कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

३ छोराछोरी दृष्टिविहीन

प्रताप विष्ट

हेटौंडा — जस्ताले छाएकोे सानो कटेरो । बलेंसीनेर आरन छ । त्यसैको आम्दानीले पञ्चबहादुर सोनारले ३ दृष्टिविहीन छोराछोरीसहित ७ जनाको परिवार पालेका छन् ।

आरनले परिवारलाई धानेको छ । बिहान उठेदेखि रात छिप्पिँदासम्म ४५ वर्षीय सोनार आरनको खलाँती र घन चलाउन व्यस्त हुन्छन् । बसामाडी ५ स्थित विश्वकर्मा टोलमा बस्दै आएका उनका ५ छोरी, १ छोरा र पत्नी आरनको कमाइले धानिएका छन् । बिहान आरनमा छोपिएको कपडा उघारी आगो सल्काउने कामबाट उनको दैनिकी सुरु हुन्छ ।
काभे्रमा जन्मेका उनी ३२ वर्षअघि बसामाडीमा बसाइँ आएका थिए । १० धुर जमिनमा बनेको कटेरोमा सन्तान टन्नै छन् तर उनलाई सघाउने साहिँली छोरीमात्र छिन् । जेठीको बिहे भइसकेको छ । एउटी छोरी ८ कक्षामा पढ्छिन् । अर्की छोरी आरन चलाउन बाबुलाई भरथेग गर्नुका साथै बिहान-बेलुका भात पकाउने र घरधन्दामा व्यस्त रहने गर्छिन् । आमा गोमालाई दृष्टिविहीन २ छोरी र छोराको स्याहारसुसार ठिक्क हुने गर्छ । एकछिन उनीहरूलाई छाड्न पाउँदिनन् । 'दुई छोरीभन्दा कान्छो छोरो घनश्यामलाई जोगाउन गाह्रो छ,' गोमाले भनिन्, 'केही देख्दैन, हिँड्न मात्र खोजिरहन्छ ।'
दम्पतीका २ छोरी र एक छोरा जन्मदेखि दृष्टिविहीन हुन् । पञ्चबहादुरले आरनबाट दैनिक २ देखि ४ सय कमाउने गरेका छन् । 'यति पैसाले मुस्किलले बिहान-बेलुका परिवारलाई हातमुख जोर्न पुग्छ,' पञ्चबहादुरले भने, 'औषधोपचार गर्न वा लुगाफाटो किन्न र चाडबाड मान्न ऋण काढ्नुपर्छ ।'
आँखा परीक्षणपश्चात् चिकित्सकले 'कन्जनाइटल बाइलाइटर एनोथाल्मस' को कारण उनीहरूको दृष्टि फर्काउन नसकिने चिकित्सकले बताएका छन् । अहिले उनीहरू दृष्टिविहीन सन्तानलाई कसरी हुर्काउने र पढाउने भन्ने चिन्तामा डुबेका छन् । यताउता हिँडडुल गर्न नसक्ने उनीहरूले अपांग भत्ता पाउन सकेका छैनन् । 'अपांग भत्ता मात्र पाउन सकेको भए पनि सोनार परिवारलाई अलिकति भए पनि राहत पुग्थ्यो,' स्थ्ाानीयवासी राजकुमार भेटवालले भने, 'पहुँच नभएर हो कि किन हो, यिनीहरूले अपांग भत्ता पाउन सकेका छैनन् ।' पूर्वपश्चिम राजमार्गबाट ७ सय मिटर भित्र पर्ने विश्वकर्मा बस्तीका बासिन्दा पञ्चबहादुरका सन्तानको अवस्थ्ाा देखेर सबै चिन्तित छन् ।

प्रकाशित : पुस १७, २०७१ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?