१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८५

लोकेशको शतकले जोगिएन नेपाल

लोकेशले सानदार शतक बनाए पनि नेपाल ‘ए’ अन्तिम ४ ओभरमा चुक्यो

काठमाडौँ — लोकेश बम यस्तो दिनको प्रतीक्षामा थिए, जसलाई उनले पर्खिरहेको धेरै भइसकेको थियो । नेपाली राष्ट्रिय टोलीमा उनको आतेजाते क्रम चलिरहेको छ । अडिन सकेका छैनन् । एसिया कप छनोट र ट्वान्टी–२० विश्वकपअघि उनको स्थान राष्ट्रिय टोलीमा सुरक्षित हुन सकेको छैन । 

लोकेशको शतकले जोगिएन नेपाल

जबकि उनको शैली नै ट्वान्टी–२० हो । लोकेशले शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यही शैलीको प्रदर्शन देखाएर आयरल्यान्ड ‘ए’ विरुद्ध सानदार शतक बनाए । शतकमा उनको खुसी पनि विशिष्ट थियो । साँघुरो दुई रन पूरा गर्दै शतक पूरा गरेपछि उनी ब्याट छाडेर दौडिए । चोभार एन्डतर्फ दौडिएर दर्शकसामु शतकको खुसी साटे ।

तर, खेलपछि मिडियासामु आउँदा उनको अनुहार खुलेको थिएन । उनले सानदार शतक बनाए पनि नेपाल ‘ए’ अन्तिम ४ ओभरमा चुकेको थियो । नेपाल आयरल्यान्ड उल्भससँग २१ रनले पराजित भयो । २ सय २३ रनको विशाल लक्ष्य नजिक पुगेर पनि आफ्नो टोलीलाई जिताउन नसकेकाले होला लोकेशको मुहारमा मुस्कान हराइरहेको थियो ।

लोकेशको सानदार शतकपछि अन्तिम ७ विकेट १२ रन अन्तरमा गुमाउँदा नेपाल ‘ए’ १९.३ ओभरमा २ सय १ रनमा अलआउट भयो । लोकेशले ५२ बलमै शतक पूरा गरेका थिए । उनले ५६ बल खेल्दै ९ चौका र ८ छक्कासहित १ सय ६ रन बनाए । उनलाई आरिफ शेखले राम्रो साथ दिए । आरिफले ४६ बलमा १ चौका र ५ छक्कासहित ४९ रन बनाए ।

यी दुईले चौथो विकेटमा ४६ बल खेल्दै १ सय २१ रनको साझेदारी गरे । कप्तान विनोद भण्डारी १४ बलमा १६, देव खनाल शून्य, अर्जुन घर्ती ३ रनमा आउट भएपछि लोकेश र आरिफ जमेका थिए । लोकेश १६ औं ओभरको पाँचौं बलमा आउट भएपछि नेपालले २२ बलमा १२ रनमात्र जोड्न सक्यो । म्याथ्यु हम्फ्रेजले १८ औं ओभरमा आरिफ र किरण ठगुन्नालाई २ रनमा आउट गरे । त्यसको अर्को ओभरमा फिओन ह्यान्डले रशिद खानलाई पहिलो बलमा डकआउट र कमलसिंह ऐरीलाई शून्यमै आउट गरे ।

अन्तिम ओभरमा म्याथ्यु फोस्टरले बसिर अहमदलाई ३ र हेमन्त धामीले शून्यमा आउट गरी आयरल्यान्ड ‘ए’ लाई विजयी गराए । आयरल्यान्डबाट हम्फ्रेज र ह्यान्डले ३–३ विकेट लिए ।

यसअघि नेपाल ‘ए’ ले टस जितेपछि ब्याटिङमा आएको आयरल्यान्ड ‘ए’ ले २० ओभरमा ५ विकेट गुमाई २ सय २२ रन बनायो । ओपनर पिटर मुरले सर्वाधिक ४९ रन बनाए । उनले ३२ बलमा ४ चौका र ३ छक्का प्रहार गरे । अर्का ओपनर रस एडाएर २ रनमात्र बनाई कमलसिंह ऐरीको बलमा आउट भएपछि मुर र केड केरमाइकलले दोस्रो विकेटमा ५८ बल खेल्दा ८८ रनको साझेदारी गरे ।


जिम्बावे र आयरल्यान्डबाट टेस्ट खेलिसकेका मुर अर्धशतक बनाउन १ रनअघि आरिफ शेखको बलमा बोल्ड भए । केरमाइकलले २९ बलमा ४ चौका र १ छक्कासहित ३८ रन बनाए । त्यसपछि स्टेफन डहनी र कप्तान निल रकले ५१ रनको साझेदारी गरे ।

डहनीले १६ बलमा ४ चौका र २ छक्का प्रहार गरे । रकले २३ बलमा १ चौका र ३ छक्कासहित ३८ रन बनाए । ग्यारेथ डेलानी ३० र ग्याभिन होइ १८ रन बनाई अविजित रहे । इनिङ्सको अन्तिम ३ बलमा सागर ढकाललाई लगातार छक्का प्रहार गरेका डेलानी १४ बल खेल्दै २ चौका प्रहार गरे । होइले ६ बल खेल्दा २ छक्का प्रहार गरे ।

नेपाल ‘ए’ ले अन्तिम ५ ओभरमा ७३ रन जोडेको थियो । लामो समयपछि मैदानमा पुनरागमन गरेका कमलले ३ विकेट लिए । उनले ३९ रन खर्चे । सागर र आरिफले १–१ विकेट लिए । अन्तिम ओभरमा २३ रन खर्चेका सागरले आफ्नो पहिलो ३ ओभरमा ११ रनमात्र दिएका थिए ।

नेपाली राष्ट्रिय टोलीसँगको पहिलो दुई ट्वान्टी–२० खेलमा आयरल्यान्ड ‘ए’ पराजित भएको थियो । नेपाल ‘ए’ ले आयरल्यान्ड ‘ए’ सँग थप दुई ट्वान्टी २० र तीन एकदिवसीय खेल खेल्नेछ ।

प्रकाशित : चैत्र १७, २०८० ०६:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लगानी सम्मेलन-२०२४ मा सरकारले 'सोकेस' मा राखेका परियोजनाहरूको सूची कस्तो लाग्यो ?