Kantipur-qatar

Kantipur

मिति | शुक्रबार, २०७१ कार्तिक १४     Login | Register | Issue No. 284
सम्पादकीय»

दाहालको उल्टो बाटो

माघ ४ -
एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री बाबुराम भट्टराईलाई तत्काल सरकारबाट हटाउनु आत्मघाती हुने निष्कर्ष निकाल्दै आसन्न पार्टी महाधिवेशनमा पेस गर्ने राजनीतिक दस्तावेज तयार पारेको समाचार सार्वजनिक भएको छ । उनले ँसंविधानका विवादित विषय र संविधानसभाबाट संविधान घोषणाको प्रक्रियामा सहमति नभएसम्म सरकार छाड्ने र बदल्ने कुरा आत्मघाती हुने’ त्यसमा उल्लेख गरेका छन् । एमाओवादीले सरकार नछाड्ने यस किसिमको आधिकारिक लाइन लिनाले सत्तामा बसिरहने प्रधानमन्त्री भट्टराईको आकांक्षालाई पार्टीगत ऊर्जा प्रदान गरेको छ । यसले जारी राजनीतिक गतिरोध अरू जटिल बनाउने र शीघ्र तयारी गरेर आउँदो जेठभित्र संविधानसभाको नयाँ निर्वाचन गर्नुपर्ने राष्ट्रिय आवश्यकतालाई अवरुद्ध पार्नेछ । एमाओवादीको यस्तो मान्यताले राष्ट्रिय राजनीतिलाई उल्टो दिशातर्फ लैजानेछ ।

केही साताअघि एमाओवादी अध्यक्ष दाहालले जेठभित्र चुनाव गर्ने गरी कांग्रेस सभापति सुशील कोइरालाको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने प्रस्ताव गरेका थिए । त्यसप्रति एमाओवादीकै अग्रसरतामा कांग्रेस र एमालेसँग सातबुँदे अनौपचारिक सहमति पनि भइसकेको थियो । त्यसमा दाहालले दस्तावेजमा उल्लेख गरेझैं संविधानका विवादित विषयलाई कुन रूपमा सम्बोधन गर्ने भन्नेदेखि प्रस्तावित संविधानसभाको संरचना र बाधा-अड्काउ फुकाउने लगायतका प्राविधिक-राजनीतिक विषयमा समेत समझदारी भइसकेको थियो । बाह्य सुझावमा राष्ट्रपतिमातहत गैरराजनीतिक व्यक्तित्वहरू सम्मिलित ँएड्भाइजरी काउन्सिल’ बनाएर चुनावमा जानुभन्दा दलीय नेतृत्वमै सहमतीय सरकार बनाउनु उचित हुने धारणा सुरुमा प्रधानमन्त्री भट्टराईको पनि थियो । तर, बाह्य शक्तिकेन्द्रलाई कोइरालाको नेतृत्व स्वीकार्य नहुने अवस्थामा भट्टराईको धारणा पुनः फेरिएको थियो र उनले पहिले आफ्नै नेतृत्वमा सहमतीय सरकार गठन हुनुपर्ने अडान राख्न थालेको एमाओवादी नेताहरूबाटै अनौपचारिक खुलासा भइसकेको छ । पछिल्लो राजनीतिक जटिलता भट्टराईको यही अव्यावहारिक अडानले सिर्जना गरेको हो । उनले पार्टीबाट समेत समर्थन पाएपछि गतिरोध अरू जेलिने देखिएको छ ।

सहमतीय सरकार गठन गर्न र शीघ्र चुनावमा जान बाटो खोल्न भट्टराईलाई बाध्य पार्ने सामथ्र्य एक जनामा थियो/छ, ती हुन्- एमाओवादी अध्यक्ष दाहाल । उनले सहमति निर्माणको साटो हाल भट्टराईलाई नै भरथेग गर्दै पार्टी महाधिवेशनमा ध्यान केन्दि्रत गर्नाले निकट भविष्यमा गतिरोध सुल्झने र चुनावको वातावरण बन्ने सम्भावना क्षीण हुँदै छ । पार्टीको दैनन्दिन गतिविधि अगाडि बढाउने क्रमसँगै राष्ट्रिय राजनीतिलाई सही दिशातर्फ डोर्‍याउनु जिम्मेवार नेताको दायित्व पनि हो । अध्यक्ष दाहालले यो जिम्मेवारीबोध गर्नैपर्छ । उनले राष्ट्रिय सहमतिको पहल लिन जति ढिलो गर्छन्, अन्योलपूर्ण संक्रमण उति गहिरिँदै जानेछ ।

फेरि प्रश्न प्रधानमन्त्री भट्टराईको व्यक्तिगत पनि होइन, उनको पार्टीले कस्तो नीति वा निर्णय लिन्छ भन्ने कुरा प्रमुख हो । भट्टराईकै कारण सहमति निर्माण नभएको र चुनाव अनिश्चित भएको पृष्ठभूमिमा दाहाल वा एमाओवादी पार्टीले उनैलाई समर्थन गरिरहने होइन, व्यक्तिगत वा पार्टीगत आग्रह-पूर्वाग्रहभन्दा माथि उठेर राष्ट्रिय सहमति निर्माणको पहल गर्नु अहिलेको खाँचो हो । तसर्थ एमाओवादी अध्यक्ष दाहालले सत्ता छाड्दा आत्मघात हुने होइन, सरकारमा जबरजस्ती बसिरहँदा उल्टो जनघात हुने यथार्थ आत्मसात् गर्नुपर्छ । र, सहमति निर्माण गर्न असफलसिद्ध भइसकेका भट्टराईको विकल्प खोज्न हिच्किचाउनु हुन्न, बरु यसका निम्ति पार्टीबाटै निर्णय गरेर अगाडि बढ्नुपर्छ ।

प्रकाशित मिति: २०७१ कार्तिक १४ ०५:३०
Today's Paper
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER / SELECT DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

बैठक सुरु भो ?... हुनै लाग्यो ?... त्यसोभे बिना निष्कर्ष टुंग्यो भन्दिम् ?
  हाम्रा प्रकाशनहरु :
Our Publication