कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संस्थागत बन्दै वन अतिक्रमण

प्रताप विष्ट

हेटौडा — मकवानपुरको वन क्षेत्र अतिक्रमण गर्ने क्रम बढ्दो छ । बाढीपहिरो गएको वर्ष झन् अतिक्रमण हुने गरेको छ ।

अहिलेसम्म जिल्लामा ३ हजार ७ सय ४८ दशमलब ८९ हेक्टर वन क्षेत्र अतिक्रमण भएको छ । ती क्षेत्रमा ६ हजार १ सय ८६ घरधुरी बसेका छन् । २०५० र २०५९ सालको बाढीपहिरोपीडित अतिक्रमण गरी बसेका छन् ।
त्यहाँका जंगल मासिएका छन् । मनहरी ३ स्थित रमनटारको जंगल सुकुम्बासीले अतिक्रमण गरेर अहिले ८ सयभन्दा बढी घर बनेका छन् । १० वर्षको अन्तरमा मनहरी, सरिखेत, काँकडा, खैराङ, कालिकाटार, राक्सिराङलगायत गाविसमा बाढीपहिरोबाट सयौँ परिवार घरवारविहीन भएका थिए । ती परिवार रमनटारको जंगलमा छाप्राे हालेर बसेका थिए । त्यतिबेला वन कार्यालयलगायत सरोकारवालाले हटाउने प्रयत्न गरेनन् । उनीहरूको जमात बलियो भएपछि सरोकारवालाले सूचना जारी गरेर बस्ती उठाउन खोज्दा टेरेनन् । भोट बैंकका रूपमा प्रयोग गर्ने उद्देश्यले वन क्षेत्र अतिक्रमण गरेर बसेकाल्ााई राजनीतिक दलले संरक्षण गरे ।
जसले गर्दा १ सय हेक्टरभन्दा बढी क्षेत्र बस्तीमा परिणत भयो । त्यहाँको हरियाली र बहुमूल्य रूख नासिए । सशस्त्र द्वन्द्वको अवस्थाले वन कार्यालय र आरक्षले अतिक्रमण गर्नेलाई कानुनी दायरामा ल्याउन सकेन । 'मनहरीको रमनटारको जंगल अतिक्रमण गर्न सुकु्म्बासीहरू सफल हुनुमा सशस्त्र द्वन्द्वको अवस्थ्ाा भएर पनि हो,' जिल्ला वन प्रमुख इमामुद्दिन अन्सारीले भने, 'त्यतिबेला वन अतिक्रमणकारीलाई उठाउन सकिने कुरै थिएन ।' बाढीपहिरोले घरवारविहीन भएपछि बाध्य भएर रमनटारमा छाप्राे हालेर बसेको राक्सिराङ ८ गणेशबहादुर मुक्तानले बताए । उनले भने, 'सुरुमा २० जना छाप्राे हालेर बसेका थिए ।'
अहिले उक्त स्थ्ाानमा ५ सयभन्दा बढी पक्की घर वनेका छन् । त्यहाँ सुकु्म्बासीको नाम हुकुमबासीले घर बनाएका छन् । रूखको कुरै छोडौं, जरा पनि उखेलेर बाँकी राखेका छैनन् । मकवानपुरमा पछिल्लो समयमा संगठित ढंगले वन अतिक्रमण गरेको क्षेत्र यही नै हो । यो अहिले पर्सा वन्यजन्तु आरक्षको मध्यवर्ती क्षेत्रमा पर्छ । आरक्षले बेलाबेला बस्ती खाली गर्न सूचना जारी गरेर ड्युटीसम्म पूरा गर्ने गरेको छ । अतिक्रमणको चर्को चाप मकवानपुरको पूर्वी क्षेत्र धियाल गाविस रहेको छ । उक्त गाविसलाई खाली गर्ने उद्देश्यले विगतमा सरकारले त्यहाँबाट बस्ती नै उठाएर अन्यत्र पठाएको थियो । पछि क्रमश: त्यही स्थ्ाानमा फर्केर वन अतिक्रमण गरेर बसेका छन् ।
वन कार्यालयले पटकपटक उठाउने प्रयत्न गर्दा पनि सफल हुन सकेन । चुरे क्षेत्रको संरक्षण गर्ने उद्देश्यले उक्त गाविसका केही वडाका बस्तीहरू खाली गर्ने वन कार्यालयको कार्यक्रम भए पनि त्यो सफल हुन सकेन । जिल्ला वन कार्यालयका अनुसार धियाल गाविसस्थित ७ सय ४० हेक्टर वन क्षेत्र अतिक्रमण गरिएको छ । अतिक्रमण गरिएका क्षेत्रमा १ हजार १ सय १२ घरधुरी बनेका छन ।
'मकवानपुरमा नयाँ अतिक्रमण भएका छैनन् । पछिल्ला समयमा बसामाडी र मनहरी गाविसका केही भाग अतिक्रमण गर्ने प्रयास भएका थिए तर त्यो सफल हुन दिइएन,' सहायक वन अधिकृत महमद अतिउल्लाहले भने, 'यहाँको वन क्षेत्र अतिक्रमण अहिले होइन, पहिला नै भएको हो ।' वन क्षेत्रको अतिक्रमण सुकुम्बासीले मात्र होइन, सामाजिक विकास निर्माण, धार्मिक र सामाजिक कार्यबाट पनि भएका छन् । त्यसलाई पनि अहिले वन कार्यालयले रोक्ने प्रयत्न गरेको छ । कुनै निकाय र क्षेत्रबाट हुने वन अतिक्रमण कार्यलाई निरुत्साहित पार्न वन कार्यालयले एउटा छुट्टै युनिट नै गठन गरेको छ कार्यालय प्रमुख अन्सारीले भने ।

प्रकाशित : पुस १७, २०७१ १०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?