ६३५ स्थानीय तहबाट खेलाडी छनोट भएर केन्द्रीयस्तरमा प्रतिस्पर्धा गर्न आएको जानकारी गराए । उनले राष्ट्रपति रनिङ सिल्ड खेलहरूको राष्ट्रिय टिम निर्माणको जगसमेत भएको उल्लेख गरे ।

उद्घाटन कार्यक्रममा सहभागी सातै प्रदेशका खेलाडी, प्रशिक्षक, प्रतियोगिताका निर्णायक तथा विभिन्न कला, संस्कृति र पहिचान बोकेका समूहको मार्चपास गरेका थिए ।

दशरथ रंगशालामा टर्च र्‍यालीसहित तेक्वान्दोकी पारा ओलम्पियन पलेशा गोवर्धनले ओलम्पिक टर्च प्रज्वलन गरेकी थिइन् । खेलाडीबाट कर्णाली प्रदेशकी उसु खेलाडी सन्ध्या राणा क्षेत्री तथा निर्णायकबाट करातेका प्रकाशमोहन धौबडेलले शपथ लिएका थिए ।

तीन दिने प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु गरी ६ खेलमा प्रतिस्पर्धा हुनेछ । पहिलो दिन एथलेटिक्सको ८ स्पर्धाको फाइनल भएको छ भने भलिबल र कबड्डीको प्रतिस्पर्धा पनि सुरु भएको छ ।

गणेशको राष्ट्रिय कीर्तिमान

गण्डकी प्रदेशका गणेश बिकले राष्ट्रपति रनिङ सिल्डमा एथलेटिक्सको छात्र हाइजम्पमा जुनियर राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।

दशरथ रंगशालामा गणेशले १.८१ मिटर जम्प गर्दै २०७५ सालमा भएको राष्ट्रपति रनिङ सिल्डमा लुम्बिनीका प्रभु थारुले बनाएको १.७७ मिटरको कीर्तिमान तोडेका थिए । वाग्मती प्रदेशका अविनाश सुनार (१.७५ मिटर) दोस्रो तथा लुम्बिनी प्रदेशका मिलन विश्वकर्मा (१.७० मिटर) तेस्रो भए । सोही स्पर्धाको छात्रातर्फ सुदूरपश्चिम प्रदेशकी सुस्मिता चौधरी (१.४१ मिटर) पहिलो, गण्डकीकी सिमा श्रेष्ठ (१.३८ मिटर) दोस्रो तथा लुम्बिनीकी पूजा नेपाली र कर्णाली प्रदेशकी हीरा बुढा (१.३० मिटर) तेस्रो भए ।

छात्र १५ सय मिटर दौडमा गण्डकीका बादल कार्कीले स्वर्ण जिते । उनले निर्धारित दूरी ४ मिनेट १९.१ सेकेन्डमा पूरा गरे । ४ मिनेट १९.६ सेकेन्डबाट कर्णालीका अजय बिक दोस्रो तथा ४ मिनेट २२.७ सेकेन्डबाट सुदूरपश्चिमका विक्रम बिक तेस्रो भए । छात्रामा कर्णालीकी कल्पना बुढा विजयी भइन् । कल्पनाले ५ मिनेटमा ०४.४ सेकेन्ड लगाइन् । सुदूरपश्चिमकी देवकीकुमारी धामी (५ मिनेट १३.०९ सेकेन्ड) दोस्रो र वाग्मतकी अस्मिता भुजेल (५ मिनेट १९.८ सेकेन्ड) तेस्रो बने ।

छात्राको ४ सय मिटर दौडमा लुम्बिनीका रोहितकुमार गुप्ता पहिलो भए । उनले ५१.५ सेकेन्डमा दूरी तय गरे । वाग्मतीका सन्तबहादुर दराई (५१.९ सेकेन्ड) दोस्रो तथा कोशी प्रदेशका राकेश सार्की तेस्रो स्थानमा रहे । सो स्पर्धाको छात्रामा कर्णालीकी सरिता खड्का पहिलो भइन् । दूरी पूरा गर्न सरिताले १ मिनेट ०२.३ सेकेन्ड खर्चिन् । लुम्बिनीकी अनिशा थारु (१ मिनेट ०३.५ सेकेन्ड) दोस्रो तथा कर्णालीकी भावना कर्साल (१ मिनेट ०३.७ सेकेन्ड) तेस्रो भए ।

छात्र १०० मिटर दौडमा मधेश प्रदेशका आदेशकुमार यादव पहिलो भए । उनले ११.२० सेकेन्ड दूरी पूरा गरे । वाग्मतीका प्रवीण राना मगर (११.३५ सेकेन्ड) दोस्रो तथा सुदूरपश्चिमका चन्द्र बोहरा (११.५२ सेकेन्ड) तेस्रो भए । छात्रामा सुदूरपश्चिमकी रितु जोशी पहिलो भइन् । रितुले १३.५८ सेकेन्डमा दौड पूरा गरिन् । गण्डकीका एन्जल अधिकारी (१३.६६ सेकेन्ड) दोस्रो तथा निशा घर्ती (१३.७५ सेकेन्ड) तेस्रो भए ।

प्रकाशित : वैशाख ४, २०८१ २२:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?