कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कब्जाको जग्गामा बनाइएका घर भत्काइयो

सिरहा — ०६२ सालमा तत्कालीन माओवादी कार्यकर्ताले कब्जा गरेको जग्गामा बनाइएका घर प्रशासनले भत्काएको छ ।

कर्जन्हा २ का राजु महतोको जग्गा कब्जा गरेर माओवादीले स्थानीय दलित, विपन्न र सुकुम्बासीलाई बसाएको थियो । एक बिघा जग्गामा ५ परिवार बसोबास गर्दै आएका थिए । उक्त जग्गामा बसिरहेका रामविलास पासमानकी पत्नी प्रमिलादेवीले आफूहरू गाउँकै रामबाबुको जग्गामा आरामले बसिरहेको अवस्थामा माओवादीले जबरजस्ती महतोको जग्गामा ल्याएको बताइन् । 'माओवादीका नेता/कार्यकर्ताले यो जग्गा हाम्रै हुने सपना देखाएका थिए,' उनले भनिन्, 'अहिले कुनै नेता हामीलाई हेर्नसम्म आएनन् ।' उनका अनुसार माओवादीको भर परेर मुस्किलले घर बनाइएको थियो ।
घरबाट सामान निकाल्नसमेत नदिई प्रहरीले घर भत्काइदिएको सोही जग्गामा बस्दै आएका चन्देश्वर पासमानले बताए । तत्काल घर बनाउन निर्माण सामग्री अभाव रहेकाले जाडामा बालबालिका जोगाउन समस्या भएको उनले बताए । माओवादीले कब्जा गरेको कल्याणपुर कालाबञ्जर १ स्थित महतोकै ५ कठ्ठा जग्गामा ५ परिवारले बसोबास गर्दै आएका छन् । प्रहरीले २ वटा घर भत्काएपछि आफूहरूले सामान हटाउन समय मागेपछि २ दिनको समय दिएको स्थानीय लक्ष्मीदेवी पासमानले बताइन् ।
यस्तै, बडहाडामाल ७ स्थित महतोको जग्गामा बसोबास गर्दै आएका १३ परिवारलाई प्रहरीले घर हटाउन दिएको चेतावनीपछि जग्गा खाली गरेका छन् । उनीहरूले सोही स्थानको सडक किनारमा रहेको ऐलानी जग्गामा घर बनाइरहेका छन् । महतोले आफ्नै घर हटाएर उनीहरूका लागि झुपडी बनाउन लाग्ने खर्च बेहोर्ने आश्वासन दिए पनि नदिएको घर बनाइरहेका ज्ञानलाल सदायले बताए ।
प्रमुख जिल्ला अधिकारी अब्दुल कलाम खाँसँग जाडामा घर नभत्काउने सहमति भएको तर प्रशासनले जबरजस्ती भत्काएकामा एमाओवादीका सिरहा इन्चार्ज हरिनारायण चौधरीले आपत्ति जनाए । पीडितले आफ्नो जग्गा कब्जा गरेर बसेको उजुरी दिएपछि डेढ महिनाअघि नै खाली गर्न सूचना गरिएको प्रहरी उपरीक्षक रामकृपाल साहले बताए । १३ परिवार आफैं हटे पनि केही व्यक्तिले आफ्नो घर छँदाछँदै जबरजस्ती कब्जा गरेर बस्न खोजेकाले हटाइएको उनले बताए ।

प्रकाशित : पुस १७, २०७१ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?